बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको छ ।
प्रत्यक महिनाको चौथो शनिबार मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूका लागि विशेषज्ञ सेवा सुरु गरिएको प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रमुख कन्सल्टेन्ट मिर्गौला रोग विशेषज्ञ डा.विकास खत्रीले गत शनिबारदेखि अस्पतालमा सेवा प्रदान गर्न थालिएको तिवारीको भनाई छ ।
अस्पतालका अनुसार पहिलो दिनमै २६ जना बिरामीहरूले प्रत्यक्ष रूपमा सेवा लिएका छन् । यस सेवामा डा। बिपना केसी, स्टाफ नर्स सरस्वती गौतम, मनीषा केसीलगायतको सक्रिय सहभागिता रहेको थियो ।
मृगौला रोग, पिसाबमा रगत वा प्रोटिन देखिने समस्या, उच्च रक्तचाप नियन्त्रणमा कठिनाइ, शरीर सुन्निने, तथा मधुमेहका कारण मृगौलामा असर परेका बिरामीहरूले यस सेवाबाट लाभ लिन सक्नेछन् ।
अस्पतालले आगामी दिनहरूमा यी दुवै सेवाबाट अधिकतम सेवाग्राहीहरूले लाभ लिने अपेक्षा गर्दै सबैलाई सेवा लिन धौलागिरि प्रादेशिक अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले आग्रह गर्नुभयो।
सबै मृगौला विरामीलाई सहज र छिटो सेवा दिनको लागि थप कोठा विस्तारको लागि पूर्वाधार निर्माणको कार्य पनि द्रुत ढंगले अगाडि बढेको र एक तला थप भएपछि डायलाइसिस गर्नु पर्ने विरामीहरुलाई लागि तीन वटा मेशिन संचालनमा ल्याउने योजना रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
यसैबीच, अस्पतालले गत महिनादेखि नै हरेक महिनाको दोस्रो शनिबार मनरोग विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याइसकेको जनाएको छ ।













































































































































































































