बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंद्धारा मृतकको सम्झनामा ताया : मचा निकालिएको छ । गाईजात्राको अवसरमा तायाःमचा र बास्सा नाच देखाउने परम्परा अनुसार बागलुङ समाजले मृतक सदस्यको स्मृतिमा ताया : मचा निकालेको हो ।
काठमाडौं उपत्यकाबाट तीन सय वर्ष पहिले बागलुङमा आएका नेवार समुदायले सँगै ल्याएको यो सांस्कृतिक परम्परालाई बागलुङ समाजले काठमाडौं उपत्यकामा निरन्तरता दिएको छ । समाजले वर्षभित्र दिवंगत भएका १४ जना मृतक आत्माको चिरशान्तिको कामना गर्दै ताया : मचा निकालिएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा. स्वंय प्रकाश श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।
सबैभन्दा अगाडि भगवानको तायाः मचा राखेर काठमाडौं महानगरपालिका ११ सुन्धारा, दहमार्गस्थित समाजको कार्यालयबाट सुरु भएको जात्रा बसन्तपुरमा पुर्याएर विभिन्न टोलको परिक्रमा गरी पुन समाजको सुन्धारास्थित कार्यालयमा ल्याएर जात्रामा सहभागि सबैलाई प्रसाद वितरण गरिएको थियो ।
धौलागिरि क्षेत्रको ऐतिहासिक र मौलिक ताया : मचा नाच, बास्सा नाच लगाएतको परम्पराको संरक्षण र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नको लागि समाजले प्रत्येक वर्ष व्यवस्थित रुपमा ताया : मचा निकाल्ने गरेको समाजका उपाध्यक्ष किस्मत मणि श्रेष्ठले बताउनुभयो ।
बागलुङमा सबैभन्दा अगाडि लक्ष्मी नारायणको भगवानको तायाः मचा राखेपछि मात्र मृतकको सम्झनामा बनाइएको तायाः मचा राखेर प्रेत्यक मृतकको घरमा जाने र परेपिपल पुर्रयाएर नारायण चोक फर्काउने परम्परा रहेको छ । यो परम्परा विसं १९८३ देखि सुरु भएको हो ।
नेवारी समुदायका एक वर्षभित्र आफन्त बितेका परिवारबाट गाईजात्राको अवसरमा ताया : मचा निकालिने परम्परा रहेको छ ।
९९ वर्षदेखि बागलुङमा लक्ष्मीनारायण देवताको तायाः मचा
विसं १९८३ अघिदेखि बागलुङ बजारमा गाईजात्रा वा तायाः मचा नाच चौधरी थरका नेवारहरूले बानपा ३ बुद्ध विहारबाट सुरु गरेर नगरपरिक्रमा गर्ने चलन रहेको नेपाल भाषा मंका खल बागलुङका सदस्य जयराम भारीले बताए ।
बागलुङ नगरवासी टेकनारायण भारी, बहुदप्रसाद भारी ९ मानकाजी भारी ०, अश्विनीकुमार बझान्थाछेले पाल्पामा सञ्चालन हुने ऐतिहासिक तायाः मचा नाच हेरेर आएपछि उनीहरूकै पहलमा विसं १९८३ मा बानपा ३, नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना गरी नारायण चोकबाट यो नाच सुरु गराएका थिए।
सबैभन्दा अगाडि लक्ष्मी नारायणको भगवानको तायाः मचा राखेपछि मात्र मृतकको सम्झनामा बनाइएको तायाः मचा राखिन्छ ।विसं१९८३ भन्दा अगाडि लक्ष्मी नारायणको ताय मचा बनाउने चलन थिएन ।
लक्ष्मी नारायणको मूर्ति बनारसमा बनाउन लगाएर बागलुङ ल्याइएको थियो ।गाईजात्राको बिहान लक्ष्मीनारायणको तायाः मचा बनाएर मन्दिरमा पूजा गर्ने चलन छ ।
सबैजना लक्ष्मीनारायण मन्दिरमा भेला भई बिहान गाईजात्रा निकालेर नगरपरिक्रमा गरी सोही स्थानमा ल्याई विसर्जन गर्ने परम्परा थालिएको नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष जयराम भारीले नयाँ विश्वलाई बताउनुभयो।
यहाँ तायाः मचा बाँसबाट बनाइन्छ । हरियो बाँसलाई ठाडो पारेर आयताकारमा बाँधी कपडाले बेरेर तायाः मचा बनाइन्छ । तायाः मचामा पुरुष बितेको भए पुरुषको लुगा र महिला बितेको भए महिलाको लुगा झुन्ड्याएर राख्ने चलन छ । बच्चा बितेको भए डोकोमा च्याङ्ग्राको सिङ राखेर बनाउने चलन छ ।
तायाः मचाको शिरमा गाईको चित्र, मृतकको तस्बिर राखी चौँरी गाईको रौँ लगाउने चलन छ । यसलाई डोकोमा अड्याएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तस्बिरबाट जात्रा हेर्न आएकालाई कुन मृतकको तायाः मचा निकालिएको हो, थाहा हुन्छ ।
मृतकको सम्झनामा निकालिने तायाः मचा नाच घरका छोरी वा बुहारीले पूजा गरेपछि मात्र निकाल्ने र विसर्जन गर्दा पनि छोरी वा बुहारीले पूजा गरेर समापन गर्ने चलन रहेको उनको भनाइ छ ।उनका अनुसार तायाः मचा नाच निकाल्नुअघि बिहान १ वा २ बजेको समयमा मृदंगना, झ्यालीसहित सांकेतिक बाजा बजाएर नगर परिक्रमा गरिन्छ ।
