२ भाद्र २०८३, मंगलवार

 

आईपीओको चारो, सेकेन्डरीको पासो ?

बागलुङ । कोभिडपछि नेपाली शेयर बजारमा नयाँ लगानीकर्ताको ठूलो मात्रामा सहभागिता देखियो । विशेषगरी आईपीओ मार्फत बजारमा प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रुपमा बढ्दै गयो ।

अहिले तीमध्ये धेरैजना आईपीओमा मात्र सीमित नरही सेकेन्डरी मार्केटमा समेत सक्रिय हुन थालेका छन् । यसले पूँजी बजारमा लगानीकर्ताको पहुँच र सहभागिता दुवैलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

तर, शेयर बजारमा प्रवेश गर्नुअघि धेरैजसो नयाँ लगानीकर्ताको एउटै प्रश्न हुन्छ “कुन शेयर किन्ने ?

तर मेरो विचारमा सही प्रश्न त्यो होइन । सही प्रश्न हो “शेयर बजारमा लगानी गर्नुअघि मैले के–के बुझ्नुपर्छरु” शेयर बजार केवल आज बजार बढ्यो कि घट्यो भनेर हेर्ने ठाउँ होइन । यो कम्पनी, बजार, अर्थतन्त्र, मनोविज्ञान र आफ्नै व्यवहारलाई बुझ्ने यात्रा हो ।

त्यसैले लगानीकर्ताले बजारप्रति गहिरो ज्ञान राख्नु आवश्यक छ । केबल आज बजार किन बढ्यो वा घट्यो भन्ने एउटा कारण मात्र खोज्नु उपयुक्त हुँदैन । यदि तपाईं बजारमा नयाँ हुनुहुन्छ भने, हरेक बुल र बियर चक्र किन आउँछ भन्ने कारण बुझ्ने प्रयास गर्नुपर्छ ।

मार्केटमा कोभिड–१९ जस्ता असाधारण घटनाहरु, ब्याजदर, तरलता, मौद्रिक नीति, सरकारी नीति, राजनीतिक अस्थिरता, नियामकीय निर्णय, कम्पनीहरुको वित्तीय अवस्था, रेमिटेन्स, मार्केट क्यापिटलाइजेसन र जीडीपी, लगानीकर्ताको मनोविज्ञान लगायत धेरै पक्षहरुले संयुक्त रुपमा ठूलो भूमिका खेल्ने गर्छन् ।

उदाहरणका लागि लकडाउनको समय अत्यधिक तरलता, कम ब्याजदर र वैकल्पिक लगानीका अवसर सीमित हुँदा ठूलो रकम सेयर बजारमा प्रवेश गर्‍यो, जसले बुल रनलाई बलियो बनायो । पछि कोभिडको असर कम हुँदै गयो । व्यापार व्यवसाय नियमित रुपम चाल्न थाले ।

सर्वसाधारणको दैनिकी सामान्य बन्दै गयो । त्यसपछि कर्जाको माग पनि बढ्न थाल्यो र ब्याजदर वृद्धि, तरलता अभाव र राष्ट्र बैंकको कसिलो नीतिले सेयर बजारमा थप दबाब सिर्जना भयो ।

पहिले बजारलाई बुझ्नौ

बजार बुझ्नु भनेको केवल नेप्सेको इन्डेक्स हेर्नु होइन । बजार कुन ट्रेन्डमा छ ?  बुलिस हो, बियरिस हो कि साइडवेज  ? सपोर्ट र रेजिस्टेन्स कहाँ छन् ? भोल्युमले के संकेत गरिरहेको छ ?

मुभिङ एभरेज, आरएसआई, एमएसीडी, ईएमए, फिबोनाची जस्ता टेक्निकल टुल्सले बजारको अवस्था बारे के भनिरहेका छन् रु यी आधारभूत कुरा बुझ्न जरुरी हुन्छ । यी पनि सेयर बजारका महत्वपूर्ण टुलहरु हुन् । यद्दपि, टेक्निकल एनालाइसिस मात्र पर्याप्त हुँदैन ।

अब आउँछ फन्डामेन्टल एनालाइसिस

तपाईंले लगानी गर्न लागेको कम्पनीले पैसा कसरी कमाइरहेको छ ? यसको प्रफिट बढिरहेको छ कि घटिरहेको छ ?  ईपीएस, डीपीएस, आरओई, पीरई, बुक भ्यालु कस्तो छर ? कम्पनीको डेट कति छरु म्यानेजमेन्ट कस्तो छ ? कम्पनी कुन सेक्टरमा छ र त्यो सेक्टरको भविष्य कस्तो देखिन्छ ?

