मोटर बाटो स्तरोन्नतिका क्रममा पहिरो जाँदा घर पुरिँदा विस्थापित गलकोटकी मनकुमारी चोखाललाई सहयता रकम प्रदान गरिएको छ ।
गलकोट नगरपालिका वडा नम्बर–७ मल्म आँगाखेतकी ६३ बर्षीय उनलाई बागलुङ बजारमा संकलन गरिएको ४० हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
आफ्नो जग्गा, श्रीमान र सन्तानसमेत नभएकी उनी २०५६ सालमा सुकुम्बासी आयोग मार्फत पाएको जग्गामा अस्थायी कच्चि घर भनाएर बस्दै आएकी थिईन् । श्रीमानको ९ बर्षपहिले नै मृत्यु भएको थियो । तिन हप्ता अघि घरपछिबाट पहिरो झरेपछि घरभएको पुरै जमिन जोखिमा छ । घर क्षेतीग्रस्त छ । सामान समेत काम नलाग्ने भएका थिए ।
मल्म–पाण्डवखानी–रमुवा मोटरबाटो स्तरोन्नतिका क्रममा फालिएको ढुंगा माटो र बाढी पहिरोले समस्या निम्त्याएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङ, रोटरी क्लब अफ बागलुङ, लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ सिटी, बागलुङ उद्योग बाणिज्य संघ बागलुङ, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा, नयाँ विश्व डटकम, सिवाइसी साकोस बागलुङ, बागलुङ बहुद्देश्यीय सहकारी संस्था लि बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ लगायत अन्य समाजिक व्यक्तित्वबाट संकलित रकम प्रदान गरिएको हो ।
सहायता रकम प्रदान गर्दै बागलुङका प्रहरी प्रमुख एसपी चन्द्रकुवेर खापुङले प्राकृतिक विपत्तिमा परी सहारा बिहीनलाई समाजमा पुनःस्थापन गर्नु उच्च मानवीय सोच र धर्म समेत भएको बताए ।
सहयोग रकम बुझ्दै चोखालले आफुलाई दुःखमा साथ दिने सवै आफ्ना लागि भगवान सरह भएको बताईन् । उनले गहभरी आँशु पारेर निकै भावुक हुँदै सहयोगी मनलाई धन्यवाद थिइन् । ‘कोहि नभएकी मलाई आफन्त र समाजले सहयोग गरेर बाँकी जीवन बाँच्न सान्वना दिनुभएको छ’, आँशु पुछ्दै उनले भनिन्, ‘यो मेरो पुनर्जीवन हो, तपाईहरु सवै मेरा भगवान हुनुहुन्छ ।’
गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचाले सहाराविहिनलाई सहयोग गरेर पुनर्वासमा सहयोग गर्ने दातालाई धन्यवाद ज्ञापन गरिन् । उनले गलकोट नगरपालिकाबाट पनि सहयोग गर्ने प्रतिवद्धता गरिन् ।
गलकोट नगरपालिका वडा नम्बर–७ का अध्यक्ष टिकाबहादुर थापाले मनकुमारीका लागि जापानमा समेत सहयोग जुटेको उल्लेख गर्दै उनको पुनस्र्थापनामा उपयुक्त विकल्पको खोजी हुने बताए । ‘उहाँलाई घर बनाईदिन जापानका साथीहरुले ५ लाख भन्दा बढी रकम उठाएका छन्’, थापाले भने, ‘स्थानीय रुपमा जग्गा व्यवस्थापन गरेर घर बनाउने सल्लाह भएको छ ।’
उनले अगाडी थपे, ‘बाध्यतावश साहराविहिन अरुपनि हुनसकिन्छ, त्यसलाई समेत ध्यानमा राखेर सार्वजनिक उपयोग हुने गरि सोचेका छौँ ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर –९ का अध्यक्ष तेज बहादुर थापा, गलकोट नगरपालिका कार्यकारी अधिकृत प्रदीप चन्द्र सुवेदी, सहयोग अभियानका अभियन्ता नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रस सोसाइटी मल्म काँडेबास उपशाखाका सभापति डोल बहादुर केसी, बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, गलकोट सूचना तथा सञ्चार सहकारीका सचिव वीर बहादुर चोखालले मन्तव्य राखेका थिए ।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्बर सातका अध्यक्ष टीका बहादुर थापाको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा उपसभापति राजेन्द्र आचार्यको स्वागत मन्तव्य र गलकोट नगरपालिका वडा नम्बर सात र नौ का सचिव महेन्द्र शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।
चोखाललाई यस अघि नेपाल रेडक्रस सोसाइटी बागलुङले राहत सामग्री हस्तान्तरण गरेको थियो । जापानमा तेज बहादुर थापा, कालिका थापा, दीपक चोखाल, भवानी पन्त लगायतको पहलमा ५ लाख ५० हजार संकलन गरिएको छ । जापानमा रहेका प्रवासी गलकोटेले फेसवुकमा ‘मनकुमारी चोखाललाई सहयोग गरौँ’ नाममा साथी समुह बनाएर थालेको सहयोग अभियान अहिले पनि जारी छ ।
चोखाल विस्थापित भएको समाचार प्रकाशन भएपछि उनका लागि बागलुङ बजार र जापानमा स्वतस्फुर्त रुपमा सहयोग जुटाउने अभियान थालिएको थियो ।







































































































































































































