६ भाद्र २०८३, शनिबार

 

बागलुङमा अव्यवस्थित पार्किङले पैदल यात्रीलाई समस्या

बागलुङ । बागलुङ बजारमा अव्यवस्थित पार्किङका कारण पैदल यात्री तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

बजारका मुख्य सडक, चोक तथा पैदल हिँड्ने स्थानमै सवारीसाधन पार्किङ गरिँदा पैदल यात्रुलाई सडकबाटै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ ।

जिप, ट्याक्सी, मोटरसाइकललगायतका सवारीसाधन जथाभावी पार्किङ गर्दा सडक साँघुरिनुका साथै सवारी आवागमनमा समेत समस्या देखिएको छ ।

विशेषगरी व्यस्त बजार क्षेत्रमा पैदल यात्रु र सवारीसाधन एकै ठाउँबाट आवतजावत गर्नुपर्ने अवस्था हुँदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ ।

बागलुङ बजारमा पार्किङ व्यवस्थापनको विषय लामो समयदेखि चर्चामा रहे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

हाल जिपलगायतका साना सवारीसाधन बागलुङ नगरपालिका–२ स्थित जिपपार्कमा पार्किङ हुँदै आएका छन् भने ट्राफिक चोक आसपास ट्याक्सी पार्किङ हुने गरेको छ ।

साना सवारीलाई चिप्लेटी बसपार्कबाट सञ्चालन तथा पार्किङ गर्ने तयारीसमेत अघि बढाइएको छ ।

स्थानीयका अनुसार पार्किङका लागि निश्चित स्थान तोकेर सडक तथा पैदलमार्गमा सवारी रोक्न कडाइ गर्न आवश्यक छ ।

पैदल यात्रीको सहज आवागमनका लागि फुटपाथ खाली राख्ने, पार्किङ क्षेत्र छुट्याउने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ ।

बजारको बढ्दो सवारी चापसँगै पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउन नसके आगामी दिनमा समस्या अझ बढ्ने देखिन्छ ।

त्यसैले नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थित पार्किङ क्षेत्र सञ्चालन तथा सडक र पैदलमार्ग अतिक्रमण रोक्न तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

तस्वीर :  ईपरी न्युज बिजय राना

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung