३ श्रावण २०८३, आईतवार

 

विश्वले मानेका महाकवि देवकोटाः अमेरिकी मिडियादेखि रुसी अन्तरिक्षयात्रीसम्मको त्यो तारिफ

महाकवि लक्ष्मीप्रसाद देवकोटा २०१६ सालमा दुनियाँबाट शारीरिक रूपमा बिदा भए । साहित्यिक रूपमा भने उनी अझै जीवित छन् । देवकोटाका साहित्यको नेपाली पाटो र पक्षको चर्चा जारी छ । देवकोटा बिदा हुँदा दुनियाँमा शीतयुद्ध चलिरहेको थियो । शीतयुद्धका क्रममा विश्वका दुई महाशक्ति देशको रूपमा अमेरिका र सोभियत संघ विभिन्न मोर्चामा साँढे जुधाइ गरिरहेका थिए । विचारको कित्ताकाट थियो ।

ठीक त्यही बेलाका देवकोटामा भने यो कुरा खासै लागू भएन । हुन पनि देवकोटा सर्वस्वीकार्य थिए । कांग्रेसी अखबार युगवाणीका सम्पादक बनेका देवकोटाले राजा महेन्द्रबाट पनि माया पाएका थिए । माओको कविता लेखेका उनले गान्धीको पनि कविता लेखे । देवकोटाको संग्रहालयमा अहिले पनि हेर्दा उनको संकलनमा चीनको पेकिङ रिभ्यु छ ।

सँगै छ, अमेरिकन रिभ्यु । रुसी र भारतीय साहित्यका संग्रह उत्तिकै छन् । शीतयुद्धकालमा दुई महाशक्तिका मिडियामा देवकोटाको तारिफ थियो । लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सन्दर्भमा तत्कालीन सोभियत संघ र रुसका मिडियामा आएका देवकोटाको तारिफबारे छोटो चर्चा गरौँ ।

अमेरिकी मिडिया न्यु योर्करले देवकोटालाई दिएको उपनाम ‘सगरमाथा’ 

गम्भीर खालका लेख लेख्नमा अमेरिकी अखबार न्यु योर्कर नामी छ । साहित्य क्षेत्रमा त यसको अलग चर्चा र चार्म छ । यो अखबारले २६ डिसेम्बर १९५९ मै देवकोटाको तारिफ गरेको थियो । २६ डिसेम्बर १९५९ मा लेखेर न्यु योर्करको २ जनवरी १९६० मा प्रकाशन गरिएको अंकमा देवकोटाको भरपूर प्रशंसा गरिएको छ । ‘इन्डियन समर’ नाम दिइएको लेखमा देवकोटाको चर्चा गरिएको छ । चर्चाको सुरुवात काठमाडौंमा लेखक वेद मेहेताको आगमनबाट गरिन्छ ।

New-Yorker-1760894625.jpg

साहित्य तथा लेखन क्षेत्रमा चिनिएका मेहेता साथी डम मोरेससँगै काठमाडौं आएका थिए । पटनाबाट राणाका खलकसँगको चिनापर्चीमा काठमाडौं आएका उनीहरूको जहाज कोलकाता जाँदै थियो । जहाज उड्न दुई घण्टा हाराहारीको समय हुँदा उनीहरू देवकोटाको आखिरी क्षणमा आर्यघाट पुग्छन् । पुग्नुमा नेपाली कवि तथा जनताको भावनाले काम गरेको छ ।

देवकोटाबारे उनीहरूले मेहेता र मोरेसलाई विभिन्न बुँदामा बताउँछन् । कसैले भन्छन्, ‘नेपाललाई अरु कसैले गरेको भन्दा धेरै देवकोटाले गरेका छन् ।’ कसैले भन्छन्, ‘उनी हाम्रो देशको गहना हुन् ।’ कसैको भनाइ छ– ‘हामीसँग भएका सबैभन्दा विशाल विद्वान् उहाँ नै हो ।’

यी त नेपाली कवि तथा नागरिकबाट उनीहरूले सुनेका कुरा भए । लेखक आफैँ पनि देवकोटालाई आफूहरूभन्दा धेरै लोकप्रिय मात्रै भन्दैनन्, देवकोटालाई नेपालको महान् कवि भन्दै ‘सगरमाथा’को उपनाम दिन्छन् ।

unnamed-1760894658.jpg
यसरी महान् भनिएका देवकोटा आर्यघाटमा भेँटिदा भने सामान्य देखिन्छन् । आफूले अनुवाद र सम्पादन गरेको अंग्रेजी कविता सँगालो दिँदै मेहेता र मोरेसलाई भन्छन्, ‘तपाईंको जस्तै अंग्रेजीमा मेरो पकड भए हुन्थ्यो, तर छैन के गर्नु ? तपाईंहरूजस्तै कसैले नेपाली भाषा सिकेर हामीलाई अनुवाद गरेर विश्वभर लानुपर्छ ।’ साधारण देखिएका देवकोटा नेपाली कविहरूको तर्फबाट बोलेर थप्छन्, ‘हामीसँग भावना त छ तर भाषा छैन ।’

रुसी क्षेत्रबाट देवकोटाको भव्य तारिफ, रवीन्द्रनाथ ट्यागोरसँग तुलना

अमेरिकी अखबारमा मात्रै होइन, रुसी अखबारमा पनि देवकोटाको तारिफ गज्जब देखिन्छ । काठमाडौं विश्वविद्यालयले प्रकाशन गरेको जर्नल बोधीको सन् २००९ को अंकमा जंगबहादुर चौहानले देवकोटाको रुस कनेक्सनका ऐतिहासिक पाटो केलाएका छन् ।

रुसी प्रज्ञा प्रतिष्ठानको प्रकाशन ‘एसिया–अफ्रिका टुडे’ अखबारका सम्पादकले देवकोटाका बारेमा भने सन् १९६३ मा लेखेका थिए, ‘कवि मरे पनि कविता मर्दैन । देवकोटाका कविता त्यसका उदाहरण हुन् ।’ अर्को लाइनमा भनिएको छ, ‘तासकन्दमा भएको एसिया तथा अफ्रिकी लेखको सम्मेलनमा उनी विशिष्ट अतिथिको रूपमा हाम्रो देश आएर अमिट छाप छोडेका थिए । मस्को उनको सपना थियो । मस्कोका सडकमा आनन्दित भएर उनले भनेका थिए– ‘मस्को परिकथाको शहर हो ।’

सन् १९५८ को एसियाली तथा अफ्रिकी लेखकको सम्मेलनमा आफ्नो ऐतिहासिक छाप छोडेका देवकोटाको तारिफ एसिया अफ्रिका टुडेका सम्पादकबाट मात्रै आएन । देवकोटाबाट प्रभावित रुसी विदुषी डाक्टर ल्युदमिला अगानिनाले सन् १९९९ मा लेखेकी थिइन्, ‘अंग्रेजी, विश्व सभ्यता र नेपाली संस्कृतिमा जानकार देवकोटा नेपालले विश्व मञ्चमा पठाउने एक दुर्लभ व्यक्तिहरूमा एक थिए ।’

Soviet-Union-Cosmonat-1760894691.jpg

अगानिनाले देवकोटाबाटै प्रभावित भएर नेपाली साहित्य, कविता र स्वयम् देवकोटाका लागि धेरै काम गरिन् ।

अगानिनाले देवकोटालाई एसियाबाट नोबेल पुरस्कार पाउने प्रथम रवीन्द्रनाथ ट्यागोरसँग जोड्दै सन् १९९९ मा लेखिन, ‘देवकोटालाई रवीन्द्रनाथ ट्यागोर, भारतका छायावादी र पश्चिमा देशका स्वच्छन्दतावादीसँग दाँज्न सकिन्छ । यद्यपि, उनी अरुका हुबहु थिएनन् । उनको मौलिक शैली थियो । नेपाली लोकसंगीत मन पराउने उनले त्यही लयमा नेपाली कविता लेखेर लोकप्रियता पाए ।’

रुसका अन्तरिक्ष युरी मालिसेबले पनि देवकोटाको खुलेर तारिफ गरेका थिए । सोभियत युगमा उनले दुई किस्ता ‘सोभियत नायक’को तक्मा पाएका थिए । नेपाल सोभियत संघ समाजका सभापति पनि भएका उनी सोभियत संघ ढलेपछि सन् १९९२ मा नेपाल आए । उनले विश्वको तत्कालीन समस्यासँग जुधेर एक हुन देवकोटाको उदाहरण दिएका थिए । उनले भनेका थिए, ‘अहिलेको दुनियाँ चाँडै अदलबदल हुँदै छ ।

अर्थपूर्ण शताब्दीको साँधमा हामी उभिइरहेका छौँ । विश्वलाई बस्न योग्य सुन्दर बनाउन हाम्रो आत्मीय हृदय चाहिन्छ । विश्वलाई टुक्राटुक्रामा हामीले विभक्त गर्नु हुँदैन । यो पुनित कर्मका लागि विचारक, लेखक तथा कविहरू छन् । त्यसमा पनि विश्व सभ्यताका एक मेधावी कविको रूपमा देवकोटा अगाडि छन् ।’

रुसी अन्तरिक्षयात्री मालिसेभले देवकोटाबारेको आफ्नो लेखमा थपेका थिए, ‘उनी देशभक्त थिए । सँगै विश्व नागरिक पनि थिए । उनका लेख सारा संसारका लागि हो । उनी वैश्विक हुन् । उनको मृत्यु भएको पनि धेरै वर्ष भइसक्यो । तर, उनका सिर्जनाले अझै पनि हामीलाई हार्दिकता र प्रेमिल ऊर्जा दिन्छन् ।’

शिलापत्रबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung