३ जेष्ठ २०८१, बिहीबार

 

चालिस लाखको स्वास्थ्य उपकरण प्रदान

बागलुङ/ गलकोट समाज जापानले यहाँका १२ वटा स्वास्थ्य संस्थालाई चालिस लाख बढीको स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरेको छ । हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य ११ गाविसका स्वास्थ्य चौकीलाई गरि चालिस लाख २८ हजारको उपकरण प्रदान गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेल र गलकोट समाज जापानका अध्यक्ष हर्क थापाले ति उपकरण तथा सामाग्री हस्तान्तरण गर्नुभयो ।

जसमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई सबैभन्दा बढी रु. २९ लाख २८ हजार मुल्य बराबरका उपकरणहरु दिइएको छ । बाँकी गलकोटका ११ गाविसमा रहेका स्वास्थ्य चौकीलाई रु. एक लाख मुल्यका स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरिएको समाजका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

उपकरण पाउने स्वास्थ्य चौकीमा हटिया, मल्म, पाण्डवखानी, काँडेबास, रिघा, दुदिलाभाटी, नरेठाँटी, हिल, तारा, अर्गल र अमरभूमि रहेका छन् । विभिन्न २३ प्रकारका उपकरणहरु प्रदान गरिएको समाजले जनाएको छ । जसमा (भिडियो एक्स्रे), (एक्स्रे), (इसिजि), (निबुलाइजर), (प्रसूति बेड) लगाएतका उपकरण रहेका छन् ।

‘जापानमा रहेका गलेकोटेहरुको सहयोगले यो सम्भव भएको हो, आफ्नो आम्दानीको केही अंश कटाएर गाउँठाउँको लागि योगदान गर्न खोजेका हौं’ समाजका अध्यक्ष थापाले भन्नुभयो । समाजले गत अँग्रेजी नयाँ वर्षमा जापानमा साङ्गीतिक कार्यक्रम राखेर स्वास्थ्य शिविर राख्न र उपकरण सहयोग गर्न आर्थिक सहायता जुटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्