यसरी बाजा बजाएर बजार परिक्रमा गर्नुको अर्थ सबै मृतकका परिवारलाई आफ्नो तायाः मचा लिएर नारायण चोकमा भेला हुने सूचना हो ।
त्यसपछि सम्बन्धित घरबाट बिहान ४ बजे बजारको नारायणचोकमा तायाः मचासहित भेला हुने र नगरपरिक्रमा गर्ने चलन छ । त्यसै गरी दिउँसो पनि नारायण चोकमै भेला भई बजार परिक्रम गर्ने परम्परा रहेको नेपाल भाषा मंका खल बागलुका सचिव सुदिप राजभण्डारीले बताउनुभयो ।
तायाः मचा नाच संस्कृति संरक्षणमा नेवा नयाँ पुस्ता
बागलुङमा तायाः मचा नाच संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको नेपाल भाषा मंका खलका उपाध्यक्ष विदेश कुमार श्रेष्ठले बताउनुभयो । युवा पुस्ताको सक्रिय सहभागिताले संस्कृति हस्तान्तरण एवं जगेर्ना गर्ने काम पनि सघाउ पु¥याएको उनको भनाई छ ।
‘हामीले केही वर्षदेखि यस पर्वलाई व्यवस्थित गरेका छौ, र यस वर्ष पनि कोभिडका कारण सबैलाई स्वास्थ्य मापदण्ड पालन गर्न लगाएर मात्र तायाः मचा निकालेका छौ’ उहाँले भन्नुभयो ।तायाः मचा संरक्षण गर्न युवा सहभागिता बढाउने र तायाः मचा बनाउन मृतकको घरमा गएर सहयोग पनि गरेको नेवा ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारीले बताउनुभयो ।
प्रत्येक वर्ष तायाः मचा प्रत्येक मृतकको घरघर हुँदै बजार परिक्रममा गर्नु पर्ने र त्यहि मृतकको परिवारले प्रसाद वितरण गर्ने चलन रहेको छ ।
तायाः मचा नाच विसं १९८३ भन्दा पहिले राधाकृष्ण टोल, त्यसपछि शिवकुमार प्रधानको घरको आँगनबाट निकाल्ने चलन थियो । विस १९८३ मा नारायण चोकमा सरेको वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठले जानकारी दिनुभयो ।
यसरी विस्तार भयो उपत्यका बाहिर गाईजात्रा
तायाः मचा नाच हरेक जिल्लामा फरकफरक खालको छ । ३६७ वर्षसम्म आर्थत आनन्ददेवदेखि यक्ष मल्लसम्मको समयमा नेपालको राजधानी भक्तपुर थियो । भक्तपुरमा गाईजात्रादेखि कृष्ण जन्माष्टमीको दिनसम्म डबली र टोलहरूमा गीत, नाटक, ख्याल प्रदर्शन गर्ने चलन छ ।
यक्ष मल्लको समयपछि काठमाडौं उपत्यका विभाजित भयो । ब्राहृमण चन्द्रशेखरको आग्रहमा राजा जगतप्रकाश मल्लले गाईजात्रामा नाचगान र बाजागाजाको प्रयोग गरेका थिए । यसरी गाईजात्रा धुमधामसँग मनाउन परम्परा बस्यो ।पछि यो परम्परा उपत्यका बाहिर पनि विस्तार भयो । यसको कथा भने अनौठो खालको छ ।
रणबहादुर शाहले बिफरको महामारीबाट रानी कान्तिवतीको मृत्यु भएको र छोरा गीर्वाणयुद्धको समेत मृत्यु नहोस भनि तीनै शहरका सबै बालबालिकालाई नेपाल उपत्यकाबाट बाहिर निकाले ।
त्यसरी निस्कासित परिवार बनेपा, पनौती, पोखरालगायत ठाउँमा गएर बस्न थालेको इतिहास छ । त्यहि घटनापछि बल्ल उपत्यका बाहिर गाई जात्रा पर्वको विस्तार भएको थियो ।त्यति बेला गण्डकी र धौलागिरि क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले यस नाचलाई यस क्षेत्रमा जोगाएर राखेका छन ।
‘साँ यात’ अर्थात ‘गाईको यात्रा’
‘साँ यात’ अर्थात ‘गाईको यात्रा’ जयस्थिति मल्लको समयको गोपालराज वंशावली पत्र ६१० मा ‘साँ यात’ भनेर लेखिएको छ जुन भनेको ‘गाईको यात्रा’ हो । यो तथ्यले भने गाईजात्रा जयस्थिति मल्लको समयभन्दा पहिल्यै सुुरू भएको देखिन्छ ।लिच्छविकालमा मनोरञ्जनका लागि गोरु जुधाउने परम्परा पनि थियो । यसबारे अनन्तलिंगेश्वरको अभिलेखमा ‘गोयुद्ध’ उल्लेख छ ।
गाई यात्रालाई जात्राका रूपमा प्रचलनमा ल्याउन र संगीतको प्रयोग गर्न भने काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु भएको थियो ।
३ सय वर्षअघि काठमाडौंलगायत उपत्यकाका विभिन्न ठाउँबाट व्यापारको सिलसिलामा बागलुङ आई बसोबास गरेका नेवार समुदायले सँगै ल्याएको भाषा, कला, संस्कृति र जात्रालाई संरक्षण गर्दै आएका छन् ।१ वर्षभित्र आफन्तको मृत्यु भएका घरबाट गाईजात्राकै दिन प्रसाद बनाएर छरछिमेकीलाई खुवाउने चलन पनि छ ।




















































































































































































































