बागलुङ । अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा नजिकै सडक बगाएपछि आइतबारदेखि बागलुङ–म्याग्दी–मुस्ताङ–पोखरा जोड्ने सडकखण्डमा यातायात ठप्प भएको छ ।
अविरल वर्षापछि आएको बाढीले सहस्रधारा नजिकै सडकको ठूलो हिस्सा बगाएको छ । पर्वततर्फको मालढुंगा पुलमा समेत क्षति पुगेपछि आइतबारदेखि यस सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।
सडक बगाएपछि मालढुंगा हुँदै पोखरा जाने यात्रु तथा सवारीसाधनले बेनी बजार भएर वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता भएको छ ।
वैकल्पिक बाटो प्रयोग गर्दा यात्रा अवधि बढ्नुका साथै बिरामी तथा अत्यावश्यक सामान ढुवानीमा थप खर्च लाग्ने भएको छ ।
यस्तै, पर्वतको पाङ दमुवा खोलामा आएको बाढीले आइतबार बिहान करिब ८ बजे दुई घर बगाएको छ । बाढीले पाँच वटा बंगुरसमेत बगाएको बताइएको छ ।
पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजारमा समेत बाढीले ठूलो क्षति पु-याएको छ ।गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार बाढीका कारण ६६ घरमा क्षति पुगेको छ भने २५ घर उच्च जोखिममा रहेका छन् ।
उता, बागलुङमा अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
लगातारको वर्षाका कारण बागलुङ, पर्वत र म्याग्दीका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले जनजीवन प्रभावित बनेको छ ।
सडक तथा पुलमा क्षति पुग्दा यातायात सेवा प्रभावित भएको छ भने कतिपय बस्ती जोखिममा परेका छन् ।
सडक तथा पुलमा भएको क्षतिको विवरण संकलन तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
















































































































































































