बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखास्थित श्री रामरेखा आधारभूत विद्यालयमा शुक्रबार “पोषण स्वास्थ्यसँग सम्बन्धित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आधारभूत स्वास्थ्य सेवा, बागलुङ नगरपालिका–१, रामरेखाको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ६, ७ र ८ का १२ जना विद्यार्थीहरूको सहभागिता रहेको जनस्वास्थ्य निरीक्षक अनीता राजभण्डारीले जानकारी दिनुभयो। कार्यक्रममा विद्यार्थीहरूले पोषण, स्वास्थ्य तथा सचेतनासम्बन्धी विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
प्रतियोगितामा संगीता परियार प्रथम, संगम नेपाली द्वितीय, सूर्य परियार तृतीय तथा विराज वली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमको निर्णायक मण्डलमा शिक्षकहरू सृजना पौडेल, जमुना कँडेल र सुवाश रुचाल रहेका थिए। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक अनीता राजभण्डारी तथा सिअनमि कल्पना देवी शर्माको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रबहादुर केसी र प्रधानाध्यापक सृजना पौडेलले मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूमा स्वास्थ्य तथा पोषणसम्बन्धी ज्ञान अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने निर्णायक मण्डल, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
जनस्वास्थ्य निरीक्षक अनीता राजभण्डारीको अध्यक्षता तथा शिक्षक रेशम गोतामेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।









































































































































































































