
लोक तथा दोहोरी गीतमा चासो राख्ने जो कोही देवी घर्तीलाई नचिन्ने विरलै होलान । २०५५ देखि ६० को अवधिमा लोक तथा दोहोरी गीतले बेग्लै उचाई छुँदा उनी गाउँघर मेलापातमै व्यस्त थिईन ।
अहिलेको उत्कृष्ट गायिकाहरुको सूचीमा पहिलो तीन चार जनाभित्र पर्ने देवीलाई सांगितीक यात्रा सुरु गर्न कत्ति पनि सहज थिएन । अहिलेको गल्कोट नगरपालिका—१० साविकको पाण्डवखानी गाविसको अति दुर्गम ठाउँ रमुवामा जन्मिएकी देवी २०६१ सालदेखि लोक तथा दोहोरी गायनमा प्रवेश गरेकी हुन् । ‘गाउँघरमा हुने मेला पर्वहरुमा गित गाउँदा सबैले स्वर राम्रो छ भनेपछि कलाकार बन्छु भन्ने मनमा विचार आउँथ्यो,’ उनी भन्छिन्, ‘परिवार र समाजको परम्परागत सोचलाई चिरेर काठमाडौं छिर्नकै लागि निकै ठूलो संघर्ष गर्नुप¥यो ।’
‘कसैले जिस्क्याउनलाई कोहिले हौसला दिनका लागि कोईलीको जस्तो आवाज छ भन्थे, मलाई पनि कलाकार बन्ने दृढ इच्छाले लखेटिरहन्थ्यो,’ घर्ती सम्झन्छिन् । उनको कलाकार बन्ने जिद्धि अघि परिवारको केही नलागेपछि उनकै माईलो दाजुले देवीलाई काठमाडौं पु¥याएका थिए । ‘त्यो बेला लोकदोहोरीको बजार निकै राम्रो थियो, गितहरु बजारमा आउने र चल्नेक्रम पनि बढि थियो,’ उनले भनिन्, ‘त्यही बेला म काठमाडौं आएर दोहोरी साँझमा काम गर्न थालेँ, क्यासेटमा गित रेकर्डका लागि भने छुट्टै संघर्ष गर्नुप¥यो ।’
सिसाखानीकी गायिका लक्ष्मी भुजेलको सहारा पाएपछि काठमाडौंमा बस्न समस्या नभए पनि अन्य कलाकारहरुसंग चिनजान नहुँदा गीत गाउनका लागि संघर्ष गर्नुपरेको उनको भनाई छ । अहिले देवीको आवाज रेकर्ड गर्न लालायित हुने रेकर्डिङ स्टुडियोहरुले एउटा गीतका लागि बिहानबाट आधा रातसम्म कुराएको उनको अनुभव छ । ‘स्टुडियोमा पुराना कलाकारहरुको भीड हुन्थ्यो, म बिहान १० बजे स्टुडियो छिरेर पालो कुर्दा राती १० बजेपछि गीत रेकर्ड गरेर फर्केको पनि छु,’ उनी विगत सम्झन्छिन् ।
२०६१ सालमा खड्ग गर्वुजाको एल्बममा पहिलो पटक आवाज दिएकी देवी ०६३/६४ मा आईपुग्दा चल्तीकी गायिका बनिसकेकी थिईन् । सांगितीक यात्रालाई डेढ दशक नजिक पु¥याएकी उनका गीतहरुको संख्या अहिले हजारमा गनिन थालेको छ ।
‘अहिलेसम्म ६ हजार बढि गीतमा आवाज दिएकी छु,’ घर्ती भन्छिन्, ‘सल्लैको धुपैले, आयो बरै लोकतन्त्र, बाटुली, पल्के भेना बाई, झल्को लाली ओठको लगायत गीतले मलाई विस्तारै लोकदोहोरी क्षेत्रमा परिचित बनायो ।’
कस्तुप पन्तको बिर्सियौकी कुन्नी, एकनारायण भण्डारीको फुलमा मौरी डुल्ने बेलामा, विष्णु खत्रीको कि सास चाहियो कि लास चाहियो गीत गाएपछि उनी त्यसबेला एकछत्र राज गरिरहेका बिमाकुमारी दुरा र लक्ष्मी न्यौपाने सामु आफुलाई अब्बल सावित गर्न सफल भईन् ।
गायिका घर्ती अहिलेसम्म सांगितीक कार्यक्रमका लागि मुलुका अधिकाँस जिल्ला र एक दर्जन बढि मुलुकमा पुगिसकेकी छिन् । उनले पाएको सम्मान र अवार्डको सूची पनि दुई दर्जनको नजिक छ । गीत गाउन देश विदेश पुगेकी उनलाई त्यहाँ नेपालीले पाएको दुःख देख्दा पीडा हुने गर्छ ।
‘नेपाली गीत संगितलाई माया गरेर हामीलाई कार्यक्रमका लागि बोलाउनुहुन्छ,’ उनी भन्छिन्, ‘कति ठाउँमा गएकाहरु त राम्रैसंग पनि बस्नुभएको छ, जापान, हङकङ, बेलायत जस्ता ठाउँमा पुगेका नेपालीहरु राम्रोसंगै बस्नु पनि भएको छ, मलेसिया, कतार, कुवेतमा बसेका नेपालीहरुले गरेको दुःखले मनै रुवाउँछ ।
नेपाली कलाकारहरु प्रविधिसंग अभ्यस्त हुन नसक्दा अहिले संगितको बजार ओरालो लागेको उनको तर्क छ । ‘प्रविधिले निकै छिटो फड्को मा¥यो, त्यसमा हामी पछि प¥यौं,’ उनी भन्छिन्, ‘प्रविधिको उपयोगले केही लाभ दिन थालेको छ । विस्तारै नेपाली गीत संगितको बजार पुरानै जस्तो गरी फर्कनेमा विश्वास गर्न सकिन्छ ।’ गीत संगितमा लगानी गरेर कमाई नभए पनि अहिले संगीतको बजार बढेको उनको बुझाई छ ।
पछिल्लो समय मेला महोत्सव र कलाकार एक अर्काका परिपूरक बन्दै गएको घर्तीको बुझाई छ । ‘अहिले त कलाकार बिना मेला महोत्सव नहुने, मेला महोत्सव बिना कलाकार चल्न नसक्ने जस्तो अवस्था भएको देखिन्छ,’ उनले भनिन्, ‘राम्रो गर्न सक्नेहरुले धेरै राम्रो कमाई गरिरहनुभएको छ ।’
नेपाली लोक गितसंगीतको मौलिकपनलाई जोगाउनका लागि दर्शक स्रोता पनि सचेत हुनुपर्ने उनी तर्क गर्छिन् । ‘दर्शक स्रोताको चाहाना अनुसार नै सर्जकले सिर्जना गर्ने र कलाकारले गाउने हो, मौलिकपनलाई माया गर्नुभयो भने पक्कै पनि त्यस्ता गीतको संख्या बढ्दै जानेछ,’ उनले भनिन् ।
सांगितीक यात्राकै दौरान गायक राजु ढकालसंग मायाप्रिती गाँसिएपछि उनले प्रेम विवाह गरिन् । अहिले उनीहरुको एक छोरा छन ।