बागलुङ । नेपाल स्वास्थ्य प्राविधिक संघको ४८औँ स्थापना दिवसको अवसरमा मंगलबार मानव सेवा आश्रम, बागलुङलाई सरसफाइ सामग्री वितरण गरिएको छ।
नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले मानव आश्रम बागलुङका संचालिका विपना तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष खनालले संघले स्थापना कालदेखि नै स्वास्थ्य प्राविधिकहरूको पेशागत हकहित संरक्षणसँगै जनस्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याउँदै आएको बताउनुभयो।
उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमलाई सरसफाइ सामग्री हस्तान्तरण गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा सिअहेव अधिकृत शिवबहादुर केसीले सामाजिक सेवामूलक कार्यले स्वास्थ्य क्षेत्रका पेशाकर्मी र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष सोमराज पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव विष्णुनाथ सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
वि।सं। २०३६ साल असार १६ गते स्थापना भएको नेपाल स्वास्थ्य प्राविधिक संघले विगत ४८ वर्षदेखि स्वास्थ्य प्राविधिकहरूको पेशागत अधिकार, क्षमता विकास तथा जनस्वास्थ्य सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
स्थापना दिवसका अवसरमा गरिएको सरसफाइ सामग्री वितरण कार्यक्रमले संघको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको आयोजकले जनाएको छ।













































































































































































































