४ श्रावण २०८३, सोमबार

 

बागलुङमा १९ जना बालबालिकामा एचआइभी संक्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी संक्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधी सेवनगर्ने २१५ संक्रमित मध्ये १९ जना बालबालिका रहेको पाइएको छ । १५ वर्षदेखि एचआइभी संक्रमित भइ औषधी सेवन गर्दै आउनुभएको बागलुङ नगरपालिका निवासी एक महिलाले समाजले संक्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताउनुहुन्छ ।

उहाँले आफूले खुलेर हिड्न चाहेपनि समाजले आफ्नो परिवारलाई समेत हेलाको भावले हेर्ने गरेकाले आफूजस्ता संक्रमित खुल्न डराएको बताउनुभयो ।

“आफू पो संक्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा अध्ययन गर्छिन्, परिवार अरुको सरहनै छ तर संक्रमित भएको थाहा पाएपछि परिवारनै समाजबाट अपहेलित हुनुपर्ने, विद्यालयमा हेला हुनुपर्ने तथा विभिन्न लान्छना लाग्ने गर्दछ” संक्रमित महिलाले भन्नुभयो “ संक्रमित भएर अन्य नागरिक सरह हिड्न समस्या छ, परिवारबाट समेत तपाई खुलेमा हामीलाई समले संक्रमितको परिवार भन्छन् भन्ने सुझाव आउछ ।”

संक्रमित बालबालिकाले समेत विद्यालयमा विभेद भएको भन्दै परिवारसंग गुनासो गर्ने गरेका छन् ।

बागलुङमा पछिल्लो समय संक्रमणको संख्या बढ्दै गएपनि खुलेरै समाजमा आउनेको संख्या न्यून छ । पछिल्लो समयमा संक्रमितहरुले परिक्षण गर्ने, संक्रमण पश्चात औषधी सेवन गर्ने र सम्पर्कमा रहने एचआइभी एड्स सङ्क्रमितको संख्या भने बढिरहेको छ ।

धौलागिरी अस्पतालको एआरटी ९एन्टी रेक्टो ट्रिटमेन्ट०सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैर सरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी संक्रमितहरु सम्पर्कमा आउन थालेपनि खुल्न भने नचाहने स्वास्थ्यकर्मी बताउछन् ।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, संक्रमितहरुको परामर्श, परिक्षण तथा नियमित रुपमा औषधी उपचार र गोपनियताका कारण संक्रमितहरु सम्पर्कमा भने आउन थालेका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार बागलुङ जिल्लामा १९ बालबालिका सहित २१५ जना संक्रमितहरु नियमित औषधी सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार गत आर्थिक वर्षमा १० जना संक्रमित थपिएका थिए भने चालु आर्थिक वर्षमा सात जना संक्रमित थप भइसकेको छ ।

उनिहरुले सामाजिक विभेद रहेकाले आफूहरु खुल्न नसकेको बताउदै आएका छन् । उनिहरुलाई गोपनियताको ढंगले औषधी दिने तथा परामर्श दिदै आएको शर्माको भनाई छ । परिक्षण र परामर्शको दायरा बढाएपछि संक्रमितको संख्या भने उकालो लागिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung