
देशमा काम गर्ने वातारण नभएको भन्दै कैयौँ युवा रोजगारीका लागि विदेशीने क्रम बढिरहेको छ । धेरै युवाको गन्तव्य वैदेशीक रोजगारी भईरहँदा ढोरपाटन नगरपालिका वडा नम्बर–१ बुर्तिबाङ खाराखेतको एक परिवारले भने कृिष पेशा गरेर मनग्य आम्दानी गर्दै आएका छ ।
खाराखेतकी मिठी खत्रीको परिवारले विभिन्न प्रकारका मौसमी तथा वेमौसमी तरकारी खेती गरेर मासीक ७० हजार रुपैयाँ आम्दानी गर्छ ।
खाने मुखलाई जुगांले छेक्दैन भनेझँै उमेरले ४८ वर्ष पुगे पनि खत्री दिनभर आफ्नै करेसाबारीमा व्यस्त रहन्छिन् । यसरी मिहेनेत गरेर उत्पादित वस्तु उनले बुर्तिबाङ बजारमा ल्याएर बिक्री गर्ने गरेकी छन् । खत्रीको परिवरका सबै सदस्य कृषि पेशामा लागेका छन् ।
उनी, जेठो छोरा, जेठी बुहारी र कान्छो छोराले बुर्तिबाङमै कृषि गरेका छन् भने उनका श्रीमान् खडकबहादुर, माईलो छोरा र माईली बुहारीले रुपन्दैहीमा गाई भैँसी पालेका छन् । गाउँबाटै सुरु गरेको कृषि पेशालाई तराईमा जग्गा किनेर निरन्तरता दिएका छन् । खत्री परिवारले कृषि पेशाबाटै भएको आम्दानीले रुपन्देहीको बाँणगंगा नगरपालिकामा एक बिघा जग्गा किनेका हुन् । त्यहाँ गाई भैँसी पालन गरेका खडकले दुध बचेर राम्रो आम्दानी गर्छन् ।
बुर्तिबाङमा बजार नजिक भएकाले आफुले उत्पादन गरेका तरकारी, कुखुरा, दुध घरबाटै विक्री हुने गरेको छोरा जीवन खत्रीले बताए । करीब ३ रोपनी जग्गामा तरकारी खेती गरीरहेको बताउने खत्रीको कुखुरा फार्म पनि रहेको छ ।
कुखुरा विक्री गरेर पहिलो पटक ३५ हजार आम्दानि गरेको उनले बताए । अहिले २५० वटा कुखुरा छन । ‘हामीले २ वटा दुहुना भैँसी पनि पालेका छौ,’ खत्रीेले भनिन, ‘दैनिक ११ लिटर दूध हुन्छ, बुर्तिबाङ बजारमै विक्री हुने गरेको छ ।’
तरकारी विक्री गरेर पनि राम्रो कमाई भएको उनको भनाई छ । ‘मैले एक्लै गरको भए सबै धान्न सम्भव थिएन,’ ‘परिवारै मिलेर काम गरेका छौँँ, त्यसैले हामी सफल भएका छौँ ।’ आफु गाउँमै गरेको कृषि पेशाबाट उत्साहित भएको भन्दै खत्रीले रोजगारीका लागी विदेशीने युवालाई समेत स्वदेशमै बसेर व्यवसाय गर्न आग्रह गर्छिन ।
तराईको जग्गामा पनि गहँु तथा मकै, खेती गर्छन् । तराईमा एउटा गाई तथा ५ वटा भँैसी पालेको पालेका छन् । दूध बेच्छन् । परिवारका सदस्यले काम बाँडेर पहाड तराई दुबैतिरको कृषि पेशालाई व्यवस्थान गरेको उनले बताईन् । कृषि उत्पादन विक्रीबाट आफ्नौ खर्च कटाएर मासिक ७० हजार रुपैयाँ बचत हुने गरेको छ ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यतालाई मनन गर्दै आफ्नै गाउँ ठाउँमा परिवार एकजुट भई कृषि पेशालाई अगाल्दै आएको र अबको समय पनि यहि पेशामा लागिरहने उनका श्रीमान खडकबहादुर खत्रीले बताए । उनका ३ छोरा तथा दुई बुहारी पनि यहि पेशामै छन् ।
कृषि कार्यबाट मनग्य आम्दानी गर्न सफल यो परिवार अरुका लागि पनि उदारणीय बन्न पुगेको छ । विदेशीने युवाहरुलाई नेपालमै काम गर्ने वातारण राज्यले बनाउनपर्छ । सबैले यसरी नै आफ्नै देशमा पेशा–व्यवसाय गरेर नेपालमै केहि गरे वैदेशीक रोजगारीमै जानुपर्ने बाध्यता हट्थ्यो की ?