पिटर लिन्चको प्रसिद्ध विचार छ, “नो ह्वाट यु ओन”

अर्थात्, आफूले किनेको कम्पनी किन किनेको हो भन्ने नै थाहा छैन भने त्यो लगानीभन्दा बढी अनुमान हुन सक्छ । राम्रो कम्पनी भेट्दैमा लगानी पूरा हुँदैन। कति मूल्यमा किन्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

बेन्जामिन ग्राहमले बजारलाई छोटो अवधिमा मानिसहरुको भोटिङ मेसिन र लामो अवधिमा वेइटिङ मेसिन जस्तो मानेका थिए। छोटो समयमा बजारले कम्पनीको मूल्यबारे धेरै फरक धारणा बनाउन सक्छ, तर लामो समयमा कम्पनीको वास्तविक पर्फर्मेन्सले आफ्नो प्रभाव देखाउँदै जान्छ।

त्यसैले राम्रो कम्पनी खोज्नु मात्र होइन, उचित मूल्य र उचित समय बुझ्न पनि आवश्यक हुन्छ ।

मार्केट साइकोलोजी (बजार मनोविज्ञान) बुझौ

फियर, ग्रिड, होप र फोमोले बजारमा ठूलो भूमिका खेल्छन् । अरु सबै बेच्दा हामी किन डराउँछौँ ? अरु सबै किन्दा हामी किन लोभिन्छौँ ? प्रफिट भएपछि अझै बढोस् भन्ने चाहना किन हुन्छ ? लस भएपछि “अब त फर्किन्छ” भनेर किन बसिरहन्छौँ ? यिनै भावनाले धेरैपटक राम्रो स्ट्राटेजी हुँदाहुँदै पनि गलत निर्णय गराउँछन् ।

जेसी लिभरमोरको एउटा चर्चित भनाइ छ, “मार्केट्स आर नेभर रङ्ग – ओपिनियन्स अफ्टेन आर”

बजार हाम्रो ओपिनियन अनुसार चल्नुपर्दैन। त्यसैले बजारसँग बहस गरेर होइन, बजारलाई पढेर निर्णय गर्न सिक्नुपर्छ। यससँगै अर्को महत्वपूर्ण कुरा आफ्नो इगो हो । शेयर बजारमा आफ्नो अनुमान सही साबित गर्नुभन्दा आफ्नो पुँजी सुरक्षित राख्नु महत्वपूर्ण हुन्छ ।

बजारले आफूले सोचेअनुसार चलेन भने आफ्नो धारणा परिवर्तन गर्न सक्ने क्षमता पनि एउटा ठूलो स्किल हो। त्यसैले ट्रेडिङ साइकोलोजी बिना राम्रो स्ट्राटेजी पनि कमजोर हुन सक्छ।

अनुसास, धैरेता, इमोशनल कन्ट्रोल र सही डिसिजन मेकिङ बजारमा लामो समय टिक्नका लागि अत्यन्त आवश्यक हुन्छन् । वारेन बफेटले पनि बर्कशायर ह्याथवेका आफ्ना पत्रहरुमा धैरेतालाई ठूलो लाभका रुपमा जोड्दै आएका छन् ।

रिस्क म्यानेजमेन्ट गरौं

शेयर किन्नुअघि “कति कमाउँछु ?” भनेर सोच्नुभन्दा पहिले “कति गुमाउन सक्छु ?” भनेर सोच्नुपर्छ । पोजिसन साइजिङ, स्टप–लस, पोर्टफोलियो डाइभर्सिफिकेसन र क्यास म्यानेजमेन्ट जस्ता विषय बुझ्न जरुरी हुन्छ । किनकि बजारमा पहिलो उद्देश्य सधैँ ठूलो प्रफिट कमाउनु मात्र होइन, क्यापिटल बचाउनु पनि हो । नक्सा नहेरी यात्रा सुरु गरेजस्तै रिस्क म्यानेजमेन्ट नबुझी बजारमा प्रवेश गर्नु पनि जोखिमपूर्ण हुन्छ ।

साथै, यससँगै ट्रेन्ड र मार्केट साइकल बुझ्नुपर्छ । बुलिस मार्केटमा काम गर्ने स्ट्राटेजी साइडवेज मार्केटमा काम नगर्न सक्छ। साइडवेज मार्केटमा काम गर्ने स्ट्राटेजी बेयरिस मार्केटमा प्रभावकारी नहुन सक्छ । त्यसैले बजारको अवस्था परिवर्तन हुँदा आफ्नो स्ट्राटेजी पनि एडाप्ट गर्न सक्नुपर्छ ।

आज बजार २६००–२७०० को आसपास साइडवेज छ भन्दैमा हिजो बुलिस मार्केटमा काम गरेको स्ट्राटेजी जबर्जस्ती लागू गरिरहनु बुद्धिमानी होइन । ट्रेन्डलाई सम्मान गर्नुपर्छ । आफ्नो इगोलाई होइन ।

सेक्टर र म्याक्रोइकोनोमी

ब्याजदर, तरलता, मौद्रिक नीति, मुद्रास्फीति, नियामक निकाय र अर्थतन्त्रको चक्रा जस्ता कुराले शेयर बजारमा ठूलो प्रभाव पार्न सक्छन् । कहिलेकाहीँ कम्पनी राम्रो हुँदाहुँदै पनि बजारको खराब प्रदर्शनका कारण त्यसको शेयर मूल्य दबिन सक्छ । त्यसैले केवल कम्पनी मात्र होइन, सेक्टर र सम्पूर्ण बजारको वातावरण पनि हेर्नुपर्छ । त्यसैगरी सेक्टर रोटेसन बुझ्नु पनि महत्वपूर्ण हुन्छ ।

कुन सेक्टरमा पैसा प्रवेश गरिरहेको छरु कुन सेक्टरबाट पैसा बाहिरिँदैछरु कहाँ भोल्युम बढिरहेको छरु मार्केट लिडरसिप कुन सेक्टरले गरिरहेको छ रु बजारमा हरेक समयमा एउटै सेक्टरले नेतृत्व गर्दैन । त्यसैले बजारको पैसा कहाँ घुमिरहेको छ भन्ने बुझ्न सक्ने क्षमता पनि एउटा महत्वपूर्ण एड्भान्टेज हुन सक्छ।

हामी ट्रेडर हो कि इन्भेस्टर ?

हामी सर्ट–टर्म ट्रेडर हो ?  स्विङ ट्रेडर होरु पोजिसनल ट्रेडर होरु मिड–टर्म इन्भेस्टर हो कि लङ–टर्म इन्भेस्टर ? आफ्नो टाइमफ्रेम नै स्पष्ट छैन भने अरुको इन्ट्री हेरेर आफ्नो एक्जिट गर्ने गल्ती हुन सक्छ । त्यसैले अरुले के गरिरहेका छन् भन्दा पहिले आफूले कुन प्रकारको बजार सहभागी बन्न खोजेको हो भन्ने स्पष्ट हुनुपर्छ । नयाँ लगानीकर्ताले यी सबै कुरा एकैदिन सिक्नुपर्दैन। तर क्रमसँग सिक्नुपर्छ ।

फन्डामेन्टल एनालाइसिस, टेक्निकल एनालाइसिस, मार्केट साइकोलोजी, रिस्क म्यानेजमेन्ट, ट्रेन्ड एन्ड मार्केट साइकल, सेक्टर एन्ड म्याक्रोइकोनोमिक एनालाइसिस, आफ्नो स्ट्राटेजी र इन्भेस्टमेन्ट प्लान, अनि अन्त्यमा डिसिप्लिन र पेशेन्स हुनुपर्छ । यी सबै कुरा बजारमा टिक्नका लागि आवश्यक आधारहरु हुन् ।

ज्ञानले हामीलाई बजारमा प्रवेश गराउँछ, तर अनुसासनले बजारमा टिकाइराख्छ भन्ने कुरा सधैँ सम्झनुपर्छ । प्रफिट पछाडि मात्र दौडिनु हुँदैन। पहिले आफ्नो प्रोसेस सही बनाउनुपर्छ । बजारमा हरेक दिन अवसर हुँदैन। कहिलेकाहीँ केही नगर्नु नै सही निर्णय हुन्छ । हरेक दिन ट्रेड गर्नैपर्छ भन्ने छैन । राम्रो सेटअप नआएसम्म पर्खन सक्ने क्षमता पनि एउटा स्किल हो ।

अन्ततः शेयर बजार भनेको “कुन शेयर किन्नेरु” भन्ने प्रश्न मात्र होइन। यो कम्पनी बुझ्ने कला हो, चार्ट पढ्ने सीप हो,ट्रेन्ड चिन्न सक्ने क्षमता हो, मार्केट साइकोलोजी बुझ्ने बुद्धि हो, रिस्क नियन्त्रण गर्ने अनुशासन हो, र सबैभन्दा ठूलो कुरा आफ्नै मनलाई नियन्त्रण गर्ने यात्रा हो ।

त्यसैले, आईपीओ अवसरको सुरुवात हुन सक्छ, तर सेकेन्डरी मार्केटमा प्रवेश गरेपछि ज्ञान, अनुशासन र धैर्य नै वास्तविक सुरक्षा हुन् । आईपीओमा परेको १० कित्ताको खुसीलाई सेकेन्डरी मार्केटमा बिना बुझाइ थप लगानी गर्ने लाइसेन्स नबनाऔँ । बजारले सबैलाई अवसर दिन्छ। तर नबुझी प्रवेश गर्नेलाई त्यही अवसर घाटाको पाठ पनि बन्न सक्छ ।

आईपीओलाई सुरुवात बनाऔँ, सेकेन्डरी मार्केटलाई बुझेर यात्रा गरौँ। चारो देखेर होइन, बजार बुझेर लगानी गरौँ। बजारले पैसा कमाउने अवसर धेरैपटक दिन सक्छ । तर आफ्नो लगानी गुमाएपछि त्यो अवसर समात्ने क्षमता नै हराउन सक्छ ।

लेखक सेयर बजारका लगानीकर्ता हुन् ।

आर्थिक न्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung