९ असार २०८३, मंगलवार

 

काठमाडौँ उपत्यकासहित ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, उच्च सतर्कता अपनाउन आग्रह

बागलुङ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मंगलबार विभागका महानिर्देशक डा. उमेश दाहालद्वारा जारी विज्ञप्तिअनुसार गत चैत ४ गते मोरङमा पहिलो पटक बर्ड फ्लु देखिएयता संक्रमण विभिन्न जिल्लामा फैलिएको हो।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा संक्रमण देखिएसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा पनि रोग फैलिएको जनाएको छ।

केही दिनअघि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा समेत बर्ड फ्लु पुष्टि भएपछि चिडियाखाना हाल बन्द गरिएको छ।

विभागले विगत तीन महिनादेखि देशका विभिन्न क्षेत्रमा तीव्र रूपमा फैलिरहेको यस सङ्क्रामक रोगलाई नियन्त्रणमा लिन विशेष सक्रियता अपनाइएको जनाएको छ।

पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाकाहरूमा निगरानी तथा गस्ती बढाएका छन् भने अवैध रूपमा भित्र्याइएका शङ्कास्पद पन्छीहरू नियन्त्रणमा लिएर नष्ट गर्ने कार्यलाई तीव्रता दिइएको विभागले जनाएको छ।

विभागले किसान, व्यवसायी तथा सर्वसाधारणलाई रोगका लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन र जैविक सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung