४ श्रावण २०८३, सोमबार

 

गाउँमा एथलेटिक्स प्रतियोगिता

सबैजसो राष्ट्रिय प्रतियोगिता सहरकेन्द्रित हुने गर्छन् तर यस वर्ष दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता बाँके खजुरा गाउँपालिका २ सीतापुर गाउँमा हुने भएको छ । १९ वर्षमुनिको पहिलो प्रतियोगिता काठमाडौंमा भएको थियो ।

सहरकेन्द्रित प्रतियोगिताको नजिर उल्टाउँदै यस वर्ष गाउँमा आयोजना गर्न थालिएको हो । उक्त प्रतियोगितामा मुलुकभरिका हरेक विकास क्षेत्रबाट १६ खेलाडी तथा दुई जना अफिसियल गरी ९० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता अन्तर्राष्ट्रिय जगतमा हुने युथ तथा जुनियरतर्फका वल्र्ड च्याम्पियनसिप, युथ एसियन च्याम्पियनसिपलगायत ठूला प्रतियोगिताका लागि छनोट स्पर्धाका रूपमा समेत रहेको छ । त्यस्तै मिसन ८ औं राष्ट्रिय खेलकुदअन्तर्गत खेलकुद गतिविधि र भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन यो प्रतियोगिताले सहयोग गर्ने आयोजकले जनाएको छ । नेपालगन्जमा २०७५ मा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ ।

मध्यपश्चिम खेलकुद विकास समितिको सम्मन्वय तथा बाँके जिल्ला एथलेटिक्स संघको आयोजनामा पुस १२ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिताको पहिलो ट्रयाकतर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ५ हजार मिटर र ४ गुणा ४ सय मिटर रिले दौड तथा फिल्डतर्फ लामो दूरीको जम्प, ट्रिपलजम्प, सटपुट र ज्याभलिन रहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले बताए । उनले खेलकुद गतिविधि गाउँमा पनि सञ्चालन गर्ने उद्देश्यले सीतापुर गाउँ रोजेको बताए ।

‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जको रंगशाला मर्मत हुने क्रममा छ । त्यसैले सीतापुरको शुक्र माविको फिल्डलाई खेल प्राविधिकहरूले छनोट गर्नुभएको हो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘यो प्रतियोगिताले गाउँलाई पनि जोड्ने काम गर्नेछ ।’

इकान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung