
बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबल प्रतियोगितामा पोखरा लेखनाथ महानगरपालिका कास्की र वालिङ नगरपालिका स्याङ्जा सेमिफाईनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको क्वाटरफाईनल खेलमा कुश्मा नगरपालिका पर्वतलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पोखरा सेमिफाईनलमा प्रवेश गरेको हो । प्रतियोगिताको उपाधिको दाबेदारको रुपमा हेरिएको पोखराले कुश्मालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
खेल अवधिभर कुश्माको पोष्टमा लगातार प्रहार गरेको पोखराले खेलको २२ मिनेटमा विनोद गुरुङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा २ गोल गरेको पोखराको लागि खेलको ३२ मिनेटमा विजय श्रेष्ठले गोल गरेका थिए । दोस्रो हाफमा कुश्मालाई झन दबाबमा राखेको पोखराको लागि ६० मिनेटमा मान बहादुर तामानले गोल गरेका थिए । प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका पोखराका भिषण गुरुङले खेलको ६४, ६६ र ७९ मिनेटमा गोल गरेका थिए ।
यस्तै शुक्रबार भएको अन्तिम क्वाटरफाईनल खेलमा बेनी नगरपालिका म्याग्दीलाई २–० गोलअन्तरले पराजित गर्दै वालिङ नगरपालिका स्याङजा सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा वालिङले दोस्रो हाफमा गोल गरेको थियो । पहिलो हाफमा निकै लयमा देखिएको बेनीको केही प्रहार वालिङका गोलरक्षकले विफल पारिदिएका थिए । पहिलो हाफको अन्तिम तिरबाट आफ्नो लय समातेको वालिङले केही प्रहार गरेता पनि पहिलो हाफमा भने गोल गर्न सकेन् ।
दोस्रो हाफमा बेनीलाई दबाबमा राखेको वालिङको लागि ४८ मिनेटमा सफल थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले गोलकिपर अगाडी बढेको फाईदा उठाउँदै गोल गरेका थिए । वालिङको लागि ६८ मिनेटमा अजिज दिन मियाँले गोल गर्दै टिमलाई सेमिफाईनलमा पु¥याए । नकआउटका आधारमा जारी प्रतियोगितामा शुक्रबार भएको सेमिफाईनलका खेलहरु हुने आयोजक बागलुङ नगरपालिकाले जनाएको छ ।
पहिलो सेमिफाईनल खेलमा गोरखा नगरपालिका गोरखा विरुद्ध पोखरा लेखनाथ महानगरपालिका कास्की र दोस्रो सेमिफाईनल खेल व्यास नगरपालिका तनहुँ विरुद्ध वालिङ नगरपालिका स्याङजा बिच हुने छ ।