३० बैशाख २०८२, मंगलवार

 

देशविदेशका २२ जनालाई नइ पुरस्कार

- ४ ओटा कृति लोकार्पण

वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले आज राजधानी काठमाडौमा बालबालिका सहित २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्षवाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वाषिर्क कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकारबाट वाङमय शताब्दी पुरूषको उपाधिबाट विभूषित हुनु भएको उपलक्ष्यमा नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई जरीजटित दुबोको माला लगाएर बधाई ज्ञापन गरियो । उहाँलाई प्राध्यापक शिवगोपाल रिसालले माला लगाएर वाङमय शताब्दी पुरूषको थप कीर्तिमय र दीर्घ जीवनको कामना गर्नु भएको थियो । साथै उहाँको ९८ औं शुभजन्मोत्सवका अवसरमा नइबाट उहाँलाई शुभकामना अर्पण गरिएको थियो ।

समारोहमा वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले दुई लाख रुपिया राशि र ताम्रपत्र सहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार भारतका श्रीमती विन्द्या सुब्बालाई समर्पण गर्नुभयो । विगत पाँच दशकअघिदेखि नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार समर्पण गरिएको हो । यो पुरस्कार नेपाली-गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

त्यसै गरी साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य डा.मोदनाथ प्रश्रितलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गरिएको छ । उहाँलाई नेपाली भाषासाहित्यमा छ दशकअघिदेखि अहोरात्र समर्पित रहँदै पृथ्वीनारायण शाहको नेपाल एकीकरणबारेको महत्ता जनजनमा फैलाउनका साथै संस्कृति, चित्रकला र आयुर्वेदका क्षेत्रमा समेत पुर्याएको गरिमाशाली योगदानका निम्ति सो पुरस्कार समर्पण गरिएको हो ।

सनातन हिन्दू धर्मसंस्कृतिको सर्म्बर्धन, संरक्षण र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्राध्यापक शिवगोपाल रिसाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिएको छ ।

त्यसैगरी आधुनिक नेपालको एकीकरणबाट निर्मित राष्ट्रिय भौगोलिक सिमाना तथा अखण्डताको व्यवस्थापन र सुरक्षाबारे वैज्ञानिक अनुसन्धानद्वारा जनचेतनाको अभिवृद्धि गर्राई मातृभूमिप्रति अर्पेको विशिष्ट योगदानका निम्ति बुद्धिनारायण श्रेष्ठलार्इर्र्’नइ कीर्तिनिधि पुरस्कार’ समर्पण भएको छ ।

naya

यी तीनै पुरस्कार ताम्रपत्र सहित जनही एक लाख रूपियाँ राशिका रहेका छन् ।

समारोहमा ताम्रपत्र सहित ७ जना व्यक्तित्वलाई जनही ५० हजार रूपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो । संस्कृति, ज्योतिष र तन्त्रशास्त्रका लागि डा.जगमान गुरूङलाई नइ भूपालदुर्गा पुरस्कार, नारीजागरण तथा साहित्यका लागि शान्ता श्रेष्ठलाई नइ खरा प्रसिद्धि पुरस्कार, साहित्यका लागि कञ्चन पुडासैनीलाई नइ ईश्वरवल्लभ पुरस्कार र चित्रकलातर्फ विजय थापालाई नइ यउजा पुरस्कार समर्पण गरियो ।

त्यसै गरेर मुलुक बाहिर बसेर नेपाली भाषाको सेवा गर्ने सुरेशजङ्ग शाहलाई नइ गणेशदुर्गा पुरस्कार, काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यको सेवाका निम्ति चितवनका गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा नइ बुलु शर्मा पुरस्कार र रुपन्देहीका अजम्बरध्वज खातीलाई नइ धनरूप पुरस्कार समर्पण गरिएको छ ।साथै साहित्य, चलचित्र तथा सङ्गीतका लागि धीरेन्द्र प्रेमर्षिलाई २५ हजार रूपियाँ राशिको नइ खरा गौरव पुरस्कार र नाटक, समाजसेवा तथा मनोविज्ञानका लागि सुश्री नानी थापालाई १५ हजार रूपियाँका साथ नइ खरा पौरख पुरस्कार समर्पण गरियो ।

नइ प्रकाशनले आआफ्नो अध्ययनमा समर्पित भई विविध वाङ्मयिक गतिविधिमा प्रतिष्ठा आर्जन गर्ने १५ बर्षसम्मका ६ जना बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रूपियाँ राशि सहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरेको छ । यसरी पुरस्कृत हुनुहुनेहरूमा बहुआयामिकतर्फ शाश्वत घिमिरे, साहित्यतर्फ अर्चना उप्रेती, चित्रकलातर्फ सौजन्य श्रेष्ठ, गायनतर्फ किम्ती श्रेष्ठ, नृत्यतर्फ श्रीया शाक्य र खेलकुदतर्फ कमलबहादुर थापा मगर रहेका छन् ।

त्यसै गरेर १० वर्ष उमेर समूहका एञ्जेल राईलाई गायन तथा सम्राज्ञीश्री बस्नेतलाई नृत्यका लागि ताम्रपत्रका साथ ७ हजार रूपियाँ राशि सहित नइ देरुनीखपु कोपिला पुरस्कार र ५ वर्षीय प्रिन्सा विश्वकर्मालाई ताम्रपत्रका साथ ५ हजार रूपियाँ राशि सहित नइ देरुनीखपु चिचिला पुरस्कारसमर्पण गरिएको छ । समारोहमा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट डा.मोदनाथ प्रश्रितको चित्रात्मक कृति ‘मेरो चित्रकारिता’, नरेन्द्रराज प्रसाईद्वारा लिखित, नमीता सिंहद्वारा अनुदित र अनुराज जोशीबाट सम्पादित Scaling Thange तथा नरेन्द्र्रराज प्रसाईद्वारा लिखित, अनुकृतिकाद्वारा अनुदित र अनुराज जोशीबाट सम्पादित The Great Poet of Nepal किो लोकार्पण भयो ।

श्रीमती इन्दिरा प्रसाईको सभातित्वमा सञ्चालित सो समारोहमा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, भारतका श्रीमती विन्द्या सुब्बा, साहित्यकार तथा पूर्वमन्त्री डा. मोदनाथ प्रश्रति र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो । समारोहमा इन्दिरा प्रसाईबाट कविता समेत वाचन गरिएको यियो भने पुरस्कृत बालबालिकाद्वारा कविता वाचन, नृत्य र गायन प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung