बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स-प्लाज्मा) उत्पादन गर्न थालेको छ ।
धौलागिरी प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणहरुको अभावमा अन्य केही उपकरण समेत प्रयोग विहिन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।
लामो समयको प्रयास र करोड खर्चेर प्रयोगशाला स्थापना गरिएको छ भने आइतबारदेखि प्रयोगशालाले सेतो रगत उत्पादन गर्न थालेको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक करोड खर्चेर सुविधा सम्पन्न प्रयोगशाला स्थापना गरिएको छ ।
आचार्यका अनुसार प्रयोगशालामा तालिम प्राप्त ल्यावटेक्निसियनको समेत व्यवस्था मिलाइएको छ ।
जटिल प्रकारका विरामीलाई आवश्यक पर्ने प्लेटलेट्स-प्लाज्मा बागलुङमै उत्पादन थालेपछि धौलागिरी प्रादेशिक अस्पतालबाट रिफर हुने जटिल प्रकारका विरामीको संख्या घट्ने आचार्यको अपेक्षा रहेको छ ।
विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारको रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख डा. किरण तिवारीले जानकारी दिनुभयो ।
रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्सरप्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारको समस्या देखिएर सेतो रगत चाहिने विरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता आइतबारदेखि हटेको तिवारीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङ स्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्ष अघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आएको छ चने प्रदेश सरकारको रु पन्ध्र लाख र बागलुङ नगरपालिकाको रु पाँच लाख, जैमिनी नगरपालिकाको रु तीन लाख, गलकोट नगरपालिकाको रु दुई लाख र बरेङ गाउँपालिकाको रु एक लाख ५० हजार गरी रु २६ लाख ५० हजार लागतमा अन्य उपकरणहरु खरिद गरिएको थियो ।
उपकरण आएपनि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु १३ लाख ५० हजार नगद सहयोग पछि शुरु भएको थियो ।
रक्तसञ्चार केन्द्रको भवनमा उपकरण र अन्य सहयोग गरी झण्डै एक करोड लागत थपेर सेतो रगत उत्पादन थालिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताउनुभयो ।
विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश टोक्दा, शल्यक्रिया गर्दा, अत्याधिक रक्तस्राव भएका विरामीलाई समेत सेतो रगत आवश्यक पर्ने धौलागिरी अस्पतालका प्रमुख डा किरण तिवारीले जानकारी दिनुभयो ।
उहाँले सेतो रगतकै कारण उपचार सम्भव हुने विरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनभयो । विरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ ।













































































































































































































