आकस्मिक कक्षमा आउने दर्जनौँ घाइतेमध्ये धेरै खाद्यान्न वितरणस्थलमा खाना खोज्ने क्रममा गोली लागेका बालबालिका हुने गरेका छन् ।अहिले गाजाको दक्षिणी क्षेत्रस्थित नासेर अस्पतालबाट एक गम्भीर रूपमा कुपोषित किशोरको शल्यक्रिया सकेर लेख्दै छु । हाम्रो ‘पेडिएट्रिक इन्टेन्सिभ क्योर युनिट’मा सात महिनाकी एक शिशु बिरामी छिन्, उनी यति कमजोर र कुपोषित छिन् कि मैले उनलाई सुरुमा नवजात शिशु सम्झिएको थिएँ ।
छाला र हड्डी मात्र बाँकी’ भन्ने भनाइ पनि उनको शरीरको अवस्था चित्रण गर्न अपर्याप्त हुन्छ । उनी हाम्रा आँखैअगाडि बिस्तारै विलिन हुँदै छिन् र जति प्रयास गरे पनि उनलाई बचाउन हामी असहाय छौँ । अहिले गाजामा हामी नियतवश गराइँदै गरिएको भोकमरीको साक्षी बनिरहेका छौँ ।
डिसेम्बर २०२३ यता यो मेरो गाजाको तेस्रो यात्रा हो । म ‘मेडिकल एड फर पालेस्टाइनियन्स’को स्वयंसेवी शल्य–चिकित्सक हुँ । जनवरी २०२४ मै मैले सामूहिक घाइते हुने घटना र कुपोषणको चेतावनी दिइसकेको थिएँ । तर, मौजुदा भयावहताका लागि म पूर्ण रूपमा तयार थिइनँ । अहिले भोकमरीलाई हतियार बनाउँदै सम्पूर्ण जनसंख्यालाई तारो बनाइएको छ ।
मेरो अघिल्लो भ्रमणयता कुपोषणको संकट पूर्ण विनाशमा रूपान्तरण भइसकेको छ । म यहाँ हरेक दिन बिरामीको बिग्रँदो अवस्था र मृत्यु देख्छु । यस्ता मृत्यु पनि छन्, जहाँ बिरामी शल्यक्रिया सहन नसक्ने शारीरिक कमजोरीकै कारण मर्छन् । हामीले गरेका शल्यक्रिया सफल भइरहेका छैनन्, घाउ बिग्रिँदै छन्, संक्रमण फैलिइरहेका छन् र बिरामी मरिरहेका छन् ।
यस्ता घटना बारम्बार भइरहेका छन् र यो हृदयविदारक छ । पछिल्ला केही हप्तामा नासेर अस्पतालमा चार शिशु बम वा गोलीले नभई भोकमरीले मरेका छन् । परिवार र स्वास्थ्यकर्मीको सक्दो प्रयास हुँदासमेत गाजामा पर्याप्त खाद्यान्न छैन । बालबालिकाका लागि बेबी फर्मुला झन्डै शून्य छ । शिशुलाई १० प्रतिशत ‘डेक्स्ट्रोज’ ९चिनी पानी० दिइएको छ, जसमा पोषण हुँदैन । आमा स्वयं यति कुपोषित छन् कि स्तनपान गराउन सक्दैनन् । हालै एक अन्तर्राष्ट्रिय सहयोगीले बेबी फर्मुला ल्याउने प्रयास गर्दा इजरायली अधिकारीले जफत गरे ।
बेन्जामिन नेतन्याहुको रणनीति दुईमुखी देखिन्छ । एकातर्फ गाजामा खाद्यान्न प्रवेशमा रोक लगाउने र अर्कातर्फ अत्यन्त सीमित खाद्यान्न वितरणका लागि नागरिकलाई ज्यानको जोखिम हुने सैन्यीकृत केन्द्रतर्फ धकेल्ने । मे महिनासम्म गाजामा चार सयभन्दा बढी सुरक्षित खाद्यान्न केन्द्र थिए, अहिले दक्षिण गाजामा चारवटा मात्र छन्, ती पनि जीवनको जोखिम मोल्नुपर्ने स्थान हुन् ।
म दैनिक आकस्मिक कक्षमा दर्जनौँ घाइते आएको देख्छु र तीमध्ये धेरै वितरणस्थलमा खाना खोज्ने क्रममा गोली लागेका बालबालिका हुन्छन् । मैले १२–१५ वर्ष उमेरका किशोरको शल्यक्रिया गरिसकेको छु, जसलाई खाना खोज्दा गोली हानिएको थियो । गत साता पेटमा गोली लागेका १२ वर्षीय बालकको सर्जरीका क्रममा मृत्यु भयो ।
