धौलागिरी अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा नागरिक अन्तरक्रिया कार्यक्रम गलकोट नगरपालिका हरिचौरमा सम्पन्न भएको छ । गलकोट क्षेत्रका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रममा गलकोट क्षेत्रको शान्ति सुरक्षा, अमनचयन, आसन्न स्थानिय निर्वाचन लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय गलकोट हरिचौरमा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ र अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक कुमार गुरुङले आसन्न निर्वाचनलाई केन्द्रित गरि गलकोट नगरपालिका भित्र शान्ति सुरक्षा, पूर्व तयारी, प्रहरी सँग समुदायको सहकार्य लगायतको विषयमा ब्यापक अन्तरक्रिया भएको थियो ।

1
कार्यक्रममा अञ्चल प्रहरी प्रमुख गुरुङले प्रहरी कार्यालयमा स्थानिय नेताहरुको दलाली प्रवृत्तिले प्रहरी समक्ष सर्वसाधारणको सिधा पहुँच नभएको भन्दै यसमा सरोकारवाला निकाय सजक रहनुपर्ने बताउनुभएको छ । उहाँले विगतको निर्वाचनमा भन्दा यसपटक सुरक्षाकर्मीको संख्यामा उल्लेख्य थप गर्ने सरकारको तयारी रहेको समेत जानकारी दिनुभएको थियो ।
अन्तरक्रियामा ईलाका प्रहरी कार्यालयमा सुरक्षाकर्मीको संख्या वृद्वि गर्नुपर्ने, गाडीको उचित व्यवस्थापन हुनुपर्ने, निर्वाचनलाई शान्त र मर्यादित बनाउन प्रहरी र सरोकारवाला बिच समन्वय हुनुपर्ने लगायतका विषयमा सरोकारवालाले माग गरेका थिए । सो अवसरमा ईलाका प्रहरी कार्यालय गलकोटले गलकोट क्षेत्रको शान्ति सुरक्षामा खेलेको भूमिका प्रति प्रशंसा समेत गरिएको थियो ।













































































































































































































