रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएका बेला रोटरी क्लब अफ ज्ञानेश्वरले बाढीपीडितका लागि करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ।
चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीहरू प्रभावित हुनुका साथै ठूलो जनधनको क्षति भएको अवस्थामा क्लबले सामाजिक उत्तरदायित्व र मानवीय सेवाअन्तर्गत राहत सामग्री पठाएको हो।
क्लबका अनुसार प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न ‘हामी नेपाल’ संस्थामार्फत रसुवामा राहत सामग्री पठाइएको हो। राहत सामग्रीमा खानेपानी, चिउरा, चाउचाउ, भुजा, दालमोठ, नुन, खानेतेल, सेनिटरी प्याड, टन्ना, रुमाल तथा अत्यावश्यक औषधिलगायत सामग्री रहेका छन्।
यसैगरी समाजसेवी दिल विकास राजभण्डारीले बाढीपीडितका लागि २५ कार्टुन खानेपानी सहयोग गरेका छन्।
राहत सामग्री संकलन तथा प्रभावित क्षेत्रमा पठाउने कार्यमा रोटरी क्लब अफ ज्ञानेश्वरका अध्यक्ष सोनी श्रेष्ठ, संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठ, सर्भिस प्रोजेक्ट चेयर वर्षा पालिखे, इनभाइरमेन्ट चेयर शर्मिला जोशी र कोषाध्यक्ष लेलिना भट्टराईको सहयोग तथा समन्वय रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन्।
अध्यक्ष श्रेष्ठले प्राकृतिक विपत्तिका बेला सबै संघसंस्था, सामाजिक अभियन्ता तथा सक्षम नागरिकले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताइन्। उनले मानवीय संवेदनशीलता नै समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरिन्।
रोटरी क्लब अफ ज्ञानेश्वरकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठका अनुसार विपत्तिको घडीमा पीडित नागरिकको साथमा उभिन क्लबले मानवीय सहयोग अभियान सञ्चालन गरेको हो।
हाल रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यहरू जारी छन्। सरकारले बाढीबाट प्रभावित तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
















































































































































































