४ श्रावण २०८३, सोमबार

 

गाजा दहमा सिद्ध बराहको २३ फिट अग्लो मूर्ति निर्माण

बागलुङ । नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यमा पर्ने बागलुङको गाजा दहको बीच भागमा सिद्ध बराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण गरिएको छ । चार महिना लगाएर बिनामारेका मूर्तिकार कृष्णबहादुर सुनारले उक्त मूर्ति निर्माण गर्नुभएको छ । मूर्ति बनाउनका लागि रु २० लाख खर्च भएको छ ।

समुन्द्री सतहदेखि २ हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका–३ मा रहेको गाजा दह धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सिद्ध बराहको महिमा बढाउनका लागि तालको बीच भागमा सिद्ध बराहको मूर्ति निर्माण गरिएको वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो ।

“चार महिना लगाएर सिमन्ट प्रयोग गरी विशाल मूर्ति निर्माण गरिएको छ, भगवना विष्णुको दश अवतारमध्ये तेस्रो अवतारको रुपमा सिद्ध बराहलाई लिइन्छ” भुजेलले भन्नुभयो “मूर्ति निर्माणसँगै तालको शौन्दर्यता थपिएको छ भने धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।”

हिन्दु धर्मका एक महत्वपूर्ण देवता ‘बराह अवतार’को प्रतिमा भगवान विष्णुको दश अवतारहरूमध्ये तेस्रो अवतारको रुप झल्काने गरी निर्माण गरिएको छ । बराह मूर्तिमा शूकरतथा बङ्गुरको रूपमा चित्रण गरिएको छ । बराह अवतार भगवान विष्णुले पृथ्वीलाई जलमग्नबाट बचाउनको लागि धारण गर्नुभएको अवतार भएकाले गाजा दहको बीचमा निर्माण गरिएको हो ।

पुराणमा हिरण्याक्ष नामक दानवले पृथ्वीलाई समुद्रको गहिराइमा लुकाइदिएपछि पछि विष्णुले बराहको रूप लिएर पृथ्वीलाई आफ्नो दाँतमा राखेर बचाउनु भएको उल्लेख गरिएकाले गाजा दहमा सिद्ध बराहको मूर्ति निर्माण गरिएको हो ।

धार्मिक रुपमा अत्यन्तै महत्वको क्षेत्रको रुपमा रहेको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिने क्रममा पूर्णकदको २३ फिट अग्लो सिद्ध बराहको मूर्ति निर्माण सम्पन्न गरिएको छ ।बागलुङको जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्दछ ।

पछिल्लो समय जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्ष्ण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माण लगायतका पूर्वाधार थपिदै गएको छ । गाजा दहमा सिद्द बराह ज्ञान महायज्ञ आयोजना गरी संकलन गरेको रु ७२ लाख मध्ये रु। २० लाख लागतमा मूर्ति निर्माण गरिएको हो ।

तालवरपर परम्परागत शैलीमा ढुङ्गा छपाएर रेलिङ सहितको पदमार्ग निर्माण गरिएको छ ।यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन् । गाजादहबाटै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहितका एक दर्जन हिमऋङ्खला देख्न सकिन्छ ।

गाजा दहमा बैकुण्ठ चतुदर्शी तथा बाला चतुदर्शीमा परम्परागत मेला लाग्नाले गाजा दहको महत्व बढ्दै गएको छ । प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रर्बद्धन गर्न त्यहाँका स्थानीय अग्रसर भएपछि पूर्वाधार निर्माणले गति लिन थालेको हो । ताल २४ वर्ग मिटरमा फैलिएको छ भने करिब १२ मिटरको गहिरो छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung