बागलुङ । भक्तजनलाई लक्षित गरी बिहुँकोट मन्दिरमा दुई वटा आवास गृह निर्माण गरिएको छ ।बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँ स्थित बिहुँकोत मन्दिरमा निर्माण गरिएको अथिति आवास गृहको उद्घाटन गरिएको छ ।
जापान समाज बिहँुकोट र बिहुँकोट समाज जापानको पहलमा विभिन्न १०३ जनाले प्रदान गरेको रु एक करोड रकमबाट दुई वटा अतिथि आवास गृह निर्माण गरिएको हो ।
दुई वटै आवास गृहको जापान समाज बिहुँकोटका संरक्षक तथा समाजसेवी दिपक सुवेदीले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनपछि बोल्दै सुवेदीले भक्तजनहरुको सुविधाका लागि एकसाथ दुई आवासगृह निर्माण गरिएको बताउदै बिहुँकोत मन्दिरको प्रचार प्रसार प्रचारको कमी भएको बताउनुभयो । उहाँले कोतघरले धार्मिक पर्यटक भित्राउने संभावना देखेर लगानी गरेको बताउनुभयो । जन्मगाउँको धार्मिक क्षेत्रमा लगानी गर्न पाउदा आफूहरु खुसी भएको बताउनुभयो ।
कार्यक्रममा फुलपाती मेलाको समेत आयोजना गरिएको थियो । कार्यक्रममा पूर्वगण्डकी प्रदेश सांसद मणिभद्र शर्मा कँडेलले धार्मिक क्षेत्रमा जापानमा रहने महानुभावले ठूलो योगदान गरेको बताउनुभयो । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पूर्वाधार मिर्नाणमा गाउँपालिकाको सहयोग रहेको बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, जापान समाज बिहुँकोटका अध्यक्ष नारायण प्रसाद कँडेल, काठेखोला गाउँपालिका वडानम्बर ५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेल, वडा नम्बर ५ का वडा अध्यक्ष बृहस्पती कँडेल, बिहुँकोट विकास मञ्चका हिरा कँडेल, कान्सायी जापानका अध्यक्ष बलबहादुर क्षत्री, बिहुँकोट समाज जापानका पूर्वअध्यक्ष अशोक शर्मा, विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछाने, बिहुँकोट हेड नेटवर्क युकेका संयोजनक शिव कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कलाकारहरु प्रजापती पराजुली, रेशम सापकोटा र अस्मिता डल्लाकोटीको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रमको सञ्चालन सुवास कँडेलले गर्नुभएको थियो ।














































































































































































































