११ श्रावण २०८३, सोमबार

 

निर्णयघाटमा १०८ तुलसी मठमा एकसाथ तुलसी रोपण, मानवसेवा धाम निर्माण अभियानलाई गति

बागलुङ । बागलुङ सदरमुकामस्थित निर्णयघाटमा धार्मिक, सांस्कृतिक तथा वातावरणीय महत्त्व बोकेको तुलसी संरक्षण अभियानअन्तर्गत १०८ वटा तुलसी मठमा एकसाथ तुलसी रोपण गरिएको छ।

हरिबोधिनी एकादशीको पावन अवसरमा मानव सेवा आश्रम बागलुङको आयोजनामा विशेष धार्मिक विधिअनुसार १०८ वटा मठमा तुलसी रोपिएको हो। मानवसेवा धामका रूपमा निर्णयघाट क्षेत्रको विकास गर्ने गुरुयोजनाअन्तर्गत पवित्र कालीगण्डकी नदी किनारमा तुलसी रोपण अभियान सञ्चालन गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

उक्त अभियानमा समाजसेवी रघुनाथ राजभण्डारी, श्रीमती रेनु राजभण्डारी, विश्व राजभण्डारी, श्रीमती सुस्मिता राजभण्डारी लगाएतका समाजसेवीहरुले तुलसी मठ निर्माण गरेका थिए ।

स्थानीय कमला केसीले आफ्ना पिताको पुण्यतिथिको स्मृतिमा आमाको इच्छाअनुसार तुलसी रोपण गरेको बताइन्। स्थानीय लक्ष्मी पौडेलले तुलसीलाई भगवान् विष्णुको अवतारका रूपमा श्रद्धा गरिने भएकाले एकादशीको दिन तुलसी रोप्न आएको उल्लेख गरिन्।

स्थानीय पण्डित हरिप्रसाद पौडेलका अनुसार तुलसीमा विभिन्न प्रकारका औषधीय गुण रहेका छन्। रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्यामा तुलसीलाई घरेलु औषधिका रूपमा प्रयोग गर्ने परम्परा रहिआएको छ।

हिन्दु धर्ममा तुलसीलाई अत्यन्त पवित्र र पूजनीय वनस्पतिका रूपमा लिइन्छ। भगवान् विष्णुको पूजा–आराधनामा तुलसी अनिवार्य मानिने धार्मिक विश्वास छ। साथै तुलसीले घर वरपरको वातावरण स्वच्छ बनाउन सहयोग गर्ने जनविश्वास पनि रहिआएको छ।

निर्णयघाट मानवसेवा धाम विकास समितिले प्रत्येक तुलसी मठका लागि रु १० हजार ५ सय सहयोग गर्ने दाताको नाम संगमरमरमा लेख्ने व्यवस्था गरेको छ। सोही कारण धार्मिक आस्था राख्ने १०८ जना दाताले आफ्नै नाममा तुलसी मठ निर्माण गरेका मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताए।

साउन महिनामा तुलसी रोप्ने परम्परा विशेष रूपमा प्रचलित रहेको छ। तुलसी मठको संरक्षण, सरसफाइ तथा नियमित पूजाआजाले धार्मिक वातावरण प्रवर्द्धन गर्नुका साथै हरियाली संरक्षणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

शहरीकरणसँगै घर–आँगनमा तुलसी मठ निर्माण गर्ने परम्परा केही घट्दै गए पनि निर्णयघाटमा स्थापना गरिएको १०८ तुलसी मठले धार्मिक पर्यटन, वातावरण संरक्षण र सामाजिक सहभागितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ तथा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले धारणा व्यक्त गरेका थिए। कार्यक्रम निर्णयघाट मानवसेवा धाम विकास समितिका अध्यक्ष शहदेव राजभण्डारीको अध्यक्षता तथा सचिव युक्त सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung