बागलुङ । बागलुङमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत औषधि खुवाउने अभियान सुरु गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो।
बैशाख ६ र ७ गते सञ्चालन हुने अभियानमा ६ महिनादेखि १ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ मात्र खुवाइनेछ भने १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि दिने कार्यक्रम रहेको छ ।
नगरको सबै वडाहरुमा स्वास्थ्यकर्मीको निगरानीमा स्वयंसेविकामार्फत बालबालिकालाई औषधि खुवाउने व्यवस्था मिलाइएको छ।
नगरका सबै वडाहरुमा १९७ जना स्वयंसेविका परिचालन गरिएको छ ।
यस अभियानमा छुटेका बालबालिकालाई एक हप्ताभित्र नजिकको स्वास्थ्य संस्थामा लगेर पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माले नयाँविश्वलाई बताउनुभयो ।
तस्बिर : खोजीनितीबाट













































































































































































































