
गत महिना दोस्रो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि विश्वबाटै एक्लिँदै गएको उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सर्वसम्मत रूपमा नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, प्रतिबन्धले उत्तर कोरिया झनै उत्तेजित देखियो र त्यसविरुद्ध उसले आफ्नो आधिकारिक समाचार संस्था केसिएनएमार्फत बारम्बार चेतावनी दिइरहेको छ । प्रतिबन्धपछि उसले ‘उत्तर कोरियाको सम्पूर्ण राष्ट्रिय शक्ति परिचालन गरी निर्मम ढंगले भौतिक कारबाहीसँगै रणनीतिक कदमहरू अंगीकार गर्ने’ चेतावनी दियो । त्यसको भोलिपल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गर्जन झनै डरलाग्दो थियो । उत्तर कोरियाले आणविक हमलाका धम्कीयुक्त भाषणलाई पुनः दोहोर्याएमा उसले यसभन्दा अगाडि कहिल्यै नदेखेको र अनुमानसमेत नगरेको ‘आक्रोश र आगो’ को सामान गर्नुपर्ने ट्रम्पको चेतावनी थियो । उत्तर कोरिया पनि के कम । उसले तत्कालै प्रशान्त महासागरस्थित अमेरिकी भूमि गुआममा एकैचोटी चारवटा मिसाइल प्रहार गरी अमेरिकी भूमि ध्वस्त पारिदिने चेतावनी दियो । त्यसलगत्तै अमेरिकी सेना गुआमको सुरक्षाका लागि आधुनिक हतियारले सुसज्जित भएकाले उत्तर कोरियाको धम्कीले खासै असर नपार्ने ट्रम्पले जवाफ फर्काए ।
वास्तवमा दुई देशले एक–अर्कालाई गालीगलौज गरिरहँदा उत्तर कोरियामाथि आक्रमण गर्न सुधारसहितको सैन्य विकल्पको भित्रभित्रै तयारी भइरहेका प्रतिवेदन पनि सार्वजनिक भइरहेका छन् । त्यस्तै, उत्तर कोरियाबारे पनि दिनहुँ डरलाग्दा खुलासा भइरहेका छन् । प्योङयाङले सूक्ष्म आणविक बम प्रहार गर्न सक्ने क्षेप्यास्त्र निर्माण गरेको र उसँग पाँच दर्जनभन्दा बढी शक्तिशाली बम रहेको अमेरिकी गुप्तचरको रिर्पोटमा दाबी गरिएको छ । यी जोखिमले डोनाल्ड ट्रम्प र किम जोङ उन दुवै नेतालाई गम्भीर दुर्घटनातर्फ धकेल्ने सम्भावना बढेको छ ।

वास्तविक युद्धका विषयमा उत्तर कोरिया र अमेरिका दुवै प्रष्ट छैनन् । १८औँ शताब्दीदेखि पछिल्ला आठवटा ठूला युद्धको अध्ययन गरेका अग्रज इतिहासकार एजेपी टेलरको निष्कर्ष छ, ‘कुनै पनि युद्ध रहर वा विजय प्राप्ति गर्ने उद्देश्यले नभई त्रासकै कारण सुरु हुन्छ ।’ टेलरका अनुसार अधिकांश युरोपेली युद्धहरू ‘धम्की तथा उत्तेजनाबाट भएका थिए र युद्धमा होमिने देशहरूले उपलब्धिभन्दा पनि धेरै कुरा गुमाएका थिए ।’ यदि टेलर जीवितै हुन्थे भने अहिलेको नयाँ परिस्थिति को साक्षी हुन्थे । त्रास, गलत धारणा, गलत अनुमान र आवश्यकताभन्दा बढी प्रतिक्रियाको उपज वर्तमान अवस्थाप्रति उनी निःसन्देह डरलाग्दो अनुभूति गर्दथे ।
अहिलेको यक्ष प्रश्न यो छ कि कोरियाली प्रायद्वीपमा उत्पन्न हुन सक्ने सम्भावित विपत्ती र विनाश रोक्न यी दुई देशले कस्तो पहल गर्न
सक्छन् ? सर्वप्रथम अमेरिका र उत्तर कोरियाले एक अर्कालाई कुनामा धकेल्ने नीति तत्काल रोक्नुपर्छ । यसके लागि दुवै देशले इतिहासबाट पनि पाठ लिने साहस गर्नुपर्छ । सन् १९६२ को क्युबेली मिसाइल संकटमा सोभियत मिसाइल क्युबामा पठाउने अनुमति दिनुहुन्न भन्ने अडानमा अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ केनेडी दृढ थिए । तर, सो युद्धमा केनेडीले अमेरिकाको पूर्ण विजय र सोभियत संघको पूर्ण पराजयभन्दा पनि समाधानका उपाय खोजेका थिए । केनेडीले एउटा प्रस्ताव राखेका थिए, जसले क्रेमलिनका ‘बाजहरू’का आँखामा सोभियत नेता निकिता ख्रुसचेभको आत्मसम्मान जोगाउँथ्यो । क्युबाबाट सोभियत मिसाइल फर्काएको बदलामा अमेरिकाले टर्कीबाट आफ्नो मिसाइल फिर्ता गथ्र्यो (टर्कीमा आवश्यकताभन्दा बढी मिसाइल पुगिसेका थिए) । सो व्यापारिक र साहसिक कदमले दुई नेतालाई एउटा महत्वपूर्ण निर्णय लिन उत्प्रेरित गर्यो । दुवैले वास्वतमै आणविक युद्ध चाहेनन् । अन्ततः आत्मग्लानी अनुभव नगरी उनीहरू युद्धको दोसाँधबाट फर्किए ।
कोरियाली प्रायद्वीपमा देखिएको अहिलेको संकटको शान्तिपूर्ण समाधानका लागि किम जोङ उनले आफ्नो आक्रोशपूर्ण अभिव्यक्ति न्यून पार्नुपर्छ । र, अमेरिकी प्रशासनले एउटा त्यस्तो माहोल सिर्जना गर्नुपर्छ जसको उद्देश्य उत्तर कोरियाली शासक परिवर्तन गर्नुभन्दा पनि नीति परिवर्तनतर्फ लक्षित होस् । त्यो हो, कोरियाको निशस्त्रीकरण ।
दुर्भाग्यवश अहिले अमेरिकाबाट आएका संकेत मिश्रित छन् । निश्चय नै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनका पछिल्ला अभिव्यक्ति समस्याको कूटनीतिक समाधानको पहलमा केन्द्रित छन् । केन्द्रीय अनुसन्धान निकाय सिआइएका निर्देशक माइक पोम्पियोले कोरियाली सत्ता परितर्वनलाई जोड दिएका छन् भने राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याक मास्टरले रक्षात्मक युद्धको सम्भावना दर्शाएका छन् ।
कोरियाली नेतालाई वार्ताको टेबलमा ल्याउन दिइने कुनै पनि दबाब महत्वपूर्ण नै छ तर, यस्तो दबाबको भाका सावधानीपूर्वक लयबद्ध गरिनुपर्छ । यदि अमेरिकाले शासक परिवर्तन वा निदानात्मक युद्ध सुरु गरेमा यसअघि नै त्रसित बनेका किम जोङ उन आक्रोशपूर्ण ढंगले अमेरिकाविरुद्ध खनिन सक्छन् । त्यसैले, उद्देश्य पूर्ण नभई दुवै पक्ष सापेक्षित र सुरक्षित हुनुपर्छ ।
यसका लागि दुवै देशले सेनालाई संयमित राख्नु बुद्धिमत्तापूर्ण कदम साबित हुनेछ । राजनीतिक निर्णय गर्ने प्रक्रियामा सैन्यकरणका कारण प्रथम विश्वयुद्ध निम्तिएको थियो । सम्बद्ध देशहरू युद्धको भूमिमा मार्च गरिसकेकाले कूटनीतिक प्रयासको झिनो सम्भावना बाँकी थिएन । कूटनीति समाधानमा जोड दिनुको सट्टा ट्रम्पका सल्लाहकार सिबास्टियन गोर्काले केही दिनअघि यस्तो टिप्पणी गरेका थिए– विदेशमन्त्री रेक्स टिलरसनले सैन्य मामिलामा छलफल गर्दै छन् भन्नु हास्यास्पद हो । टिलरसनजस्ता अमेरिकाका उच्च कूटनीतिको सैन्य मामिलामा किन महत्वपूर्ण प्रभाव हुँदैन ? यस्तो प्रवृत्ति तत्काल समाप्त नभए बेलातका तत्कालीन प्रधानमन्त्री डेभिड लोयड जर्जले प्रथम विश्व युद्धका बारेमा टिप्पणी गरेजस्तै हामी फेरि युद्धमा रुमलिन्छौँ ।
