नेपालका मुख्य जातिहरूमा मगर पनि एक हो । नेपालमा कूल जनसंख्याको ७.१२ प्रतिशत मानिसहरू मगर भएको र तिनीहरुमध्ये २.९८ प्रतिशतले आप्mनो मगर मातृभाषा बोल्नसक्ने तथ्याङ्क २०६८ को जनगणनामा पाइन्छ । मगरहरुका पनि विभिन्न उपथरहरु र फरकफरक भाषा–संस्कृति रहेको पाइन्छ । बागलुङ जिल्लाको साविक अर्गल गाविसमा बसोबास गर्दै आएका मगरहरु आपूmलाई अर्गली मगरका नामले चिनाउँछन् । पाल्पाको अर्गलीबाट आई बसोबास गरेको हुनाले यी मगरहरुलाई अर्गली मगर भनिएको हो भन्ने जनविश्वासपनि रहेको छ । यी अर्गली मगरलाई रुवानी, भूमियार, खुवाले आदि नामले पनि चिनिन्छ । यी मगरहरुका आप्mनै वेषभूषा, भाषिक शैली, रहनसहन र मौलिक संस्कृतिहरु पाइन्छन् ।
यिनीहरुमा नाइसा, नाओसा, ओसासा, पुन र पुलिसा थरका मगरहरुलाई समग्रमा अर्गली मगर भनिन्छ । यिनीहरुमा मामापट्टिका चेलीसँग विवाह गर्ने परम्परा रहेको हुँदा अहिले पनि नाइसा थरका मगरले नाओसा थरका छोरीहरु र नाओसा थरका मगरले पुलिसा थरका छोरीहरुसँग विवाह गर्ने गर्दछन् । अर्गली मगरहरुमा केही हिन्दू प्रभाव परे पनि भुस पोेल्ने, छापे खन्ने, सिस्नो खोस्ने, बाइपुजा (वायुपूजा), कुलपूजा, मृत्युसंस्कार र अन्य वेशभूषाहरु आप्mनै मौलिक प्रकृतिका रहेका छन् । यिनीहरुको पुरानो चलनअनुसार अर्गलको जोम्तो ढुङ्गामा बसेर सातथरी परिषद्का भलादमी (जेठाबूढा, चौतारे, मुखिया, बुरौली, थरी, बैदार र कटुवाल) हरु बसेर गाउँको न्यायनिसाफ र रीतिथितिलाई कायम गर्ने चलन रहेको थियो भन्ने भनाइ छ । अद्यापि गाउँमा खिर र नयाँ खाद्यवाली चढाएर भुस्केट (सुगन्धवाल धूप) बाली श्रावण १५ मा मौलाघर र भदौरेथानमा पूजा गर्ने चलन छ । यिनीहरु प्रकृति पूजामा बढी विश्वास गर्दछन् । वर्षको दुईपटक यिनीहरु आप्mना पितृहरु र आप्mनो क्षेत्रमा अन्य कसैको मृत्यु भएको छ भने पनि उनीहरुका नाममा बाइपूजा गर्ने चलन छ । 
अर्गली मगरको मुख्य पर्व भनेको भुस पोल्ने वा कार्तिके पर्व हो । यो पर्व प्रत्येक वर्ष वर्षे बाली (कोदो, मकै) भित्र्याएपछि सामूहिक रुपमा मृत्युसंस्कार सम्पन्न गर्ने र हिउँदे बाली (जौ, गहुँ) लगाउने उत्सवका रुपमा सम्पन्न गरिन्छ । यही पर्वको नाम नै भुस पोल्ने वा कार्तिके पर्व हो । यो पर्वमा मथ्थ वा आगोदेउ (अग्नि देवता) पूज्ने, भुस पोल्ने, होलदास चलाउने, छापे खन्ने र देवीदेवताको पूजा गर्दै मनोरञ्जनपूर्वक मनाइन्छ । आगोदेउलाई भस्म गरेको स्थानलाई स्थानीय भाषामा मथ्थ भनिन्छ । यही मथ्थमा प्रत्येक वर्ष भुसपोल्नु अगावै मथ्थ पूजा गरिन्छ । मथ्थ पूजा गर्नाले अग्निको भय नहुने र हातगोडा झमझमाउने लगायत कुनै पनि चर्मरोग नलाग्ने विश्वास रहिरहेको छ । अर्गलको कार्तिके मेला र म्याग्दी बराम्जामा लाग्ने धुलेमेला यही आगोदेउसँग सम्बन्धित मेला भएको जनविश्वास रहेको छ ।
भुस पोल्ने पर्व विशेष गरी प्रत्येक वर्ष कार्तिक २४, २५ र २६ गतेका दिन तीन दिनसम्म धुमधामसँग मनाइन्छ । कार्तिक २४ गते बिहान जवाइँचेलासहित गाउँभरिका मगरहरु जम्मा भएर विधिपूर्वक आप्mनो घर आगन सफा गर्दै अर्गासी वा शंखुपाटो (बारी) मा जम्मा भई सामूहिक रुपमा भुस पोल्ने (बारीमा भएका डाँठ र झारपात डढाउने) काम हुन्छ । अर्गलमा भुसपोलेको धुवाँ देखेपछि पारि हिलगाउँले भुस पोल्नै पर्ने र हिलको धुवाँ देखेपछि तारा गाउँले पनि भुस पोल्नै पर्ने पुरानो चलन समेत रहेको थियो भन्ने भनाइ त्यहाँका बुढापाकाहरुको छ । सोही दिन दिउँसो भाइजवाइँसहित बेसेर बरखी र पुर्पुराइ (पुत्रबढाइ) सम्बन्धी सरसल्लाह गरिन्छ भने बेलुका त्यो वर्षभरि मृत्यु भएका घरपरिवारबाट आप्mना मृतक वा पितृका नाममा होलदास चलाउने काम हुन्छ ।
होलदास भन्नाले मृतकका छोराबुहारीले आप्mना माइती र मावलीलाई डालोमा १६ माना चामल, १६ लाम्टा सुकुटी, १६ टुक्रा कर्तो (सुकेको छाला) र भुस्केट (जडीबुटीको धुप) अनि चुयाँको एक पाथी डालीमा दुई माना चामल, दुई लाम्टा सुकुटी, दुई टुक्रा कर्तो र भुस्केटसहित बुझाउने कामलाई जनाउँछ । कार्तिक २५ गते बिहान मृतकका माइती र मावली पक्ष बसेर होलदास खाने र डालोमा मृतकका घरमा नयाँ वस्त्रसहित निग्रए (कोसेलीको पैसा) उठाएर फिर्ता बुझाउने काम हुन्छ । सोही दिन बेलुका चार बजेतिर अर्गल गाउँभरिका मानिसले आआप्mना बारीमा भुस पोल्छन् भने राति मरुपरेको घरमा भाइजवाइँ बसेर पितृ, कुलायन र थानीमण्डली देवीदेउताको नाममा रङ्गिबिरङ्गी ध्वजाहरु च्यातेर राति नै नजिकको रुखमा बाँध्ने काम हुन्छ । 
कार्तिके पर्वको तेस्रो दिन २६ गते बिहान सात बजे मरुपरेको घरमा आप्mना जवाइँचेलाले दुखालु क्रियापुत्रीको दाह्रीकपाल खौरिदिएर टोपी लगाई फेटा बाँधिदिने गर्दछन् भने चेलीहरु मृतकका सम्झनामा रुने काम गर्दछन् । घरको मूल जवाइँहरुबाट बरखी फुकाएपछि आप्mनो क्षमताअनुसार छोरी जवाइँलाई टीका लगाइदिएर आशीर्वाद दिंदै पैसा र नयाँ वस्त्र दिने चलन हुन्छ । उक्त दिन दिउसो चार बजे सबै गाउँलेहरुसहित अविवाहित केटाकेटी, संस्कृतिमण्डल (गाउने र बजाउने समूह), दमाह बजाउने दमै, ओर्कल (बीउ छर्ने मानिस), धुम्सुङ (बीउ छर्ने स्थानमा बसेको मानिस), राँके (राँको समाउने जवाइँहरु), काठे (जाँडको ठेकी समाउने जवाइँ), बराना (हलो जोतेको अभिनय गर्ने व्यक्ति) सहितका मानिसहरु शंखुघरमा जम्मा भई आआप्mनो वेशभूषामा झाँकीसहित शंखुबारीमा पुग्छन् ।
शंखुबारीमा घरका मूल जवाइँले भुस्केट बालेर पूजा गरिरहेका हुन्छन् । ओर्कलले बीउ छर्छ भने बरानाले हलो जोतेको अभिनय गरिरहेको हुन्छ । केटाकेटीहरु छापे खन्दै धुम्सुङ बसेको ठाउँमा पुगेपछि बाउसो खोसाखोस गर्दछन् । बाउसो खोसाखोसले रविबाली (हिउँदे बाली) फुकेको वा सुरु भएको संकेत गर्दछ । अन्य संस्कृतिमण्डलले झाँकीसहित सोरठी, गोविचन आदि लोकगीत गाउँदै रमाइलो गरिरहेका हुन्छन् र दर्शक दीर्घले टाढैबाट पनि मेला हेरिरहेका हुन्छन् । अहिलेको नयाँ चलनअनुसार बीचबीचमा विभिन्न खेलहरु, झाँकी प्रदर्शन, शुभकामना, भाषण आदि पनि भइरहेको हुन्छ । काम सकेपछि सबै सहभागी पुनः शंखुघरमै पुगेर कार्यक्रमको विसर्जन गर्ने र खाजाभुजा खाने काम हुन्छ । कार्तिक २७ गते बिहान पनि शंखुको आँखा भनिने बारीमा बाँकी अवशेषका रुपमा रहेको बीउ छरेपछि सबै गाउँलेहरुका लागि बीउ छर्न फुकेको मानिन्छ । भुस पोल्ने कार्यक्रमको सुरुआत र विसर्जन गर्ने काम शंखुघरबाटै हुन्छ ।
शंखुमूली (शंखु घर र बारीको मुख्य व्यक्ति) ले शंखुबारीमा काम कजाउने र पर्वको प्रबन्ध मिलाउने कामसमेत गरेका हुन्छन् । शंखुमुलीको अधिकार नाओसा, पुन, पुलिसा र ओससा थरका मगरहरुमा सीमित रहेको हुन्छ । अर्गली मगरहरुको कार्तिके पर्वसँग जोडिएर आउने अर्को मनोरञ्जनात्मक कार्यक्रम गोविचन गीतिनाटक हो । यो गीतिनाटक सत्ययुगका राजा मनिचनका छोरा गोविचनको जीवन चरित्रमा आधारित छ । राजा मनिचनका बारेमा कुनै लेख्य प्रमाणहरू उपलब्ध हुन नसके तापनि अर्गली मगरहरूको लोकसंस्कृतिमा आधारित किंवदन्तीअनुसार सत्ययुगका राजा मनिचनका कुनै सन्तान नहुँदा उनले अनेक तीर्थयात्रा र यज्ञव्रत गरेपछि छोरो जन्मने तर आफ्नो मृत्यु हुने वरदान पाएको हँुदा फलस्वरूप छोरो गोविचनको जन्म हुनासाथ राजा मनिचनको मृत्यु हुन्छ । यही हर्ष र शोक मिश्रित आख्यानमूलक गीतिनाटकलाई गोविचन भनिन्छ । गोविचन गीतिनाटकमा राजा मनिचन र उनका छोरा गोविचनको दुई पुस्तासम्मको वर्णन गरिएको छ ।
यसमा ऐतिहासिक विषयमा आधारित कथावस्तु, लोकपरम्परामा आधारित जस्तै– मैनावती (मनिचनकी रानी), सुडेनी, जैसी, कटुवाल, सुनार, जलेरी (माछा मार्ने) जस्ता पात्रहरू, एकालापीय र संवादमूलक संवादशैली, स्थानीय वेशभूषा, मगर मातृभाषाको प्रभावपरक नेपाली भाषा, वाद्य र नृत्यको प्रयोग र निश्चित उद्देश्यमूलक गायन परम्परा वा लोकसंस्कारको उपयोग गर्ने उद्देश्य नै गोविचन गीतिनाटकका विशेषता हुन् । अर्गली मगरहरुको कार्तिके वा भुस पोल्ने चाडसँग साइनो जोडिएको यो गीतिनाटकका केही अंशहरु घाटु र सोरठीका केही अंशसँग पनि मिल्दाजुल्दा देखिन्छन् । गोविचन विशेष गरी अर्गली मगरहरुको मृत्यु र जन्म संस्कारसँग जोडिएको हुनाले यसमा वर्षभरि मृत्यु भएका आफन्तहरूको संझनामा शोक प्रकट गर्र्दै दुःख फुकाउने र नवजात शिशुको जन्म भएको घरमा पुगी उसको स्वागत् गर्दै उसलाई आर्शीवाद दिन घरघरमा नाच, गान र भोजभतेर गरिन्छ ।
यसै सन्दर्भमा सोरठी नृत्य (मारुनी नाच) सँगै यो गोविचनगीत गाइन्छ । गोविचन गाउन र अभिनयपूर्वक नाच्न नचाउनका लागि एक जना गोविचनको कथा मुखाग्र भट्याउन सक्ने गुरुमा, मादले, मारुनी र गीत छोप्ने गर्राभाइको आवश्यकता पर्दछ । यस गीतमा गेयगुणभन्दा पनि कारुणिक र मर्मस्पर्शी भाव बढी हुन्छ । घाटु र सोरठीमा जस्तै यसमा पनि राजा मनिचन र गोविचनको जीवनमा आधारित गाथाको वर्णन पाइन्छ । यसमा पनि सोरठी र घाटुमा झैं सरस्वती जगाउने, मारुनी सिंगार्ने, राजा खोज्ने, यज्ञ गर्ने, पुत्रको न्वारन, छैटी, भातखुवाइ, छेवर आदि विभिन्न संस्कारहरू सिकाउने आँख्लाहरू आएका हुन्छन् ।
यसरी कार्तिक २६ गतेसम्ममा विधिपूर्वक भुस पोल्ने, बरखी फुकाउने, बीउ छर्ने, छापे खन्ने र बाउसो खोसाखोस गर्ने काम सकिएपछि कार्तिक २७ गतेबाट कृषकका लागि कृषिबाली लगाउन र संस्कृतिमण्डलीलाई जेठो छोरो जन्मिएका घरघरमा पुगी गोविचन, सोरठी र भैलो खेली पुर्पुराइ (पुत्रबढाइ) गर्न बाटो फुकेको हुन्छ । यस पर्वमा सामूहिक कृषि प्रणाली, मृत्युसंस्कार र मनोरञ्जनका कार्यहरु एकैसाथ जोडिएर आएका हुन्छन् । यसले गाउँमा सरसफाइ, भूमिपूजा, पितृतर्पण, हर्षबढाइ, मनोरञ्जन र कृषि पेशाको सम्मानका साथै यो संस्कारले नयाँ युवायुवतीहरुलाई कृषिपेशामा आकर्षित गर्ने र आप्mनो परम्परित संस्कारलाई बचाइराख्न पनि सहयोग गरेको देखिन्छ । डा. दिनबहादुर थापा धौलागिरी बहुमुखी क्याम्पसका सह प्राध्यापक हुन













































































































































































































