बागलुङ । बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष श्रीप्रसाद शर्माले आज एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएको छ । शर्माले गण्डकी प्रदेश सरकारको स्वास्थ्यमन्त्री पाठकको विशेष उपस्थितिमा पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहणपछि बोल्दै अध्यक्ष श्री प्रसाद शर्मा अस्पतालको सुधारका लागि सबैसंग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । उहाँले अस्पतालको कर्मचारी व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवाका विषयमा जनतालाई यथार्थ जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
“अस्पतालले सेवा विस्तार गरिरहेको छ , सबैसंग समन्वय र सहकार्य गरेर राजनीति भन्दा माथी उठेर भेदभाव नगरी काम गर्छु अरुले समेत भेदभावको नजरले नहेर्नुहोला” शर्माले भन्नुभयो “अस्पतालको वेतिथि हटाउदै गुणस्तरीय सेवा दिनमा मेरो बलबुताले भ्याएसम्म लाग्छु ।”
मन्त्रिपरिषद्को मंसिर २३ गतेको निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरिएको थियो । पदभार ग्रहण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रको विकास मानव किासको पहिलो विकास रहेको बताउनुभयो ।
उहाँले अस्पतालले गुनासो नआउनेगरी काम गर्न निर्देशन दिनुभयो । उहाँले अस्पतालले पछिल्लो समय सिटिस्क्यान सहितको सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले अस्पताललाई सय शैयाको अस्पतालमा मेडिकल कलेज खोल्नेगरी तयारी भइरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, पूर्व अध्यक्ष डा. कृष्ण बहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नवनियुक्त श्रीप्रसाद शर्माको अध्यक्षता तथा नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































