४ कार्तिक २०८३, मंगलवार

 

मातृभाषा मास्दा नबोल्ने तर वर्णविन्यासमा हंगामा 

नेपाली भाषाले हजार वर्षको समयावधि पार गर्दैगर्दा यो भाषामा साहित्य र वाङ्मयको विशाल भण्डार खडा भइसकेको छ । भाषामै खेलेर मानिसहरुले जीविका निर्वाह गरिरहेका मात्र छैनन्, सामाजिक प्रतिष्ठा समेत आर्जन गरिरहेका छन् । रचनागत विविधता, वाङ्मयका क्षेत्रमा भएको यसको प्रयोग, मानिसहरुमा विकसित हुन पुगेको साझापन, संस्कृतिको सम्वद्र्धनमा पु¥याएको योगदान, सांगीतिक देन लगायतका यसका दर्जनौं  विशेषताहरु छन् । साहित्य र वाङ्म्यको विशाल भण्डार खडा गर्दै नेपाली भाषाले आफ्नो मूल स्वत्वलाई कायम राख्दै निरन्तर परिवर्तनको दिशामा छ ।

त्यो परिवर्तन आफसेआफ भएको हो र आम मानिसहरुले त्यसलाई प्राकृतिक रुपमै ग्रहण गर्दै आएका छन् ।  तर केही वर्षदेखि मुठ्ठीभर मानिसहरुले अन्योलको स्थिती सिर्जना गर्ने कोशिश गरिरहेका छन् । नेपाली भाषाका चर्चित विद्वानहरुको वर्णविन्यास सम्बन्धी मतभेदले अखबारका पानाहरु रंगिएका छन् । कथित पक्ष र विपक्षको भाषिक आन्दोलन चलिरहेको छ । दुवैका आआफ्ना तर्क र दलीलहरु छन् । सुनिन्छ, मूद्दा सर्वोच्च अदालतमा नै पुगेको छ । यो लडाईंमा दुई जना पूर्व शिक्षामन्त्रीहरु समेत मुछिएका छन् । नेपाली भाषा शिक्षकहरुलाई पनि आन्दोलनको बाछिटाले छेप्दा निकै गाह्रो भएको छ ।

कसका कुरा मान्ने, कसका नमान्ने ? केही वर्ष पहिले १० सम्म एकथरी पढाऊ, ११ र १२ मा अर्कै पढाऊ फेरि स्नातकतिर लागेपछि अर्कोेथरी पढाऊ भन्ने निर्देशन जारी हुन्थ्यो । एक प्रकारको सास्ती नै थियो । तर सहजता पनि थियो नि ! जसरी लेखे पनि हुन्छ लेख, आकाश खस्दैन भन्ने नेपाली शिक्षकहरु पनि त थिए । ह्रस्व दीर्घ मिलेन भनेर जिल्ला प्रशासनमा तिमीले दिएको निवेदन अस्वीकृत हुँदैन, बैंकले देवनागरी लिपिमा लेखिएको रकमको मात्रा भुक्तानी दिन आनाकानी गर्दैन भने के को टाउको दुखाइ ? यसो भन्दा नेपाली भाषा शिक्षकहरुलाई अयोग्यको बिल्ला पनि लगाइयो । हो, भाषा शिक्षकहरु अयोग्य हुन विवश भए, आफ्नै गुरुहरुका कारण ।

गुरुहरुको जुँगाको लडाईका कारण । तर त्यो लडाईं आकाश खसेर च्याप्ने खालको थियो त ? अँह थिएन । होला, भाषाको आफ्नो गरिमा होला तर त्यसका बाबजुद पनि बित्यासै चाहि पर्दैन है ! पर्ने भए त यत्रो लडाईंमा परिसक्थ्यो नि ! त्यसकारण यो प्रतिष्ठित नेपाली भाषाका गुरुहरुको ‘आकाश नखस्ने’ लडार्इं हो । त्यो लडाईंले विशेषतः उहाँहरुका चेलाहरु मात्रै पिसिएका छन्, आम भाषा प्रयोक्ता होइन ।  तर थोरै आशंका पनि छ, नेपाल प्रज्ञा प्रतिष्ठानप्रति । भाषामा हठात् परिवर्तन किन गरियो ? के आवश्यकता प¥यो ? कतै यो नियोजित त होइन ? त्यसो नभए भाषा शिक्षणका नाममा गरिने गोष्ठी किन सारमा भाषाको ह्रस्व दीर्घ, पदयोग, पदवियोगकै ‘जुंगे’ लडाईंकै सेरोफेरोमा केन्द्रित हुनपुग्छ ? भाषा परम्परित र परिवर्तनशील हुन्छ भन्ने बित्तिकै त्यसमा नयाँ नियम लगाइहाल्नुपर्छ भन्ने कुराको जरुरत पनि त छैन । संस्कृतलाई जननी मानिसकेपछि त्यो भाषाका शास्त्रीय नियमलाई अस्वीकार गर्न मिल्छ ? नमिल्नु पर्ने हो ।

प्रज्ञाका जिम्मेवार अधिकारीबाट किन नेपाली भाषामा अन्तराष्ट्रिय सरोकारवाला भनेर युरोपियन युनियनको नाम लिइन्छ ? यो कतै क्रिश्चियानिटीको बिजारोपण त होइन ? यस्ता अनेकौं आशंकाको जवाफ सरकारी निकाय प्रज्ञा प्रतिष्ठानले दिनैपर्ने हुन्छ । हो, शिक्षणका सन्दर्भमा केही कुरा लागू गर्न सकिन्छ । संयुक्त अक्षरलाई फुटालेर देखाउन सकिन्छ । बुझाउन पनि सकिन्छ तर हाम्रो मौलिकतालाई मास्न सकिदैन ।  तर भाषामाथि गम्भीर प्रहार ह्रस्व दीर्घ पदयोग वियोगका सन्दर्भमा भएको होइन । भाषाको मूल कुरा वर्णविन्यास हुँदै होइन । वर्णविन्यास त भाषाको हाँगाबिगा मात्र हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका भाषा विभाग संयोजक प्रा. डा. हेमाङ्राज अधिकारीकै भनाइलाई मान्ने हो भने उहाँहरुको ह्रस्व दीर्घको विवाद भनेको त केवल पाँच प्रतिशतको विवाद हो । (२०७४ कात्तिक १८ गते धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा भाषा शिक्षणसम्बन्धी गोष्ठीमा दिएको अभिव्यक्ति) बाँकी पचानब्बे प्रतिशतको विषयमा खोइ विवाद गरेको ? मूल कुरा त भाषाको जरामै प्रहार भएको छ । त्यसको रक्षा काठमाडौंले गर्न सकेन । विद्वान गुरुहरुले गर्न सक्नुभएन । न नेपाल प्रज्ञा प्रतिष्ठानले गर्न सक्यो न शिक्षा मन्त्रालय र ऊ मातहतका निकायले नै गर्न सके । आज मातृभाषा बहिष्कारको मन्द बिष देशभरी फैलिइ सकेको छ ।

