३० बैशाख २०८१, आईतवार

 

सुन तस्करीका लागि मोटरसाइकलमा विशेष खालका साइलेन्सर, ज्याला एक लाख

 तस्करहरुले सुन तस्करी गर्न मोटरसाइलमा बिशेष खालको साइलेन्सर प्रयोग गर्दै आएको खुलेको छ । रसुवागढी नाकाबाट सुन तस्करी गर्न कम्पनीबाटै बिशेष खालका साइलेन्सर जडान गरी त्यसभित्र सुन लुकाउने गरिएको प्रहरीले जनाएको छ ।  शनिबार साँझ प्रहरीले साइलेन्सरभित्र लुकाएर तस्करी हुँदै आएको १७ किलो सुन बरामद गरेको छ ।

रसुवागढी नाका हुँदै ल्याइएको सुनसहित प्रहरीले फुलसिंह तामाङलाई बालाजु बाइपासबाट पक्राउ गरेको हो । सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । ‘सुन लुकाउन मिल्ने गरी फ्याक्ट्रीमै बिशेष प्रकारको साइलेन्सर जडान गरिदो रहेछ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले भने,‘साइलेन्सरबाट सुन निकाल्नै हामीलाई घन्टौं लाग्यो ।’

१/१ किलोका १७ वटा बिस्कुट प्रहरीले बरामद गरेको हो ।  पक्राउ परेका लामा सुन ओसार्ने भरिया मात्र भएको प्रहरीले जनाएको छ । उक्त सुन तस्करी गरेवापत एक लाख रुपैयाँ दिने आश्वासन उनलाई दिइएको थियो । सुन ओसार्न लगाउने मान्छेको प्रहरीले नाम पत्ता लगाएको छ । तर, मुख्य तस्करहरुको नाम खुल्न सकेको छैन । चुनावको मौका छोपी सुन तस्करहरु सक्रिय भएको प्रहरी अधिकारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्