यी स्थल अब खाद्यान्न होइन, मृत्युको पासो भएका छन् । सहकर्मीले अर्को डरलाग्दो प्रवृत्ति देखेका छन् । घाइतेहरूमा टाउको, खुट्टा, लिंगजस्ता अंगमा गोली लागेको संख्या बढ्दो छ र यसले जानाजान गोली हानिएको संकेत दिन्छ । हालै मैले दुई महिलाको शल्यक्रिया गरेको थिएँ, जो टेन्टमा बस्दाबस्दै ‘क्वाडकप्टर’बाट गोली लागेका थिए, जहाँ एक स्तनपान गराउँदै थिइन् र अर्की गर्भवती थिइन् । भाग्यवश, दुवै बाँच्न सफल भए । स्मरण रहोस्, उनीहरू राहत लिन गएका नभई तथाकथित ‘सुरक्षित’ क्षेत्रमा थिए ।
यहाँ बिरामी मात्र होइन, स्वास्थ्यकर्मी पनि कुपोषित छन् । यसपटक आउँदा पुराना सहकर्मी चिन्नै गाह्रो भएको छ । कसैले ३० किलोसम्म तौल गुमाएका छन् । केही चिकित्सक र नर्स जानीजानी जोखिम मोलेर राहत वितरण केन्द्रमा खाना खोज्न बाध्य छन् ।
नासेर अस्पताल दक्षिणी गाजाको अन्तिम ठुलो अस्पताल हो, तर अघिल्ला आक्रमणका असर, दैनिक सामूहिक घाइते र अभावका कारण यो क्षमताभन्दा धेरै चापमा छ । नेतन्याहुले योजनाबद्ध रूपमा गाजाको स्वास्थ्य प्रणाली ध्वस्त पारेका छन्, जसले सम्पूर्ण संकट यही अस्पतालमा थुपारिएको छ । यही साता हाम्रो एक प्रिय शल्यकक्ष नर्स आफ्ना तीन नाबालक बच्चासहित टेन्टमा मारिइन् ।
गाजाका जनतामाथि गरिँदै आएको व्यवहार बर्बर छ र यसलाई पूर्ण रूपमा रोक्न सकिन्छ भन्ने म स्पष्ट पार्न चाहन्छु । हामी यस्तो अवस्थामा आइपुगेका छौँ, जहाँ विश्व टुलुटुलु हेरेर बसिरहेको छ, तर गाजाका जनता भोक र गोलीबिच बाँचेका छन् । जहाँ सीमापार केही माइल टाढा खाद्यान्न र औषधि थुप्रिएका छन् ।
यदि तत्काल रोकिएन भने जबर्जस्ती गराइएको कुपोषण र नागरिकमाथिका आक्रमणले अझै हजारौँको ज्यान लिनेछ । प्रत्येक दिनको मौनताको अर्थ थप बालबालिका गोली, बम वा भोकबाट मर्नेछन् भन्ने हो । स्थायी युद्धविराम, राष्ट्र संघको नेतृत्वमा राहतको स्वतन्त्र र सुरक्षित प्रवेश, र नाकाबन्दी अन्त्य सबैभन्दा बढी आवश्यक छन् र यी सबै राजनीतिक इच्छाशक्ति हुने हो भने सम्भव छन् ।
बेलायती सरकारले इजरायलका यस्ता अपराधमा दिँदै आएको निरन्तर समर्थन पूर्ण रूपमा अक्षम्य छ । म चाहन्नँ कि म अर्को दिन पनि त्यस्तै बालबालिकाको शल्यक्रिया गरिरहूँ, जो गोली र भोकका सिकार भएका छन् र त्यही सेनाबाट, जसलाई हाम्रो आफ्नै सरकारले समर्थन गरिरहेको छ । इतिहासले केवल अपराध गर्नेलाई होइन, मौन रहेर हेर्ने सबैलाई न्यायको कठघरामा उभ्याउनेछ । नासेर अस्पतालभित्रबाट म फेरि तपाईंहरूलाई यो भोकमरी जानाजान मच्चाइँदै छ भन्न चाहन्छु । यसलाई रोक्न सकिन्छ । र, अविलम्ब रोकिनैपर्छ ।
(मेनार्ड नासेर अस्पतालका स्वंयसेवी शल्य चिकित्सक हुन्)
नयाँ पत्रिकाबाट













































































































































































































