३ श्रावण २०८३, आईतवार

 

ईभीको लागि छुट्टै बीमा पोलिसी बनाउँदै प्राधिकरण

बागलुङ । नेपाल बीमा प्राधिकरणले इलेक्ट्रोनिक भेहिकल (ईभी)का लागि छुट्टै बीमा पोलिसी बनाउने तयारी गरेको छ । मोटर बीमा पोलिसीले ईभी बीमाको क्षतिलाई रक्षावरण गर्न नसक्ने भएपछि प्राधिकरणले ईभीका लागि छुट्टै पोलिसी बनाउने तयारी गरेको हो ।

ईभी पोलिसी बनाउनका लागि प्राधिकरणले नाडा अटोमोवाइल एसोसियसन नेपालसँग पटक पटक छलफल गरेको प्राधिकरणका बीमा पोलिसी शाखा प्रमुख केशव दाहालले बताउनुभयो।

प्राधिकरणले भन्सार विभागसँग पनि (ईभी) आयात र यसको प्रकृतिको विषयमा छलफल गरी सकेको छ । चीन र भारतबाट आयात हुने  (ईभी)को जोखिमको प्रकृति फरक फरक हुने भएपछि पोलिसी निर्माणमा समय लागेको प्राधिकरणका बीमा पोलिसी शाखा प्रमुख दाहालले बताउनुभयो।

दाहालका अनुसार नाडाका पदाधिकारीको छलफलमा चीनबाट आयात भएका (ईभी)मा धेरै जोखिम हुने गरेको पाइयो । ‘चीनबाट आयात भएका (ईभी)का ब्याट्रीलाई पानीले छिटो बिगार्ने समस्या देखियो ।

गाडीको केही अंश पानीमा डुब्दा पनि ब्याट्री बिग्रने रहेछ,’ उनले भने । यसले नैतिक जोखिम सम्भावना पनि धेरै देखियो । ‘कसैले जानाजान गाडी पानीमा डुबाएर क्षति गराउन पनि सक्ने भयो,’ उहाँले भन्नुभयो ।

चीनबाट आयात भएका (ईभी)को तुलनामा भारतबाट आयात भएका (ईभी)मा यस्तो जोखिम कम भएको व्यवसायीको दाबी छ । चीन र भारतबाट आयात भएका (ईभी)मा जोखिमको रेसियो फरक फरक हुने भएपछि बीमाशुल्कदर पनि फरक पर्ने देखियो ।

यसै विषयमा व्यवसायी बीच सहमति हुन नसकेपछि प्राधिकरणले व्यवसायी र भन्सारसँग तथ्यांक मागेको प्राधिकरणका बीमा पोलिसी शाखा प्रमुख दाहालले बताउनुभयो । ‘चीन र भारतबाट आयात हुने (ईभी)मा जोखिम फरक फरक देखियो ।

त्यसैले हामीले सम्बन्धित निकायहरूसँग तथ्यांक मागेका छौ । तथ्यांक प्राप्त भएपछि विश्लेषण गरेर पोलिसी बनाउँछौ,’ उहाँले भन्नुभयो। हाल कम्पनीहरूले (ईभी)को लागि पनि मोटर बीमा पोलिसी नै जारी गरी रहेका छन् ।

मोटर बीमा पोलिसी दुई प्रकारका छन् । तेस्रो पक्ष र व्यापक बीमा पोलिसी । सावरी साधन दुर्घटना हुँदा तेस्रो पक्षलाई पु-याउन सक्ने जोखिमको रक्षावरण गर्ने पोलिसीलाई तेस्रो पक्ष बीमा पोलिसी भनिन्छ भने मोटर, सवारी चालक र यात्रुको पनि रक्षावरण गर्ने पोलिसी व्यापक पोलिसी भनिन्छ ।

यो पोलिसीले सावरी साधन हराएमा पनि क्षतिपूर्ति भुक्तानी गर्छ । गत आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको अवधिमा नेपालमा ३३ अर्ब रुपैयाँका करीब साढे २८ हजार विद्युतीय गाडी (ईभी) भित्रिएका छन् ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार गत आवको जेठ महिनासम्ममा तीनपांग्रे रिक्सा, चारपांग्रे कार, जीप, बस सहित ३३ अर्ब ११ करोड ३३ लाख ३३ हजार रुपैयाँका २८ हजार ७७४ वटा (ईभी)गाडी भित्रिएका हुन् ।

गत आवको सोही अवधिमा ३० अर्ब ३२ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरको २० हजार ९११ ओटा (ईभी) नेपाल भित्रिएका थिए । नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, क्यानडा, जर्मनी, कोरिया, मलेसिया र अमेरिकालगायत मुलुकबाट (ईभी) भित्रिने गरेका छन्।

पछिल्लो समय नेपालमा (ईभी) प्रयोगकर्ताहरु बढेसँगै (ईभी) आयात हरेक वर्ष बढ्दै गएको छ । विशेषगरी शहरी क्षेत्र र मुख्य राजमार्गहरुमा चार्जिङ स्टेशनहरु निर्माणको निर्माण बढेपछि (ईभी) प्रयोगकर्ताहरुलाई सहज भएको छ । (ईभी)को आयात बढेसँगै यसका लागि छुट्टै पोलिसीको आवश्यकता बढ्दै गएको हो ।

आर्थिक न्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung