१४ बैशाख २०८१, शुक्रबार

 

लक्ष्मीको विकास यात्रा

बागलुङ नगरपालिकाका १४ वटा वडा मध्ये वडा अध्यक्षमा निर्वाचित लक्ष्मी बास्कोटा भने एक्ली महिला वडा अध्यक्ष हुन् । उनको अध्ययन, राजनीतिक सक्रियता तथा बौद्धिक ज्ञानको सम्पूर्ण उर्जा अहिले उनले ३ नं वडामा लगाएकी छिन् ।

महिला आन्दोलनमा पनि लामो समयदेखि सक्रिय बास्कोटा आफ्नो र नगरपालिकामा महिलामाथि हुने विभेदको अन्त्य र समतामुलक समाजको लागि क्रियाशिल छिन् । लामो समयदेखि स्वच्छ छविको व्यक्तित्व निर्माण गरिएकी बास्कोटाको वडा अध्यक्षको भूमिकामा आफूलाई कसरी खरो रुपमा उतार्छिन त्यो भने हेर्न बाँकी छ । बनपामा उनी लगायत केही वडा अध्यक्षमाथि जनताको धेरै अपेक्षा रहेको देखिन्छ ।

बागलुङ नगरपालिका ३ बाट निर्वाचित बास्कोटाको काम गर्ने शैली अरु वडा कार्यालयहरु भन्दा फरक पनि छ । स्थानीय तहको जिम्मेवारी पाएकी वडा अध्यक्षको साहस र हिम्मतका कारण अहिले बानपा ३ अरु वडा कार्यालयभन्दा फरक ढंगबाट अगाडि बढेको छ । बनापा ३ वडाको टिम मजबुत भएका कारण पनि उनको वडाको योजना र काम गर्ने शैली अरु भन्दा फरक र प्रविधिमैत्री भएको हो । प्रविधिको प्रयोग गर्दै वडाको विकासमा लागेकी बास्कोटा जनमोर्चाबाट निर्वाचित भएकी हुन् ।

अन्य वडाभन्दा फरक काम
बागलुङ नगरपालिकाका अन्य वडा कार्यालयभन्दा आफ्नो वडा कार्यालयले फरक काम गरेको उनको दाबी छ । बागलुङमा रहेका १४ वडा कार्यालयहरु मध्ये व्यवस्थित र प्रविधि मैत्री वडाका रुपमा आफूले वडा नं ३ लाई स्थापित गरेको उनले बताइन् ।सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट हुन्छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाएका छौं उनले भनिन् । व्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाट शुरु गरेका छौं यो अरु वडा कार्यालयको भन्दा पृथक छ वडा अध्यक्षले बनिन् ।

बनपा ३ अन्य वडा कार्यालय भन्दा क्षेत्रफलको हिसाबले ठूलो र भौगोलिक हिसाबले गाउँ र शहर रहेको बताउँदै बास्कोटाले गाउँलाई कृषि क्षेत्रका रुपमा विकास गर्दै बजारलाई कृषि क्षेत्रको बजारीकरणको रुपमा विकसित गर्ने योजना साथ आफू लागेको बताईन् ।

वडा कार्यालय गत आव ०७४।०७५ मा विभिन्न विकासे कामहरु गरेको उनको तर्क छ । जस अन्तरगत सडक कालोपत्रे, नयाँ पक्की नाली निर्माण, पैदल मार्ग निर्माण, कच्ची नयाँ ट्रयाक ओपन, मोटरबाटो मर्मत तथा स्तरोन्नती, पहिरो नियन्त्रण तथा ग्याबिन, छेकबार, सिचाई कुलो,सामुदायिक भवन निर्माण, मन्दिर मर्मत, कम्पाउण्ड निर्माण, सार्वजनिक शौचालय निर्माण, विद्यालय भवन निर्माण, खानेपानी ,कुवा निर्माण, खेलमैदान निर्माण इत्यादी कामहरु गरेको उनले बताईन् ।

त्यस्तै वडा कार्यालयले गत आवमा विभिन्न शिर्षकमा २ हजार ५ सय १३ सिफारिस गरेको जनाएको छ । नागरिकता ३९६, नाता प्रमाणिकरण २८४, चारकिल्ला सिफारिस ४३१, घरबाटो सिफारिस १२३, नामसारी सिफारिस ४३, वैदेशिक (अंग्रजी) सिफारिस ३८१ र अन्य सिफारिसमा ८५५ गरेको बताइन् ।

सिफारिस दस्तुर तर्फ वडा कार्यालयले सडक मर्मतमा एक हजार, नाता प्रमाणिकरणमा ६ हजार ९ सय, सम्पत्ति मुल्याङ्कनमा १ लाख ७९ हजार ३ सय ४२, पंजिकरण १० हजार ९ सय,बहाल कर ६ हजार २ सय ८४ र अन्य सिफारिसमा ५ लाख ७७ हजार ५ सय ६६ र लिलामबाट ४५ हजार ५ सय गरी कुल ८ लाख २७ हजार ४ सय ९२ राजश्व संकलन गरेको छ ।

सामाजिक सुरक्षा भत्ता बापत ९ लाख ४० हजार २ सय ६१ वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
गत वर्ष भूकम्प पीडितहरुको लाभाग्राहीमा १३०ले पहिलो किस्ता, २७ ले दोस्रो र ११ जनाले तेस्रो किस्ता लिएको वडा कार्यालयले जनाएको छ । गत आवमा जनता आवास कार्यक्रममा २ घर निर्माण भएको छ । कुल ५४ योजनामा ५३ योजना सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले यो आव ०७५।०७६ मा पनि ४८ योजनाहरु अगाडी सारेको छ । जसमा अधिकाश योजनाहरु सम्झौता भइसकेको वडा अध्यक्ष बास्कोटाले बताइन । कुल एक करोड ६० लाखको योजनाहरु वडा कार्यालयबाट संचालन हुने उनले बताइन् । जसमा वडा स्तरीयबाट ७२ लाख बराबरको योजना र नगर स्तरीयबाट ८८ लाख बराबरको योजनाहरु तर्जुमा भएको उनले बताइन् ।

संघीयता  टिक्न गाह्रो छ ।
वडा अध्यक्ष लक्ष्मी बास्कोटाले आर्थिक भारको कारण संघीयता टिक्न गाह्रो   हुने दाबी गरेकी छिन । जनमोर्चाबाट निर्वाचित बास्कोटाले आर्थिक व्यवस्थापनमा देखिएको समस्याका कारण संघीयता ढिलो चाँडो खारेज हुने दाबी गरिन् ।

जनमोर्चाले जनताका अधिकार विकेन्द्रिकरण हुनुपर्ने माग हिजोदेखि नै गरेको र अहिले पनि त्यही अडानमा रहेको बताउँदै नेपालजस्तो सानो भौगालिक अवस्था एकनास नभएको देशमा संघीयता सफल हुन नसक्ने उनको तर्क छ ।


संघीयताले दिएको स्थानीय तह र त्यही स्थानीय तहमा जननिर्वाचित भएर कुर्सीमा बस्दा पनि संघीयताको विरोध भन्ने हाम्रो प्रश्नमा उनले जनमोर्चाले जनताका अधिकार विकेन्द्रिकरण गर्नुपर्नेको विरोध नगरेको बताउँदै प्रदेश सरकार अनावश्यक रहेको टिप्पणी गरिन् ।
‘प्रदेशमा अहिले आर्थिक व्यवस्थापन हुन नसक्दा किचलो शुरु भएको छ । प्रदेश सांसदहरु नै संघीयता नटिक्ने बताउदै आउनु भएको छ । प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको छ ’ उनले भनिन् ।

प्रदेश सरकार देशलाई आर्थिक भार थप्ने काम मात्रै हो । केन्द्रिय सरकार र स्थानीय सरकार मात्र भए पुग्ने थियो तर यहाँ संघीयताका नाममा देशलाई सिध्याउने काम भयो बास्कोटाले भनिन् ।

प्रदेश सरकार कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने कुरा अझै पनि कतिपय प्रदेशमा समस्या देखिएको छ । जिल्लाहरुमा समान रुपमा बजेट विनियोजन नभएको भन्दै किचलो शुरु भएको छ यस्तो अवस्थामा संघीयता टिक्न मुस्किल छ बास्कोटाले भनिन् ।संघीयताको नाउमा देशलाई टुक्राउने प्रत्यन्त भएको भन्दै उनले हतारमा गरेको निर्णय सच्चाउनुपर्ने समेत बताईन् ।

यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्