बागलुङ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा बागलुङको आयोजनामा वुधबार नेपाल सम्वत् नयाँ वर्ष ११४६ मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य रतन मलेपतीले नेपाल संम्वत् राष्ट्रिय मौलिक संम्वत् भएकोले यसलाई दैनिक जिवनमा लागु गर्न सबै सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताउनुभयो ।
आज नयाँ वर्ष, शङ्खधर शाख्वाले गरिबको ऋण मोचन गरेर सुरु भएको नेपाल देशको नाममा रहेको संम्वत्ले नेवार जातीको ज्ञान, भाषा, कला, संस्कृति र सभ्यताको परिचय दिनुका साथै यो सबै नेपालीको मौलिक सम्पत्ती भएको नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरेले बताउनुभयो ।
नेपाल संम्वत् भक्तपुरका राजा राघव देवको पालामा विसं ९३६ देखि चन्द्र शमशेरको पालासम्म प्रचलनमा रहेको नेपालमै बनेको र विकास भएको मौलिक संम्वत् भएको विद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।
कार्यक्रम नेवाः राष्ट्रिय मुक्ति मोर्चा बागलुङका अध्यक्ष ईश्वर मलेपतीको अध्यक्षता, पूर्वअध्यक्ष निरज शाक्यको स्वागत र कार्य समितिका सदस्य गोविन्द वझाको सञ्चालनमा सम्पन्न भएको थियो ।
विसं २०६३ कार्तिक ३ गते बाबुलाल शाक्यको नेतृत्वमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा स्थापना भएदेखि नै यस संस्थाले नेपाल सम्वत्का साथै नेवा भाषा, कला, संस्कृति, जात्रा र सभ्यताको संरक्षण, विकास र नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको नेतृत्व गर्दै आएको छ ।



















































































































































































































