बागलुङ । बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा विरामीले औषधी नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री शनिबार बिहान फार्मेसीमा पुग्नुभएको छ । औषधी नपाएको समाचार रासस मार्फत बिहीबार बाहिर आएसँगै स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक पोखराबाट फार्मेसीको अवस्था बुझ्न एका बिहानै बागलुङ आउनुभएको थियो ।
अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बिमामा आबद्ध बिरामीले नियमितरुपमा सेवन गर्ने थाइराईड, कोलेस्टेरोल, उक्त रक्तचाप, सुगर र मुटु लगायतका औषधी नपाएको गुनासो आएपछि अस्पतालको मार्फेसीको अवस्था बुझ्न अस्पताल प्रशासनलाई थाहै नदिई स्वास्थ्यमन्त्री पाठक अनुगमनमा आउनुभएको थियो ।
सुटुक्क फार्मेसीमा पुग्नुभएको पाठकलाई फार्मेसीका कर्मचारीले सुरुमा चिन्नै सकेका थिएनन् । मन्त्री पाठकले प्रदेशले औषधी खरिदका लागि पैसा पठाएको भन्दै किन औषधी खरिद नगरेको भन्ने प्रश्न प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा किरण तिवारी र फामेर्सी इन्चार्ज सन्तोष सुवेदीलाई राख्नुभएको थियो ।
अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल समेत भएकाले अस्पतालमा औषधी अभाव बनाइराख्ने गरेको बिरामीको गुनासो पछि मन्त्री पाठकले निजी फर्मेसी र प्रायोगशाला रोज्ने की अस्पताल रोज्ने भन्दै स्वास्थ्यकर्मीलाई प्रश्न गर्नुभएको थियो । अधिकांश प्रयोगशाला र फार्मेसीका कर्मचारीको अस्पताल बाहिर आफ्नै फार्मेसी, प्रयोगशाला छ भने केहीले बाहिरका फार्मेसी र प्रयोगशालामा समेत काम गर्दै आइरहेका छन् ।
स्वास्थ्यमन्त्री पाठकले अस्पतालमा काम गरेर बाहिर प्रयोगशाला र फर्मेसी चलाउनेलाई कारवाही गर्ने भन्दै तुरुन्तै औषधीको आपूर्ती मिलाउन अस्पताललाई निर्देशन दिनुभएको थियो । पाठकले स्वास्थ्य मन्त्रालयले तत्कालै दोहोरो फाइदा लिने कर्मचारीलाई अस्पताल वा निजी फार्मेसी रोज्न निर्देशन दिनुभएको छ ।
“अस्पतालमा जागिर खाने निजी स्वार्थका लागि बिरामीको औषधी नदिएर बाहिर पठाउने, प्रदेशले औषधी खरिदका लागि पठाएको रकमले छिटो औषधी खरिद गरौं, मन्त्रालयले दुई तिर काम गर्ने कर्मचारीलाई कार्वाही गर्न तत्कालै परिपत्र पठाउछ” मन्त्री पाठकले अनुगमन पश्चात भन्नुभयो ।थाइराइड २५ र थाइराइड १२.५ को औषधी अहिले अस्पताल फार्मेसीमा उपलब्ध छैन । अस्पतालले समयमै औषधी ल्याउन नसक्दा बिरामीहरु महङ्गो मुल्यमा औषधी खरिद गर्न बाध्य भएका छन् ।













































































































































































