दक्षिण कोरियाका कुनै पनि नेताले युद्ध भड्काउने अमेरिकी भाकामा लय मिलाउन आवश्यक छैन । सन् २०१० मा उत्तर कोरियाको चियोनानमा युद्धपोत विमान खसेपछि र इयोनप्योङ टापुमा बमवर्षा भएपछि दक्षिण कोरियाली सेनाले युद्धको नियमलाई केही हदसम्म कठोर बनाएको छ । दक्षिण कोरियामाथि प्योङयाङले आक्रमण गरेमा ती आक्रमणका स्रोतलाई मात्र नभएर उत्तर कोरियाको नेतृत्वविरुद्ध नै बदला लिने दक्षिण कोरियाले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीजस्तै यो नीति उत्तर कोरियालाई हतोत्साहित गर्ने उद्देश्यले अभिप्रेरित छ । तर, यसले द्वन्द्वको आगोमा घ्यु थप्ने मात्रै काम गर्नेछ ।
कोरियाली प्रायद्वीपको संकट समाधानमा चीनको पनि महत्वपूर्ण भूमिका छ । सन् १९९४ को जुन १० मा पहिलोपटक उत्तर कोरियाली आणविक संकट उत्कर्षमा पुग्दा चीनले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघले लगाउने कुनै पनि प्रतिबन्धविरुद्ध भिटो प्रयोग नगर्ने जानकारी वर्तमान नेता किम जोङ उनका पिता किम जोङ इललाई दिएको थियो । जसले किमलाई आफ्ना शत्रुतापूर्ण धारणा न्यून पार्न बाध्य पारेको थियो । चीनले अहिले त्यस्तै कायदा अंगीकार गरेको छ । किनकि, चीनका सरकारी सञ्चार माध्यमहरूले सार्वजनिक रूपमा नै भनिरहेका छन् कि भविष्यमा हुन सक्ने सैन्य द्वन्द्वमा उत्तर कोरियाले चीनबाट सहयोग पाउने आशा गर्नु हुँदैन । सैन्य धम्कीबाट कूटनीतिक समाधानतर्फ मार्ने फड्कोको नेतृत्व लिन ट्रम्प र किम जोङ उन दुवैसँग पर्याप्त राजनीतिक पुँजी छैन । तीव्र गतिमा बढिरहेको संकटले निम्त्याएको दूरगामी खतरालाई मनन गर्दा जारी समस्या समाधानका लागि अन्य सरोकारवाला पक्षले नेतृत्व लिनु पर्छ । के चीनले आफूले बारम्बार दाबी गरेजस्तै क्षेत्रीय संरक्षकको भूमिका बहन गर्न सक्ला ? ट्रम्प र किम जोङ उनजस्तै जारी संकटमा चिनियाँ राष्ट्रपति सी जिन पिङको पनि परीक्षण भइरहेको छ ।
दक्षिण कोरियाका पूर्वविदेशमन्त्री योन योङ कवान सिउल नेसनल युनिर्भसिटीमा इमिरेट्स अफ इन्टरनेसनल रिलेसनका प्राध्यापक हुन्
कपिराइट : प्रोजेक्ट सिन्डिकेट २०१७
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
साभार : नयाँ पत्रिका













































































































































































































