
देवबहादुर श्रेष्ठ
हामी जान्ने हुँदा अहिलेको बाग्लुङ बजार पूरै खेत थियो । अहिलेको बाग्लुङ नगरपालिका-३ मा पर्ने लालिगुराँस चोकदेखि देउरालीचोकतिर बजार थियो । अहिले ठूलठूला घर बनेका ठाउँमा धान मकै खेती हुन्थ्यो । हामी साथीहरुसंग मिलेर खेतमा बुर्कुसी मार्दै खेल्थ्यौं । कालिका मन्दिर भएको ठाउँतिर घनघोर जंगल थियो ।
बाक्लो जंगलका कारण मन्दिरमा घामको प्रकाश पर्ने थिएन । घरहरु टाढा टाढा थिए तर आत्मीयता नजिक थियो । कसैलाई केही अप्ठ्यारो पर्दा अर्कोले दिल फुकाएर सघाउने चलन थियो । हाम्रो समाजको त्यही चाल चलनले गर्दा म विद्यालय शिक्षा लिने बेलादेखि नै समाजसेवामा लागें । मुठी दान संकलन गरेर यहाँको बाटो बनाउने काम गर्ने गथ्र्यौं ।
ओमप्रसाद गौचन त्यो बेला यहाँको कहलिएको समाजसेवी हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले हामीलाई पनि सामाजिक क्रियाकलापमा दिल खोलेर लाग्ने वाताबरण बन्यो । जीवनको सात दशक बढी समय पार गर्दा मैले यहाँका दर्जनौं सामाजिक संस्थामा आवद्ध रहेर काम गरें । स्वतन्त्र रुपमा काम सकिने ठाउँमा स्वतन्त्र रुपमा पनि सामाजिक कार्य गरें ।
सामाजिक सेवाका साटो कुनै व्यापार व्यवसायमा लागेको भए तैले राम्रो प्रगति गर्न सक्ने थिईस् भनेर मलाई त्यो बेला पनि भन्थे र अहिले पनि भन्छन् । जिन्दगी भनेको आज छ भोली छैन । जति सम्पत्ती कमाए पनि मरेर जाँदा रित्तै हात जाने हो । हामी सामाजिक कार्यकर्ताहरु प्रायः एकलब्य स्वभावका हुने रहेछौं । मेरो परिवारले पनि चाहान्थ्यो, मैले व्यापार व्यवसाय गरुँ । जागिर गरुँ । पैसा कमाऊँ भन्ने चाहान्थ्यो । म शिक्षक पनि भएँ, पञ्चायती समयमा गाविस सचिव पनि भएँ । तर सामाजिक काम गर्ने हुटहुटीले जागिरमा रहीरहन दिएन ।
त्यसपछि स्वयंसेवी संस्थाहरुको नेतृत्व गर्न थालें । जागिरमा लागेको भए, व्यापारमा लागेको भए धन सम्पत्ती कमाउँथँे होला । सामाजिक सेवामा लागेर आत्म सन्तुष्टी कमाएको छु । जागिर पनि गरेको हुँ, व्यापार पनि गर्न त गरें । बाग्लुङमा पहिलो पटक होलसेल डिलरहरुको स्थापना मैले नै गरेको हुँ । तर सामाजिक सेवाबाट जस्तो सन्तुष्टी मलाई अन्त कतैबाट मिलेन । आफुले गरेको कामबाट अरु कसैले सेवा पाएर खुशी भएको देख्दा मन त्यसै त्यसै फुरुङ्ग भएर आउँछ । त्यसैले पनि व्यापार छाडेर सामाजिक काममा लागें ।
धौलागिरी क्याम्पसको स्थापना
२०२० सालमा मैले यही बागलुङको विद्यामन्दिर हाई स्कूलबाट एसएलसी पास गरें । त्यती बेला यहाँ उच्चा शिक्षा अध्ययन गर्ने क्याम्पस थिएन । पञ्चायती शासनकालको समय थियो । धौलागिरी अञ्चललाई समेट्ने गरी क्याम्पस स्थापना गर्ने कुरा उठ्यो । तत्कालिन अञ्चलाधीस लक्ष्यबहादुर गुरुङको पहलले बाग्लुङमा क्याम्पस बन्ने भो । त्यतीबेलाको समयमा महेन्द्र मल्टीपल क्याम्पसका नामबाट कलेज स्थापना भो । क्याम्पस निर्माणका लागि केही जग्गा सार्वजनिक थियो ।
अधिकांस जग्गा त्यो बेलामा किनीएको थियो । त्यो निर्माण शुरु भएको ६ महिनामा क्याम्पसको भवन तयार भएको थियो । हामी विभीन्न ठाउँमा पुगेर सहयोग संकलन गरेका थियौँ । गलकोटबाट घर छाउने ढुङ्गा ल्याईएको थियो । बागलुङ, पर्वत र म्याग्दी तीनै जिल्लाबाट (झारा तिर्न) श्रमदान गर्न मानिसहरु आएका थिए । हामीले आँफै इँटा उत्पादन गरेका थियौं, कालिगण्डकीबाट ढुङ्गा बोकेर भवन निर्माण गरेका थियौं । त्यो बेलामा सामाजिक अनुशासन थियो । सामाजिक काम गर्नुपर्छ भनेपछि सबैले आफुले सकेको सघाउँथे । बागलुङका मात्रै होईन समग्र धौलागिरीकै जनताको खुन पसिनाले निर्माण भएको हा,े अहिलेको धौलागिरी क्याम्पस ।
मैले त्यही क्याम्पसबाट २०२४ सालमा आईए पास गरेको हुँ । यहाँबाट आईए पढ्ने हामी पहिलो ब्याज थियौं । क्याम्पसमा विभिन्न संकायको पढाई सञ्चालनका लागि धरौटी राख्नुपथ्र्यो । हामी रातारात यहाँका स्थानीयसंग सहयोग रकम उठाएर धरौटी बुझाउँथ्यो । म लामो समयसम्म क्याम्पस व्यवस्थापन समितिमा रहेर पनि काम गरें । पछिल्लो समय क्याम्पसको सबै खटन पटन त्रिभुवन विश्व विद्यालयले गर्ने भएपछि क्याम्पस यहाँको समुदायसंग टाढिदै गएको छ ।
हाम्रो नाम त छ तर भूमिका छैन । विगतमा तीन हजार पैतीस सय विद्यार्थी हुने क्याम्पसमा अहिले मुस्कीलले हजार जना विद्यार्थी हुन्छन् । निजी क्षेत्रबाट पनि कलेजहरुको स्थापना भएकाले उनीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने गरी कार्यक्रम बनाउनुपर्छ ।
सामाजिक कार्य
म पहिलो पटक रेडक्रसमा आवद्ध भएको हुँ । रेडक्रसको अहिले कार्यालय भएको भवन हामीले नै सहयोग संकलन गरी निर्माण गरेका थियौं । म नेपाल नेत्रज्योति संघ बाग्लुङको संस्थापक अध्यक्ष भएर बागलुङमा पहिलो पटक आँखा अस्पतालको स्थापना ग¥यौं । हिमालयन आँखा अस्पताल पोखराको व्यवस्थापन समितिको सदस्य समेत भएँ ।
अस्पतालको सहयोगमा हामीले बाग्लुङमै धेरै आँखाका विरामीहरुको उपचार ग¥यौं । नेपाल परिवार नियोजन संघ, लायन्स क्लब अफ धौलागिरी, अस्पताल विकास समितिको अध्यक्ष, नेपाल बाल कल्याण समितिको सदस्य भएर काम गरें । बहिरा विद्यालय स्थापना, वलेवामा दृष्टि बिहीनहरुका लागि विद्यालय स्थापना गर्ने काममा मैले सक्रियता लिएँ । विभिन्न शैक्षिक तथा धार्मिक संस्थाका लागि सहयोग संकलन गर्न धान्याचल पनि लगाईयो । विद्यालय र विभिन्न सामाजिक संस्थाका लागि भवन, मन्दिर निर्माण लगायत सहयोग जुटाउने अभियानमा म सधैं अगाडी भएँ ।
मलाई अहिले पनि काठमाडौंमा चिनेको मान्छे कसैले देख्या भने यो माग्न आएको हो भन्छन् । सामाजिक कार्यकर्ताको रुपमा हिँड्दा मैले हरेक पल्ट केवल समाजको लागि मागें । सहयोगको हात फैल्याएँ तर दिने कुरा मसंग केही नहुँदा माग्ने आयो भन्नु स्वभाविक पनि हो । मैले यसैलाई सामाजिक सेवाको परिचयको रुपमा देखेको छु ।
सामाजिक कार्यकर्ता हिजो र आज
सामाजिक काम निस्वार्थ भावले गर्ने सेवा हो । सामाजिक कार्यकर्ताले मैले यो काम गरे वापत कसैले मलाई केही देला भन्ने सोच राख्नु हुँदैन । समाजसेवी हुँ भन्ने व्यक्तिले आफुले गरेको कामको प्रतिफल खोज्नु भनेको पाप हो । मैले गरेको कामबाट फाईदा होला कि नहोला भनेर भन्ने व्यक्ति सामाजिक कार्यकर्ता हुनै सक्दैन । कसैले मुल्याङ्कन गरुन् नगरुन् ।
हामीले हाम्रो कामको कसैले मुल्याङ्कन गरिदियोस् भनेर सोच्ने होईन । हामीले त निरन्तर सेवा गर्ने हो । हिजो आज सामाजिक कार्यकर्ताको परिभाषा नै बदलिएको छ । कसैले टन्न पैसा कमाएर कुनै ठाउँलाई केही रकम हस्तान्तरण ग¥यो भने उ ठूलो समाजसेवीको रुपमा कहलिन्छ ।
अहिले समाज पूरै व्यक्तिवादी भएको छ । हरेक मान्छे आफ्नो लागि कमाउन चाहान्छ । आफ्नो परिवारको लागि सम्पत्ती जोड्न चाहान्छ । सबैमा व्यक्तिवाद हाबी हुँदै गर्दा राज्य कमजोर भएको छ । देशको विकास हुनका लागि निस्वार्थ दिलले काम गर्ने सामाजिक कार्यकर्ताको खाँचो पर्छ ।
लेखक श्रेष्ठ बागलुङका एक सक्रिय समाजसेवी हुन् ।