
काठमाडौं । भारतबाट पक्राउ गरेर ल्याइएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२दिन हिरासतमा राख्न अनुमति दिएको हो। राजावादीको हिंस्रक प्रदर्शनको कमान्डर दुर्गा प्रसाईं र उहाँका अंग रक्षकलाई अदालत पेस गरिएको हो ।
राजावादीको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रसाईं र झापा बुद्धशान्ति गाउँपालिकाका दीपक खड्कालाई पक्राउ गरी अदालत पेस गरिएको हो।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए ।प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका थिए ।
प्रसाईंमाथि गत चैत १५ गते भिडलाई उत्तेजित बनाएको, निषेधित क्षेत्र तोड्नका लागि सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेको , प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले प्रहरीमाथि गाडी चलाएको साथै आम सर्वसाधारणको सुरक्षार्थ सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसुरक्षाकर्मीहरूलाई समेत ढुङगा, घरेलु हतियार समेतले प्रहार गरी सुरक्षाकर्मीको हातहतियार समेत खोसेको आरोप छ।