२९ बैशाख २०८२, सोमबार

 

मुस्ताङ जाने पर्यटक बागलुङमा

पछिल्लो दिनमा जिल्लामा पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ । यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास र प्रचार प्रसार बढेपछि यहाँ आउने पर्यटकहरुको संख्या पनि बढ्न थालेको हो । जिल्लाको बागलुङ कालिका मन्दिर, पञ्चकोट, ताराखोलास्थीत गाईघाट झरना, भकुण्डे, गाजाको दह, घुम्टे तथा ढोरपाटन क्षेत्रमा घुम्ने आन्तरिक पाहुनाहरुको संख्या बढ्दै गएको सरोकारवालाहरु बताउँछन् ।

विगत केही वर्ष यता मुस्ताङको मुक्तिनाथ घुम्न जानेहरु बागलुङ भएर जान थालेका छन् । गतवर्ष देखि मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत एक रात बागलुङमा बिताएर जाने गरेको होटल व्यवसायीहरु बताउँछन् । मुस्ताङ घुम्न जानेहरुका लागि यहाँका होटलले प्याकेजको समेत व्यवस्था गरेका छन् ।
‘मुस्ताङ जानेहरुलाई यहाँ एक रातको खान बस्न व्यवस्था गर्दा एक जना बराबर त्यस्तै एक हजार जति खर्च उठ्छ,’ होटल पिस प्यालेस बागलुङका सञ्चालक निलेश राजभण्डारीले भने,‘विशेषगरी मुक्तिनाथ जानेहरुका लागि यो प्याकेज तयार पारेको हुँ ।’ प्याकेजमा बेलुकाको खाना आवास र भोलिपल्ट बिहानको ब्रेकफाष्ट समावेश गरिएको उनले सुनाए ।

उनले यस सिजनमा मात्रै करिब एक सय जना बढि आन्तरिक तथा बाह्य पर्यटकलाई बागलुङबाट मुक्तिनाथ पठाएको बताए । ‘दशैं अगाडी मात्रै सयको हाराहारीमा मेरो होटेलमा बसेर मुक्तिनाथ गएका छन्,’ राजभण्डारीले भने,‘दशैं लगत्तै तिहारको बीचमा करिब ५० जना जतिको टोली बुकिङ भैसकेको छ ।’ राजभण्डरीले काठमाडौंको एजेन्सी मार्फत पाहुनाहरुलाई बागलुङ ल्याएर मुस्ताङ पठाउने गरेका छन् ।

‘आवश्यक परेका खण्डमा सवारी साधनको व्यवस्था गर्नेदेखि मुस्ताङमा होटेलको व्यवस्थाका लागि समेत सहयोग गछौं,’ राजभण्डारीले भने । आन्तरिक तथा बाह्य पाहुनाहरुलाई लक्षित गर्दै यहाँ सुविधा सम्पन्न होटेल खुल्ने क्रम समेत बढेको छ । होटल पिस प्यालेसले आफ्नो क्षमता विस्तार गरेको छ भने दुई वर्ष अगाडी मात्र पाँच करोडको लगानीमा होटल रेड एप्पल सञ्चालनमा आएको छ ।

बागलुङ नगरपालिकाको भान्सामा पञ्चकोट निर्माण शुरु भएपछि यहाँ आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरी गतवर्षमात्र करिब तीन करोडको लागतमा दि राजन होटल सञ्चालनमा आएको छ । आन्तरिक रुपमा पञ्चकोट र बागलुङ कालिका मन्दिरमा दर्शन गर्न आउनेहरु केही बढेको होटलका सञ्चालक एन्जिल शाक्यले बताए । ‘आन्तरिक पाहुनाहरु केही बढि छन्,’ उनले भने,‘बाहिरी मान्छे घुम्न आउने त यहाँको मार्केटिङ राम्रोसंग हुन नसक्दा अलि कम नै छ ।’

बागलुङमा आउने पर्यटकहरुका लागि पर्याप्त सुविधा सहितको होटेलको व्यवस्था भैसकेको होटल व्यवसायीहरु बताउँछन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बागलुङमा बजारमा ५० कोठा एसी सहित, पाँच सय एट्याच र करिब दुई हजार जनालाई यहाँका होटेलका सामान्य कोठामा राख्न सकिने बताउँछन् ।-संगम घर्तीमगर, बागलुङ

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung