बागलुङ । धौलागिरी प्रादेशिक अस्पतालमा १९ वर्षीय एक युवकको अण्डकोषमा देखिएको गम्भीर समस्या (टेस्टिकुलर टर्सन) को सफल शल्यक्रिया गरिएको छ ।
अण्डकोषमा अत्यधिक दुखाई भएपछि युवकलाई आकस्मिक कक्षमा ल्याइएको थियो ।
अस्पतालका चिकित्सकले समयमै समस्या पत्ता लगाई तुरुन्त शल्यक्रिया गरेका थिए । कन्सल्टेन्ट डा. शंकर राज लामिछानेका अनुसार समयमै उपचार नगरेमा अण्डकोषमा रगतको प्रवाह बन्द भई अण्डकोष नष्ट हुन सक्ने र भविष्यमा सन्तान नहुने जोखिम हुने गर्दछ ।
डा. शंकर राज लामिछाने, डा. आशिष बस्ताकोटी, एनेस्थेसियोलोजिस्ट डा. सन्दिप खत्री, मेडिकल अधिकृत डा. मधु पाण्डेय, एनेस्थेसिया सहायक मुन्ना कुमार यादव तथा स्टाफ नर्स रमना थापा र मनिषा पुनको टोलीले सफल शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि युवकको अवस्था सामान्य रहेको र उपचारपछि उनलाई घर पठाइएको डा. आशिष बस्ताकोटीले जानकारी दिनुभयो ।













































































































































































































