बागलुङ । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले बागलुङको बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमन गर्नुभएको छ।
आइतबार ढोरपाटन पुग्नुभएका मन्त्री लम्सालले सडकको अवस्थाबारे जानकारी लिनुभएको हो।
समस्याग्रस्त सडकका रूपमा रहेको बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले ढोरपाटन–सालझण्डी सडकअन्तर्गत बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडकलाई सहज र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
सालझण्डी–ढोरपाटन सडक निर्माणमा ढिलाइ हुनुमा ठेकेदारको कमजोरी रहेको उल्लेख गर्दै मन्त्री लम्सालले ठेक्का लागिसकेका क्षेत्रमा निर्माण कार्यलाई तीव्रता दिई यथाशीघ्र कालोपत्र गर्नुपर्ने बताउनुभयो।
ढोरपाटनमा आउने पर्यटकलाई सडकको अवस्थाले समस्या पारेको विषयमा सरकारको ध्यानाकर्षण भएको उहाँको भनाइ थियो।
समयमै निर्माण कार्य सम्पन्न गर्न तथा ठेक्का नलागेका क्षेत्रमा तत्काल ठेक्का प्रक्रिया अघि बढाउन मन्त्री लम्सालले सालझण्डी–ढोरपाटन सडक आयोजनालाई निर्देशन दिनुभएको बागलुङ क्षेत्र नं. २ का सांसद शोम शर्माले जानकारी दिनुभयो।
अनुगमनका क्रममा मन्त्री लम्सालले बुर्तिबाङ बजारका स्थानीयसँग छलफलसमेत गर्नुभएको थियो।
स्थानीयले बुर्तिबाङ बजारमा देखिएको खानेपानीको समस्या समाधान तथा बुर्तिबाङ प्रादेशिक अस्पतालको सेवा विस्तारमा आवश्यक सहयोग गर्न मन्त्रीसमक्ष माग गरेका थिए।
स्थानीयका समस्या तथा गुनासा सुनेपछि मन्त्री लम्सालले बुर्तिबाङ बजारको खानेपानी तथा प्रादेशिक अस्पतालका समस्याबारे आफू अवगत रहेको बताउँदै समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो।
















































































































































































