राजेशचन्द्र राजभण्डारी
नेपालमा अहिले सबैभन्दा बढी चर्चित ब्यक्ति कोही छ भने त्यो हो नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का । साँच्चै नेपालमा सबैभन्दा बढी चर्चित मान्छे मध्यमा पर्छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की सँधैभरी नेपालको मिडियामा छाइरहे ।
२०६२/६३ को राजनीति परिवर्तन पछि देशमा सुधार हुन्छ भन्ने धेरैले आशा गरेका थिए । त्यो भएन । नेपाली जनता के कुरामा विश्वस्त थिए भने मुलुकमा १० बर्षसम्म जनयुद्ध गरेको राजनीतिक पार्टी नेकपा माओबादी शान्ति प्रक्रियामा आएपछि देशमा ठूलो राजनीतिक परिवर्तन भएको महसुस सारा नेपालीले मात्रै हैन विश्व मै नयाँ खालको तरङ्ग आएको थियो ।
देशबाट २४० बर्ष पुरानो सामन्ती राजतन्त्रलाई संसदबाटै सहजरूपमा बिदाई गरेर नेपाली जनताको छोरो राष्ट्रपति बनाउने काम नभएको हैन । राजा ज्ञानेन्द्र शाहले पनि आफ्नो सबै शक्ति सहजै परित्याग गरेर गएपछि देशले राजनीतिक र आर्थिक रूपमा फड्को मार्ने नेपाली जनताले आशा गरेका थिए । तर त्यो कुरा भने पुरै निराशामा परिणत हुन पुग्यो ।
देश १०४ वर्षीय राणा शासनको कारणले बिग्रिएको फेरि ३० वर्षीय पंचायती ब्यबस्थाले पछि बहुदलीय ब्यवस्था भित्र भएको बिकृती बिसंगतिले भ्रष्टाचार संस्थागत भएको भन्ने जुन प्रचारप्रसार थियो त्यो अवश्य पनि रोकिने जनविश्वास थियो । तर १० बर्षको दौरानमा त्यो कम हैन झन संस्थागत हुँदै गएको उदाहरण पेट्रोलियम भण्डारणको लागि आयल निगमको जग्गा खरिद प्रकरण सबैभन्दा बढी चर्चा र चासोको बिषय बन्यो । नेपालको ठूला मिडियाको कारणले पनि जग्गा खरिद प्रकरणमा खड्का बाट अनियमितता भएको कुरा देउवा सरकार लाई लागेपछि अहिले खड्का बर्खास्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा मन्त्री परिषदको बैठकले खड्कालाई बर्खास्त गरेको हो । संसदीय समितिहरूले गरेको एउटा राजनीतिक दलको भागबन्डामा आयल निगममा कार्यकारी निर्देशक बनेका गोपालबहादुर खड्काले जुन काम गरे त्यो उनले गर्ने स्वभाबिक काम हो भन्ने कुरा राजनीति सामान्य बुझ्ने मान्छेले पनि जान्ने बुझ्ने कुरा हो । भागबन्डामा हुने मन्त्री नियुक्तिदेखि विभिन्न संघसंस्थामा गरिने राजनीतिक नियुक्ति पाउन सम्बन्धित मन्त्रीदेखि राजनीतिदलका नेतालाई लाखौं करोडौं रूपैयाँ नजराना बुझाएर पुग्नुपर्ने भए पछि कसरी त्यो संस्थामा पुग्ने मान्छेले देश र जनताको पक्षमा काम गर्छ त्यो कुरा स्पष्ट छ ।
कमाउने धन्दाको लागि लगानी गरेका महासयहरूले आफुले लगानी गरे अनुसार नाफा कमाउन जस्तो सुकै हतकन्डा अपनाउछन् भन्ने कुरा अहिले अख्तियारले पटकपटक गरेको कार्बाहीबाट पनि स्पष्ट छ । आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अहिले दोषी देखाउन खोजिएको छ । त्यो सरकारले अख्तियार गर्नुपर्ने काम हो । तर त्यति ठूलो भ्रष्टाचार अनियमितता गर्ने हिम्मत गोपालबहादुर खड्काले एक्लै त अवश्य पनि गरेनन् ।
साँच्चै आयल निगमलाई अहिले पेट्रोलियम पदार्थ भण्डारण गर्ने ठाउँ अपुग भएको कारणले पनि त्यसको लागि जग्गा चाहिएको भने अवश्य पनि हो । गत बर्ष छिमेकी मुलुक भारतले नाकाबन्दी गरेको समयमा त्यो कुरा सारा नेपालीले महसुस नगरेको हैन । साँच्चै बिपत्तिको समयमा कम्तिमा ६ महिनालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हामीले गर्नुपर्ने रहेछ ।
हामीसंग भण्डारण क्षमता ३० बर्ष अगाडिको नै छ । तर यातायातको चाप भने थेगि नसक्नु छ । हो हिजो टाट पल्टिएको आयल निगमलाई आज ऋण मुक्त गरि अहिले नाफामा लगेर सकारात्मक काम गरेकोलाई पनि हेर्न जरुरी छ । तर मौकामा चौका हान्ने प्रबृत्ति कै कारण अहिले आयल निगमको जग्गा खरिदमा करोडौँ अनियमितता र चलखेल भएको भने स्पष्ट छ ।
अहिले निगमले खरिद गरेको भैरहवा, झापा, चितवन र सर्लाहीमा चलन चल्तीको मुल्य भन्दा तीन गुणा बढीमा खरिद गरेर निगमलाई आर्थिक रूपमा भार पार्नुका साथै करोडौँ रूपैयाँ अनियमितता गरेको कुरा अहिले हैन जग्गा खरिद गरेको समयमा नै थाहा भएको कुरा हो । मालपोत कार्यालय नगरपालिका प्रशासन सबै जानकार हुँदाहुँदै पनि भण्डारण गर्ने जग्गा खरिद गरियो यो अपचलनको बिषयमा मिडियामा सामाजिक संजालमा जे जति कुरा बाहिर आएपनि न त यसबारे सरकार गम्भीर भयो न त सरोकारवाला निकाय नै ।
न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै । दाइ त काले भाइ पनि काले काले काले मिलेर खाउँ भाले भन्ने सिद्धान्त अनुसार नै आयल निगम पनि अगाडी बढ्यो भने सरकार मुकदर्शक बन्ने भन्दा अरू केही भएको देखिएन । बहुदलीय कालमा देशमा भएका पुराना उद्योग धन्दा कलकारखाना सबै निजीकरणको नाममा कित कौडीको भाउमा बेच्ने काम भएकोछ । अहिले फेरी भागबन्डाको राजनीति भागबन्डा कै संस्कृती मौलाएको कारणले पनि आयल निगममा गोपालबहादुर खड्का जस्तो मान्छे जन्मनु लाई अन्यथा मान्न सकिँदैन ।
अहिले सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ । साच्चिकै अहिले जुन काम भएको छ त्यो कामले अहिले भएको सबै घोटाला बाहिर आए जस्तो भएको छ । कार्बाही हुन्छ कि हुन्न त्यो भने हेर्न बाकी नै छ । अहिले देशको ठूला मिडियाले जसरी मिसनको रूपमा आयल निगमका प्रमुख गोपालबहादुर खड्काले गरेको अनियमिततालाई जबर्जस्त रूपमा सरकारलाई कार्बाही गर्न बाध्य बनाए, यसलाई सफलता मान्नुपर्छ ।
तर हिजो जसरी मिसन प्रयोग गरियो आज पनि गोपाल खड्का लगायतका भ्रष्टाचारी देश डुबाउने शक्ति केन्द्रका मतियारलाई कार्बाही गरेर कमिशन खाएको पैसालाइ फिर्ता गराउने काम गर्नुपर्छ । हिजो आयल निगममा सिफारिस गर्ने राजनीतिक नेतृत्वलाई समेत सामाजिक कार्बाही गर्न जरुरी छ । खाली कार्बाहीको नाममा गोपाल खड्कालाई मात्रै कार्बाही गरेर प्रमुख महासयहरूलाई उन्मुक्ति दिने काम भने रोक्न जरुरी छ । अहिले गोपालबहादुरलाई कार्बाही भए पनि भोलि अर्का गोपालबहादुरहरू जन्मिरहने छन ।
त्यसकारण मोटो रकम लिएर राजनीतिक नियुक्ति दिने प्रचलनको अन्त्य गर्न जरुरी देखिन्छ । अहिले पंचायतमा भन्दा पनि खुलेआम कमिशन, भ्रष्टाचार संस्थागत भएको छ । यसलाई अहिले देखि नै रोक्न सबै सरोकारवाला एकजुट हुन जरुरी छ । नेपालको कानुन नीति नियम पनि समय अनुसार परिवर्तन गर्न जरुरी छ । देश डुबाउने भ्रष्टाचार गर्ने जुनसुकै भए पनि त्यस्ता ब्यक्तिलाई सर्बस्वहरण सहित फाँसी दिने ब्यवस्था हुन जरुरी छ ।
नेपालको कानुन दैबले जानुन भने झैँ अरबौँ रूपैयाँ अपचलन गर्ने भुमिका खेल्ने चुडामणि शर्मालाई अदालतले सामान्य तारिखमा छोड्ने सामान्य जनतासंग लाखाँ धरौटी माग्ने कामको समेत लेखाजोखा हुन जरुरी छ । अहिले हाम्रो राजनीतिक व्यवस्था चुनाव लड्न गर्नुपर्ने करोडाँै खर्च सबै अहिले अनियमितता को जड हो । यसलाई सच्याउन नसक्दा सम्म यो प्रवृत्ति रहिरहने छ ।























































































































































































