५ कार्तिक २०८३, बुधबार

 

शक्तिशाली चीन, माओवादी र प्रचण्ड

अहिले फेरि एकपटक माओबादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चर्चाको शिखरमा छन् । २०५२ सालमा नेपालमा जनयुद्ध शुरूवात गरेपछि चर्चामा आउने गरेका राजनीति खेलाडीको रूपमा परिचित प्रचण्ड र माओवादी पार्टीलाई छिमेकी मुलुक चीनले विश्व मै एक नम्बरमा राखेपछि माओवादी केन्द्रका अध्यक्ष नेपालमा मात्रै नभइ विश्व राजनीति मन्चमै चर्चामा रहेका छन् ।

चिनिया कम्युनिष्ट पार्टीले विश्वका ६सय कम्युनिष्ट पार्टीहरुमध्ये नेपालको नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेको छ । चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्रियामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका एसिया व्युरो प्रमुख साओ ल्याङले नेपाली माओवादी प्रति चीन सकारात्मक रहेको बताए पछि माओवादी केन्द्र अहिले लोकतन्त्रमा विश्वास गर्ने राम्रो शक्ति भएको समेत पुष्टि भएको छ ।

नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भुमिकाबाट आफुहरु प्रभावित भएको भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक कुशल एवं गहन विषय उठाउन सक्ने नेता भएको बताएर प्रचण्डलाई कुशल नेताको रूपमा चित्रण गरेको छ । नेपालमा नयाँ संरचना अनुसार निर्वाचन सम्पन्न हुन गैरहेको समय र नेपालको प्रमुख दुई शक्तिशाली कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र बिच पार्टी एकता अन्तिम चरणमा पुगेको समयमा चीनको सन्देशलाई पनि सकारात्मक मान्नुपर्छ ।

साच्चै भन्ने हो भने अहिले नेपालको राजनीति २०६२ र ६३ को आन्दोलनपछि माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कै वरिपरि घुमिरहेको छ भन्नेमा राजनीति बुझ्ने जो कोही पनि विश्वस्त छन् । हुन त चीनको कम्युनिस्ट पार्टीले भनेको कुरा हो भनेर कसैले यसलाई हलुका रूपमा हेर्न सक्छन् तर अहिले विश्वको ६ सय वटा कम्युनिस्ट पार्टी मध्ये नेपालको माओवादी केन्द्रलाई १ नम्बरमा पर्नु नै सबै ठुलो गर्वको कुरा हो ।साच्चै चीनले भने झै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकजना क्षमतावान नेता चाहिँ हो भन्ने कुरा अहिले उनका विरोधिले पनि मान्न तयार भएका छन् ।

मुलुकमा २ सय ४०वर्ष पुरानो सामन्ती राजतन्त्र जरैदेखि फ्याकेर गणतन्त्र घोषणा यति सजिलोसँग स्थापना होला भनेर कसैले पनि कल्पनासम्म गरेको थिएन । ६२÷६३ को आन्दोलन शुरूवात हुनु अगाडि माओवादी र ७ राजनीति पार्टी बिचमा भएको १२ बुढे समझदारीमा पनि दुईवटा कुरा लेखिएको थियो एउटा निरंकुश राजतन्त्रको अन्त अर्को समुल रूपमा राजतन्त्रको अन्त यसलाई माओवादीले चाहिँ राजतन्त्रको अन्त भनेर भनिरहेको थियो भने ७ राजनीति पार्टीले चाहिँ राजामा भएको निरंकुश तन्त्रको मात्रै अन्त भन्ने कुरा गरेको सारा दुनियाँले थाहा पाएको विषय नै हो ।

जनआन्दोलन र जनयुद्धकै कारणले राजाले घुडा टेकेपछि मुलुकमा नयाँ खालको राजनीति परिवर्तन हुदै गएको भने पक्कै हो ।राजतन्त्र फालेर गणतन्त्र घोषणा गराउन सबैभन्दा बढी भुमिका माओवादी र अध्यक्ष प्रचण्ड कै हो भन्ने कुरा नेपाली राजनीति पार्टीका नेताले भन्न नसके पनि छिमेकी मुलुक चीनको कम्युनिस्ट पार्टीले स्पष्टसंग बुझेको छ ।

अहिले मुलुकमा वामपंथी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिच चुनावी प्रतिस्पर्धा चलिरहेको छ ।अहिले मुलुक भर वामपंथी गठबन्धनको पक्षमा लहर देखिएपछि नेपाली काग्रेसका नेताहरू वामपंथीले मुलुकमा सरकार बनाएमा जनताको रूने अधिकार हाँस्ने अधिकार दुबै खोसिने भनेर प्रचार प्रसार गरिरहेको समयमा आएको चीनको सन्देश समसामयिक छ ।

वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने बताउँदै देशको प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर गरेका छन् । ‘यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमत संग्रह हो’ वाम गठबन्धनको आलोचना गर्दै देउवाले भने, ‘यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टले संविधान खारेज गरेर तानशाही लाडन खोजेका छन् भन्ने भ्रम फैलाइरहेको समयमा चीनको शक्तिशाली कम्युनिस्ट पार्टीको सन्देशले काग्रेसलाई झड्का दिएको छ ।

साच्चै माओवादी इमानदार नभएको भए के मुलुकमा शान्ति प्रक्रियाले मुर्तरुप लिने थियो त ? अवश्य पनि थिएन । आफ्नो जनमुक्ति सेनाको नेपाली सेनामा समायोजन गर्नु कम चुनौतीको काम थिएन ।साच्चै भन्ने हो भने माओवादी अध्यक्ष प्रचण्डले यो साहस नगरेको भए न त शान्ति प्रक्रिया पूरा हुने थियो न त जनमुक्ति सेनाको नेपाली सेनामै समायोजन नै हुने थियो । नेता मोहन बैध नेत्रबिक्रम चन्द लगायतले जनयुद्धलाई तिलान्जलि दिएको भनेर पार्टी बिभाजन गरे ।

पहिलो संविधान सभामा सबैभन्दा ठुलो राजनीति दल भएको माओवादी दोस्रो संविधान सभामा खुम्चिएर तेस्रो दल बन्न पुगेपनि संविधान सभामा सबै राजनीति दललाई विश्वासमा लिएर संविधान घोषणा गराउन मात्रै सफल भएको हैन अहिले व्यवहारमा कार्वान्यन गराउन समेत प्रचण्ड सफल भएका छन् ।

साच्चै अहिले नेपालको राजनीति माओवादी अध्यक्ष प्रचण्डकै वरिपरि घुमिरहेको छ ।नेपालका बरिष्ठ पत्रकार किशोर नेपालले केही वर्ष अगाडि एउटा लेखमा नेपालको राजनीतिमा प्रचण्डको ज्यादै महत्वपूर्ण भुमिका छ भनेर स्पष्ट पारेका थिए । देशमा जनयुद्ध गरिएको पार्टी र शान्तिपूर्ण हिड्ने पार्टी बिच सहकार्य गरि शान्ति पुर्ण निकास निकाल्नु विश्व मै पहिलो घटना हो । विदेशीले ठुलो चलखेल गर्न खोजे पनि सफल भएन साच्चै अहिले पनि देशमा सधै सधैं अस्थिर राजनीति चलिरहेको समयमा सरकार ९ महिना भन्दा बढी नटिक्ने समयमा वामपंथी गठबन्धन गरेपछि अहिले देशमा लगभग दुईवटा राजनीति पार्टी मात्र चल्ने र टिक्ने नयाँ राजनीति तरङ्ग ल्याउने भुमिका पनि प्रचण्ड कै हो ।

साच्चै चीनको कम्युनिस्ट पार्टीले माओवादी अध्यक्ष प्रचण्डको उच्च मुल्यांकन गरेको छ । अहिले जसरी प्रचण्डले आफ्नो एकमात्र छोराको मृत्यु हुदा समेत मन मुटुलाइ दरो बनाएर चुनावी अभियानमा लागिरहेका छन् यसबाट पनि प्रचण्ड साच्चिकै राजनेता हो भन्ने कुरा छर्लङ्ग भएको छ । अब देशको निकास र विकासको लागि प्रचण्डको भुमिका प्रभावकारी हुनेछ अब नयाँ खालको भुमिका प्रचण्डले खेल्नु पर्छ ।

अहिले माओवादी र एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले खेलेको भुमिकालाई क्षणिक हैन दिर्घकालीन बनाउन सबैले माग गरेका छन् । अब देशमा ५ वर्ष टिक्ने सरकार बनाएर देशमै रोजगारी दिएर युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने वातावरण बनाउन जरुरी छ ।
चीनले गरेको विश्वासलाई कायम राखेर प्रचण्ड अगाडि बढ्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung