४ श्रावण २०८३, सोमबार

 

महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल उपहार

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ नम्बर वडा कार्यालय अन्तर्गतका स्वास्थ्य स्वयंसेविकलाई मोबाइल उपहार दिएर सम्मान गरिएको छ ।

वडा कार्यालयले ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा सम्मान पत्र सहित मोबाइल फोन प्रदान गरिएको छ ।

प्रोत्साहनस्वरुप मोबाईल फोन सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो । महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चारको पहुँचमा रहन तथा घरमै सुत्केरी हुनेको संख्या शुन्यमा बनाउनको लागि सहयोग पु-याउने उद्देश्यले सम्मान पत्र सहित मोबाइल फोन प्रदान गरिएको छ ।

दुर्गम गाउँको सामाजिक क्षेत्रमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको कदर गर्दै राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा सम्मान पत्र संगै एकरएक थान मोबाइल फोन समेत प्रदान गरिएको वडा अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

“सामाजिक क्षेत्रमा सक्रिय महिलाहरुको सम्मान गर्न सानो उपहार प्रदान गरेका हौं, उनिहरुको सेवा सुविधा छैन, नागरिकको स्वास्थ्य क्षेत्रमा सक्रिय उनिहरुलाई नेपालीमा एसएमएस पठाउने सुविधा सहितको सानो मोबाइल फोन प्रोत्साहन स्वरुप प्रदान गरेका हौं” वडा अध्यक्ष विश्वकर्माले भन्नुभयो “महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल उच्च राख्दै घरमै हुने सुत्केरीको अन्त्यका लागि सहयोग पुग्ने छ भने सुरक्षित सुत्केरीका लागि समयमै सञ्चार गर्न सहज हुनेछ ।”

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ दिन सम्मान पत्र सहित मोबाइल पाउदा खुसी भएको १० वर्षदेखि गाउँमा स्वास्थ्य क्षेत्रमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविका बिमला पोख्रेलले जानकारी दिनुभयो ।

“गाउँमा रात दिन नभनी स्वास्थ्य सेवामा खटिएका छौं, अहिले संस्थागत सुत्केरीको संख्या बढेर शुन्य होम डेलीभरी तर्फ उन्मुख छ, मोबाइल फोनले हामीलाई सहज बनाएको छ, गर्भवतीको विषयमा तत्कालै जानकारी दिन सहज हुन्छ” पोख्रेलले भन्नुभयो “सानो सम्मानले मनोबलमा ठूलो सहयोग बनाएको छ, वडा कार्यालयलाई धन्यवाद दिन चाहान्छौं ।”

सोही वडाको लोकमार्ग छेउमा स्थापना गरिएको टारिखेत सामुदायिक स्वास्थ्य इकाईका प्रमुख बिमला परियारले महिला स्वास्थ्य स्वयंसेविकाले समाजमा स्वास्थ्य चेतना फैलाउन ठूलो योगदान पु-याउनुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung