२९ असार २०८२, आईतवार

 

‘विकास र परिवर्तनका लागि कर्मशील क्षेत्रमा ईमान्दार बनेर लाग्नुपर्छ’–भट्ट

बागलुङ सदरमुकाममा शुक्रबारदेखि पाँचौ बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला शुरु भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २३ गतेसम्म संचालन हुने महोत्सवको गैर आवसीय नेपाली सघं एन आर एनका अध्यक्ष भवन भट्टले उद्घाटन गरेका छन । उद्घाटन पछि बोल्दै उनले नेपालको विकास र परिवर्तनका लागि प्रत्येक नेपाली कर्मशील क्षेत्रमा ईमान्दार बनेर लाग्नुपर्ने बताए ।

नेपालीहरु आफुले जिम्मेवार बनेर काम गर्नु भन्दा पनि यो वा त्यो तरिकाले राज्यलाई दोष दिने गरेको चर्चा गर्दै अध्यक्ष भट्टले नेपालको पहिचान सहितको गुणस्तरिय उत्पादन नभएकाले अन्र्तराष्ट्रिय समुदायले विश्वास गर्न नसकेको दाबी गरे । नेपाललाई सुन्दर र हराभरा बनाउनका लागि अन्र्तराष्ट्रिय समुदायबाट शिक्षा लिनुपर्दछ, उनले भने ‘अरुलाई गाली गर्नुभन्दा आफै लगनसिल भएर काम गर्न सक्यौ भने मुलुकको सम्मृद्धि सम्भव छ’ ।

उनले विदेशी लगानीलाई नेपालमा भित्राउनका लागि नितिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले एनआरएन नेपालको अर्थतन्त्रलाई जोड्ने संस्था समेत भएको दाबी गरे । कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुर्य पाठक, माओवादी केन्द्रका नेता एवं बागलुङ क्षेत्र न २ का सांसद देबेन्द्र पौडेल, प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रिय उपाध्यक्ष चन्द्र ढकाल, प्रमोद श्रेष्ठ, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, जैमुनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय लगायतले बोलेका थिए ।

कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सवमा बागलुङ जिल्लाका विभिन्न जातजाति, भेषभुषा, शिक्षक, विद्यार्थी, धार्मिक संघसंस्थासँगै विभिन्न झाँकीहरुका साथमा बजार परिक्रमा गरिएको थियो ।

पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा २० करोड भन्दा बढीको कारोवार हुने आँकलन गरिएको छ । ८० लाख खर्च हुने र १ करोड बराबरको आम्दानी गर्ने लक्ष्य रहेको अध्यक्ष जयराम भारीले बताए । महोत्वसलाई थप आर्कषित बनाउन ७५ हजार राशीको खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको खुल्ला पुरुष भलिबल, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्धारा सांगीतिक कार्यक्रम राखिएको छ ।
उद्घाटन कार्यक्रम सकिए लगत्तै ईन्डियन आइडिएल प्रशान्त तामाङको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा नयाँ विशेष अभियानको रुपमा महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सदरमुकाम नजिकै रहेको प्रसिद्ध कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, होम–स्टे गाउँ भकुण्डे लगायतका पर्यटकीय सम्भावना बोकेका स्थानमा सहज र सुलभ रुपमा घुम्ने घुमाउने व्यवस्था समेत मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung