३ श्रावण २०८३, आईतवार

 

सनराइज बोर्डिङ स्कुलमा साहित्य कुञ्ज मासिकको नवौँ श्रृंखला

बागलुङ । सार्थक प्रकाशन बागलुङद्वारा सञ्चालित साहित्य कुञ्ज मासिकको नवौँ श्रृंखला बागलुङ नगरपालिका–३ स्थित सनराइज बोर्डिङ स्कुलमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालासहित १३ जनाले आफ्ना–आफ्ना सिर्जना वाचन गरेका थिए।

संस्थाले गाउँ–गाउँमा रहेका प्रतिभा खोज्दै प्रत्येक महिना फरक ठाउँमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप यस पटकको श्रृंखला विद्यालयमै आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा विद्यार्थी दीक्षा क्षेत्री, खुशी खड्का, शिक्षक तेजन विश्वकर्मा, प्रकाश कार्की र लालबहादुर नेपालीले आफ्ना रचना प्रस्तुत गरे। सोही क्रममा विद्यालयका पूर्वविद्यार्थी प्रवित हमालले अंग्रेजी र नेपाली दुबै भाषामा कविता वाचन गरे।

स्मृति प्रकाशनका अध्यक्ष गुणराज पौडेल ‘गुराँश’, उपाध्यक्ष रामचन्द्र शर्मा ‘उन्मुक्त’, योग प्रशिक्षक अमृत कँडेल, सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदी ‘पहाडी’ तथा सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रबहादुर क्षेत्री ‘चन्द्र–सूर्य’, सदस्य शान्ति ज्ञवाली र सदस्य ख्यामराज सुवेदीले पनि आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशन र सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदीले कार्यक्रमको महत्वबारे आफ्ना धारणा व्यक्त गरे।

सार्थक प्रकाशनद्वारा नियमित रूपमा सञ्चालन हुने साहित्य कुञ्ज मासिकको यो श्रृंखला अध्यक्ष युक्तप्रसाद सुवेदीको अध्यक्षता, सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रबहादुर क्षेत्री ‘चन्द्र–सूर्य’ को स्वागत वक्तव्य र साहित्यकर्मी ख्यामराज सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung