बागलुङमा। परम्परागत रुपमा मनाउदै आएको हरेलो पर्वलाई संरक्षण गरी संस्थागत गरिएको छ । बागलुङको प्रसिद्ध शक्तिपिठ बलेवा कालभैरव मन्दिरमा परम्परागत ‘हरेलो’ पर्वलाई बचाउन मेलाको रुपमा आयोजना गरिएको छ ।
कृषिमा प्राचीनकालदेखि चल्दै आएको संस्कृतिलाई ‘हरेलो’को रुपमा लिदै आइएको छ । बलेवा क्षेत्रमा खेती बालीमा रोगव्यादी नलागोस भन्ने कामनाका साथ खेतबारीमा ‘हरेलो’ गरी बलेवा कालभैरवमा गएर पुँजा गर्ने परम्परालाई मेलाको रुपमा मनाउन थालिएको छ ।
प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वासलाई पर्वको रुपमा मनाउन थालिएको बलेवा कालभैरव व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।
मंगलबार हरेलो मेलाको नेपाल उद्योग वाणिज्यसंघका निर्वातमान अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै ढकालले धार्मिक क्षेत्रमा निजी लगानी आवश्यक रहेको बताउनुभयो ।
निजी क्षेत्रले धार्मिक क्षेत्रको पूर्वाधारमा लगानी गर्दा धार्मिक क्षेत्रमा आउने पर्यटकलाई सहज भएको बताउदै भैरवस्थानमा केबलकार मार्फत पर्यटक ल्याउन सकिने बताउनुभयो ।
कालभैरव मन्दिरमा विगत चार वर्षदेखि मन्दिर व्यवस्थापन समितिको आयोजनामा विशेष पूजासहित हरेलो मेला लाग्दै आएको छ । उक्त परम्परागत पर्वलाई मेलामा रुपमान्तरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बतानुभयो ।
बागलुङ नगरपालिका वडा १० भकुण्डे, वडा ११ रायडाँडा, वडा १२ अमलाचौर, वडा १३ पैयुँपाटा र वडा १४ नारायणस्थान तथा जैमिनी नगरपालिका वडा १ कुश्मिसेराका बासिन्दाले पुज्दै आएको कालभैरव पछिल्लो समय धार्मिक पर्यटकको रोजाईमा पर्न थालेको छ ।
सदियौं वर्षअघिदेखि कालभैरव मन्दिरमा हरेलो पर्व मनाउने र भैरवको पूजा गर्ने चलन छ । बाइसे चौविसे राजाको पालादेखि बलेवा कोटका सबै क्षेत्रमा हरेलो पर्व मनाउने किंवदन्ती रहेकोमा पर्वलाई मेलाको रुपमा चारवर्षयता विकास गरिएको हो ।
खेतीपाती लगाएपछि किराफट्याङग्रा, मुसा र बाढी पहिरोले खेती नबिगारोस् भनेर हरेलो गर्ने गरिएको छ । हरेलोलाई मौलीक मेलाको रुपमा विकास गर्ने, आएका भक्तजनलाई सहज रुपमा पूजा गर्ने वातावरण बनाउने, पाहुनालाई सहज रुपमा भैरवस्थान लैजाने, कलाकारबाट गीत संगीत प्रस्तुति गर्ने लक्ष्य राखिएको छ ।
एक दिन लाग्ने मेलामा ८ लाख बढी खर्च हुने समितिको अनुमान छ । हरेलोको दिन खेत तथा बारीमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिने काठको टुक्रा राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा झुण्ड्याएर पुँजा आजा गर्ने चलन छ ।
हरेलो गरेमा वर्षायाममा रोपेको धान, कोदोमा मुसा, किरा रोग आदी नलाग्ने, अन्न राम्रो उत्पादन हुने विश्वास गरिन्छ ।
















































































































































































