बागलुङ । धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष तेजबहादुर कुवँरले बुधबार पदभार ग्रहण गरेका छन्।
गण्डकी प्रदेश सरकारद्वारा हालै अध्यक्षमा नियुक्त कुवँरले आगामी तीन वर्षका लागि समितिको नेतृत्व सम्हाल्ने भएका हुन्। उनले अस्पतालको स्तरवृद्धि तथा व्यवस्थापन सुधारमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष कुवँरले अस्पताललाई एक सेवादायी संस्थाका रूपमा विकास गर्न आफूले सक्दो प्रयास गर्ने बताए। कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले आयुर्वेद अस्पताललाई सुदृढ बनाउने कार्यमा प्रदेश सरकारले मुख्य भूमिका खेलेको उल्लेख गरे।
उनले विश्वव्यापी रूपमा बढ्दै गएको आयुर्वेद उपचारको महत्वलाई आधुनिक चिकित्सा प्रणालीसँगै अघि बढाउनुपर्ने बताए।
कार्यक्रमका अतिथि गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्रबहादुर थापाले जिल्लामा पाइने जडिबुटीको पहिचान, संकलन, व्यवस्थापन तथा प्रशोधनमा विशेष ध्यान दिनुपर्ने बताए। यसले अस्पताललाई आम्दानीसँग जोड्ने भएकाले सुदृढीकरणमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ तथा धौलागिरि प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
व्यवस्थापन समितिका सदस्यहरूमा पार्वती खड्का अधिकारी र संञ्जिप कँडेल रहेका छन्। जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र नगरपालिका पदेन सदस्य रहने समितिमा अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था छ।
धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा शरद पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन अस्पतालका डा कमलविक्रम पौडेलले गरेका थिए।


खोजीनितीबाट













































































































































































































