बागलुङ । विद्यामन्दिर पुस्तकालयमा सञ्चालनमा आउन लागेको बाल पुस्तकालयको लागि कवि दीपेन्द्र केसी र श्रीमती बीना केसीले २५ हजार सहयोग गर्नु भएको छ ।
बागलुङ नगरपालिका-३ मुलपानी घर भई हाल बेल्जियममा रहुनुभएका केसी दम्पत्तिले पुस्तकालयलाई आर्थिक सहयोग गर्नु भएको हो ।
बालबालिकालाई पुस्तक र पुस्तकालय तर्फ अभिरुचि जगाउने अभियानमा आफूले पनि सानो आर्थिक सहयोग गरेको दीपेन्द्र केसीले नयाँ विश्वलाई बताउनुभयो ।
पुस्तकालय भवनको छुट्टै कक्षमा बाल पुस्तकालय निर्माणको काम सम्पन्न भएको र पुस्तकालय छिट्टै सञ्चालनमा ल्याउन लागिएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो ।
विसं २००३ मा स्थापित बागलुङको विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालय सञ्चालनका लागि सहयोग अभियान पनि सुरु गरेको छ ।
उक्त अभियानअन्तर्गत हालसम्म चार अक्षयकोषसहित रु पाँच लाख सङ्कलन भएको छ ।
बाल पुस्तकालय सञ्चालनका लागि जनस्तरबाट आर्थिक–भौतिक सहयोग जुट्नेक्रम जारी रहेको पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।
बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन संस्कृतिको विकास र बौद्धिक जागरण ल्याउने ध्येयले बाल पुस्तकालय सञ्चालन गर्न लागिएको हो ।



















































































































































































