भाषा विवादको मूल चुरो मातृभाषामाथिको प्रहारमै केन्द्रित हुनुपथ्र्यो । मातृभाषालाई ‘अंगे्रजी माध्यम’मा शिक्षा दिने नाममा बहिष्कार गरियो र अझै गरिदैं छ । नेपाली भाषा र शिक्षाका गूरुहरु भन्नुहुन्छ, ‘बालबालिकाले आधारभूत तहको शिक्षा मातृभाषामा नै लिन  पाउनुपर्छ ।’ हिन्दी भाषाका डा. रवीन्द्रनाथ श्रीवास्तवले आफ्नो ‘भाषा शिक्षण’ नामको पुस्तकमा मातृभाषाका विषयमा युनेस्कोले आयोजना गरेको कार्यक्रममा विद्वानहरुले निकालेको निष्कर्ष प्रस्तुत गरेका छन् । निष्कर्ष भन्छ, ‘मातृभाषा समाज तथा संस्कृतिमा आफ्नो स्थान खोज्ने र पाउने मुख्य साधन हो । बौद्धिक व्यापारको आधार हो । सामाजिकीकरणको माध्यम र बौद्धिक चेतनाको अबलम्बन पनि हो । शिक्षाका सन्दर्भमा मातृभाषा सामान्यतया साक्षरताको आधार हो ।’ (श्रीवास्तव, १९९२ ः१७९) नेपालको संविधानको धारा ३१ को (शिक्षा सम्बन्धी हक) उपधारा ५ मा भनिएको छ, ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनेछ ।’

के आम बालबालिकाले संविधानले समेत मौलिक हकका रुपमा स्थापित गरेको मातृभाषामा शिक्षा पाएका छन् त ? गुरुहरु नै भन्नुहुन्छ, ‘अलिअलिले मात्रै पाएका छन् ।’ अर्थात धेरैले पाएकै छैनन् । यसको अर्थ हो, मातृभाषामा शिक्षा पाउने बालबालिकाको हक खोसिएको छ । उनीहरु नर्सरी देखि नै अंग्रेजी भाषा पढ्न विवश छन् । हुँदाहुँदा सरकारले आफ्ना विद्यालयमा समेत आफैले बनाएका आयोगले दिएका प्रतिवेदनलाई रद्दीको टोकरीमा मिल्काउँदै अंग्रेजीलाई शिक्षणको माध्यम बनाउन थालेको छ । यसले गर्दा बालबालिकामा आफ्नो संस्कृति तथा चालचलनप्रतिको विश्वास डगमगाएको छ । सामाजिकीकरणमा अवरोध आएको छ भने सिकाइ जटिल बन्न पुगेको छ । स्वदेशमा भन्दा जीवन विदेशमा सहज हुन थालेको छ । विदेशी नामका शिक्षालय र विदेशी भाषाले गर्दा स्वदेशी सपना हराएका छन्, विदेशी सपना हुर्किएका छन् । अनि देशको माया कसरी लाग्छ ? आफ्नो संस्कृति, चालचलन, क्षमतामा कसरी विश्वास हुन्छ अर्काको भाषा पढेपछि ?  कृषिप्रधान देश हाम्रोमा असार १५ मा खेतबारीमा टेक्नुपर्छ भन्ने चलन गाउँघरतिर आज पनि छ । आफ्नो खेतबारीमा टेकेपछि मात्रै त्यो ठाउँको माया लाग्छ । उत्पादन गर्न थालेपछि मात्रै किसान जीवनको महत्व थाहा हुन्छ ।

आफूले रोपेको रुखको माया लाग्छ । अनि उसले आफूले गरेको खेतीप्रति स्याहार सुसार राम्रोसँग गर्छ । आफू बस्ने घर लिपपोत गर्छ । आफूले पालेका जनावरहरुको राम्रो हेरचाह गर्छ । यही कारण एकल बुबा आमाहरु छोराछोरीले शहरमा घर बनाए पनि गाउँमै एक्लै बसिरहनु भएको छ । जब आफ्नो हुन्छ तब पो माया लाग्छ । विदेशी भाषा सिकेपछि कसरी स्वदेशको माया लाग्छ । ह्वाइट हाउसका सपना एउटा बिल्डिङ्बाट देखाइएको छ । विदेशको राम्रैराम्रै देखाइएको छ । भाषा राम्रो, संस्कृति राम्रो, चालचलन राम्रो । एक सनकीले ट्रकले किचेर मानिस मारेको देखाइदैन । संगीतको लयमा लठ्ठिएकाहरुलाई अर्को घरबाट लुकेर गोली हानीहानी एक चिहान बनाएको देखाइदैन, लुकाइन्छ । हिड्दाहिड्दै रेलको लिकमा घचेटिदिएको समाचार सुनाइदैन । यताबाट जानेहरुले सिटामोल किनेर खान पनि सक्दैन भन्ने कुरा गरिदैन । पाणिनीको नामले स्थान पाउँदैन तर चाल्र्स डार्बिनको नाम गर्वका साथ सुनाइन्छ ।

कतै लन्डन बिज्र नामका कलेज छन् त कतै टाइम्स नामका ! कतै मेगा त कतै ब्लुमिङ् ! के अर्थ छ यिनको खोजिदैन । यो हस्तक्षेप कसले गराएको ? गुरुहरु बोल्नुहुन्न । तर दशैंमा पश्चिम नेपाल गुल्मी, अर्घाखाँची, पाल्पातिर  सयौं तरबारहरु नचाएर सरायँ नाच नाच्दा पनि कसैको रौं छोइदैंन भन्ने संस्कृतिलाई राम्रो भनिदैन । ‘छ्या ! नेपाली भाषा पनि के पढ्ने ?’ भन्ने संस्कृति विकास गरिएको छ । त्यसकारण आजको युवा एकल काटे बन्दै गएको छ । उसले आफ्नो संस्कृति, चालचलन, भाषा भुलेको छ । नेपाली अंग्रेजीमा उल्था गरेर पढाउनु पर्ने दिन नआउला भन्न सकिन्न । यसरी भाषाको जरामै अतिक्रमण हुँदा नेपालीका गुरुहरु कुन दुलोमा हुनुहुन्थ्यो ? बालबालिकाको आफ्नो भाषामा पढ्न पाउने हक हनन हुँदा कोही गुरुहरु बोल्नु नपर्ने ? विदेशी भाषाले जरोमै हस्तक्षेप गरेको छ । के नर्सरीदेखि अंग्रेजी नपढाउँदैमा अंग्रेजी भाषा सिक्नै सकिन्न ? मातृभाषामाथिको प्रहारले आज युवाहरुको विदेश पलायनलाई बढाएको छ ।

स्वदेशभित्रका युवाहरुलाई पनि आवाजहीन तुल्याएर विदेशिन बाध्य पारिएको छ ।   तसर्थ नेपालीका गुरुहरुको मूल जिम्मेवारी आधारभूत तहको प्रारम्भिक शिक्षा मातृभाषामा नै दिनुपर्छ भन्ने विषयलाई स्थापित गर्नुेमा हुनुपथ्र्याे । मातृभाषा नै बहिष्कृत छ भने वर्णविन्यास कसरी हुन्छ ? न रह्यो बाँस न बज्यो बाँसुरीको दिन हाम्रै सम्मुखमा आइसकेको छ । मातृभाषामा हुने सिकाइको सहजता, सामाजिकीकरणमा यसले पु¥याउने योगदान, संस्कृतिप्रतिको अपनत्व, आम बालबालिको सहज पहुँच आदिलाई जोगाउन प्रारम्भिक शिक्षा मातृभाषामै दिनुपर्छ भन्नुपर्दैन ? खै, यो विषयमा अध्ययन अनुसन्धान भएको ? किताब लेखिएको ? खै, मूद्दामामिला गरिएको ? दोस्रो भाषाका रुपमा अंग्रेजी कसरी सिकाउने भन्ने विषयमा कतै चर्चा गरिदैन । खासै अध्ययन अनुसन्धान पनि भएको पाइदैन । कसरी पढाउने भन्ने थाहै छैन । बालबालिकामाथि जबरजस्ती गरिएको छ । यस्ता प्रश्नहरुमा नेपाली भाषाका गुरुहरुले विवाद गर्नुपर्दैन ? मातृभाषा मास्दा नबोल्ने तर बर्णविन्यासको निरर्थक विवादमा लाग्नु कुनै हालतमा सकारात्मक मान्न सकिदैन । सबैले बुझे हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung