बागलुङ । पूर्वराजा ज्ञानेन्द्र शाह कालिका भगवतीको दर्शन गर्नको लागि फागुण २१ गते बागलुङ आउने भएको छ। प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा पूजा अर्चनाका लागि पूर्वराजा ज्ञानेन्द्र बागलुङ आउन लागेका हुन्।
उहाँ विहान १० बजेभित्र पोखराबाट बागलुङ आई पुग्ने कार्यक्रम तय भएको छ। सोही दिन म्याग्दीको गलेश्वरमा रहेको शिव मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले नयाँ विश्वलाई जानकारी दिनुभयो । गलेश्वरमा पूजापाठपछि पूर्व राजा पोखरा फर्कने कार्यक्रम रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको धार्मिक भ्रमणलाई स्वागत गर्न विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमाले ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति गठन भएको छ ।
स्वागत कार्यक्रमका लागि केशव कार्कीको संयोजकत्वमा प्रचार प्रसार समिति, विवेक हमालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र गोविन्द पुनको संयोजकत्वमा स्वयं सेवक उपसमिति समिति गठन भएको छ । समितिकै अनुरोधमा सुरक्षा निकायले भ्रमणको सुरक्षा व्यवस्थापन मिलाएको छ ।
विसं २०७८ सालमा पनि शाह धार्मिक भ्रमणको क्रममा बागलुङ कालिका मन्दिर आउनु भएको थियो ।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले पूर्व राजाको भ्रमणलाई सफल बनाउन समिति गठन भएको जानकारी दिनुभयो । कार्यक्रम समितिका सदस्य सचिव दिपेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङ कालिका भगवतीबारे रोचक किम्बदन्ती
बागलुङ–नवरात्रको आज सातौँ दिन । विषेशगरी नवरात्रको सुरुवातसँगै बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ ।
वर्षको दुई पटक चैते दशैं र बडा दशैंमा नियम पूजा (जसलाई सरकारी पूजा पनि भनिन्छ) हुदैँ आएको छ । नियम पूजामा पन्चबली चढाइन्छ ।
सामान्यतया पाँच बलि अन्तर्गत १ बोका, २ राँगो, ३ कुखुरा, ४ परेवा र ५ सुँगुर पर्दछन् । भक्तजनहरुले विभिन्न मनोकामना पूर्ण हुने इच्छा राखी पूजापाठ गर्ने, सुन चढाउने, बलि दिन बोका, कुखुरा, राँगा आदि ल्याउने गर्दछन् ।
बागलुङ नगरपालिका २ मा मन्दिर अवस्थित छ । पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ ।
मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखहरुले घेरिएको दृश्य देख्न पाइन्छ ।
मन्दिर परिसरमा ५ वटा सत्तलहरु, मन्दिरको वरिपरि भित्तामा १४ वटा प्रस्तर मुर्ति र १०८ वटा तामाका दियोगहरु राखिएका छन् । सत्तलहरुमा पूजापाठ गर्ने, भजन कीर्तन गर्ने, भक्तजनहरु बास बस्ने, जाग्राम बस्ने गर्दछन् ।
मन्दिर तथा सत्तलका छानाहरुमा परेवाहरुले आकर्षण दिइरहेका हुन्छन् ।
मन्दिरको वरिपरि विभिन्न व्यक्ति तथा संस्थाहरुले चढाएका घण्टहरु झुण्ड्याइएका छन् । यी घण्टहरुमा चढाउने व्यक्तिहरुको नाम र मिति राखिएको देखिन्छ । मन्दिरको मूल द्वारबाट भित्र छिरेपछि दायाँतिर अखण्ड धुनी र बायाँतिर एउटा ठूलो नगरा राखिएको देख्न सकिन्छ ।
नगरा बिहान बेलुका नित्य पूजाको समयमा बजाइन्छ । त्यहाँबाट भित्र गएपछि १० फिट लम्बाई र १० फिट चौडाई भएको एउटा मण्डप छ । त्यसै मण्डपभित्र भूगर्भमा बागलुङ कालिका भगवतीको मूर्ति सीधा आँखाले हेर्न नसकिने हुँदा स्थापनाकालदेखि नै जमिनमुनि राखिएको छ ।
मण्डपको छेउमा शिवलिङ्ग र गणेशको पनि स्थापना गरिएको छ । मन्दिरको पश्चिम र उत्तरतिर बोका, कुखुरा, सुँगुर, राँगो र परेवा बलि दिने छुट्टाछुट्टै ठाउँहरुको व्यवस्था गरिएको छ ।
मन्दिरको चार दिशामा चार ढोका रहेका छन् । पूर्व दिशाको ढोका सितिमिति खोलिदैन । त्यो ढोका खोले नाग उत्पन्न हुने र अनिष्टको खतरा हुने भन्दै बन्द रहँदै आएको छ ।
मन्दिर जीर्णोद्वारको बेला वि.सं. १९८२ मा उक्त ढोका खोल्दा यस्तै भएको विश्वास रहँदै आएको छ ।
कालिका भगवती मन्दिरको पूजा सञ्चालन, संरक्षण, रेखदेखका साथै अन्य आवश्यक व्यवस्था गर्न ‘कालिका भगवती गुठी सञ्चालक समिति’ रहेको छ । पूजा सञ्चालनको लागि पुजारीको रुपमा मन्दिरको स्थापना कालदेखि नै विशेष गरेर खड्का (क्षेत्री) हरुलाई राख्ने गरेको पाइन्छ ।
मन्दिर अवस्थित जंगलको बीचबाट कालीगण्डकी नदी झर्ने बाटो छ । त्यो बाटोमा एउटा बाफ आउने दुलो छ । त्यही दुलोबाट हरेक मध्यरातमा कालिका भगवती बाघमा चढी कालीगण्डकी नुहाउन जान्छिन् भन्ने भनाई रहँदै आएको छ ।
राती जाग्राम बस्ने कतिपय महिलाहरुले देवी बाघमा चढ्दा देखेको अनुभूति सुनाउने पनि गर्छन् । राजकुमारीले देवीको प्रत्यक्ष दर्शन पाउँथिन् भन्ने किम्बदन्ती पनि रहेको छ ।
मनोकामना पुरा हुने विश्वास
बागलुङ कालिका भगवतिको दर्शन गर्न देशभरीका दर्शनार्थीहरु बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् ।
प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरूमा ब्राह्मणहरू मार्फत देवी स्थानमा रुद्रीपाठ, चण्डीपाठ, पूजापाठ आदि शुभ कार्य गरिन्छ । दर्जनौं ब्राह्मणहरू तथा अन्य व्यक्तिहरू पाठपूजाका निम्ति मन्दिर वरिपरि बसेको देख्न सकिन्छ ।
बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको स्थानीय बताउँछन् ।
बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ ।
मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।
लोकसेवामा उत्तीर्ण, देशी तथा विदेशी सेनामा भर्ती, बैदेशिक रोजगार, जागिरमा पदोन्नति, कार्यहरुमा सफलता, मुद्दा मामिलामा बिजय, रोगव्याधिबाट मुक्त, व्यापारिक सफलता, परिवारमा शान्ति सुरक्षा, सकष्ट हरण, गुमेको सम्पत्ति फिर्ता आदि जस्ता विभिन्न वरहरुको चाहना राखी भक्तजनहरुले कालिका भगवतीको दर्शन गर्ने गर्दछन् । र, देवी भगवतीले त्यसै अनुसार इच्छा पूर्ण गर्दछिन् भन्ने विस्वास रहँदै आएको छ ।







































































































































































































