४ श्रावण २०८३, सोमबार

 

गलकोट नगर अस्पतालमा अनलाइन डिजिटल सिस्टम सुरु

बागलुङ। बागलुङको गलकोट नगरपालिका-५ हरिचौरमा रहेको गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङ सहितको डिजिटल प्रणाली सुरु गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. दिपेन्द्र गौतम र ईन्जिनियर विरोध कट्टेलले गलकोट नगर अस्पतालमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर जिसी, डा. राजेश पौडेललाई डिजिटल गलकोट हेल्थ कार्ड हस्तान्तरण गरि डिजिटल प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरल लगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणाली मार्फत गर्ने योजना र नागरिकलाई थप सहजताको निम्ति सेवा सुरु गरिएको गलकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

इन्टरनेटको पहुँच सँगै डिजिटल सिस्टममा अगाडि बढ्दा उपचारमा आउने नागरिकलाई हुने फाईदा र सेवा सुविधालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा यो सेवा सुरु गरिएको गलकोट नगर अस्पतालका प्रमुख एमडिजीपी डा. राजेश पौडेलले जानकारी दिनुभयो ।

डा. पौडेलले भन्नुभयो यो २१औँ शताब्दी सूचना र प्रविधिको समय हो, चाहे त्यो शिक्षा होस् वा स्वास्थ्य सेवामा । हामी आज यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ डिजिटल पहुँच र इन्टरनेट प्रयोगबिना सेवा प्रदान गर्नु, व्यवस्थापन गर्नु वा नवप्रवर्तन गर्नु कठिन मात्र होइन, लगभग असम्भव जस्तै भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका लक्ष्यहरू र सरकारका डिजिटल नेपालजस्ता पहलहरूले अस्पतालहरूलाई अब डिजिटल प्रणाली मार्फत सेवा सुचारु गरिएको गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले बताउनु भयो । प्रविधिको विस्तार र पहुँच बढे सँगै स्वास्थ्य सेवा विशेष गरेर अस्पतालजस्तो संवेदनशील संस्था, अझ बढी प्रविधिमैत्री बन्नुपर्ने अवस्थामा रहेको छ ।

बिरामीको संख्या, रोगहरूको प्रकृति, जनअपेक्षा र उनिहरुको अधिकारलाई सुनिश्चित र सहज बनाउन डिजिटल प्रणाली अवलम्बन गरिएको अस्पतालले जनाएको छ । आजको अस्पताल केवल इँटा र सिमेन्टको संरचना मात्र होइन, अस्पतालको सेवा र प्रभावकारिता सँगै त्यसमा प्रयोग हुने प्रविधिसँग गहिरो सम्बन्ध रहेको छ ।

अस्पताललाई गुणस्तरीय सेवा दिने संस्था बनाउन डिजिटलाईजेशन प्रणाली अपनाईएको हो । डिजिटल प्रविधि अस्पतालको सेवा क्षेत्र विस्तार गर्ने मात्र होइन, न्यायोचित सेवा वितरणको आधार पनि बनिरहेको छ ।

आजको बिरामी स्मार्टफोन प्रयोगकर्ता हो । उसले रिपोर्ट अनलाइन हेर्न चाहन्छ, शुल्क मोबाइल एपबाट तिर्न चाहन्छ, र अपोइन्टमेन्ट बिना अस्पताल नगई बस्न चाहन्छ । बिरामीको यस्तो डिजिटल व्यवहारलाई सहज र सरल बनाउन डिजिटल प्रणाली अपनाईएको हो ।

कागजी फाइलहरु हराउने सम्भावना वा गोप्यता भंग हुने जोखिम डिजिटल प्रविधिबाट नियन्त्रण गर्न सकिन्छ । क्लाउड स्टोरेज, पासवर्ड सुरक्षा जस्ता उपायले संवेदनशील मेडिकल डेटा सुरक्षित राख्न समेत मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung