३ श्रावण २०८३, आईतवार

 

सुन आयात बढ्यो

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सुन आयात बढेको छ। साउनदेखि पुससम्म १४ अर्ब ६५ करोड रुपैयाँको सुन आयात भएको छ। यो आयात गत वर्षको सोही अवधिभन्दा करिब ३० प्रतिशत बढी हो। गत वर्ष यसै अवधिमा ११ अर्ब ३१ करोड रुपैयाँको सुन आयात भएको थियो। गत वर्षको साउनदेखि पुससम्म दुई हजार ६ सय ५१ किलो सुन आयात भएकामा यस वर्ष सात सय ४९ किलोले बढेर तीन हजार चार सय किलो पुगेको भन्सार विभागले जानकारी दिएको छ।

सरकारले सुनको कोटा बढाएका कारण पनि आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले जानकारी दिए। ‘गत वर्षको पहिलो ६ महिनामा दैनिक १५ किलोमात्र सुन आयात गर्न पाउने व्यवस्था थियो’, उनले भने, ‘गत फागुनदेखि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरिएको छ।’ राष्ट्र बैंकले सुन खपत बढी हुने विवाह तथा अन्य साँस्कृतिक पर्वमा कोटा बढाउने गरेको छ। वर्षको करिब ६ महिना निर्धारित कोटाअनुसार र बाँकी महिनामा बढाएको कोटामा नेपालमा सुन आयात हुने गरेको छ।

सरकारले सुनको कोटा बढाएपछि व्यवसायीले केही सहजताको महसुस गरिरहेका छन्। ‘नपुग हुँदा विकल्प खोज्ने हो’, उनले भने, ‘अहिले निर्धारित कोटा र पुरानो बिक्रीमा आएको सुनबाट बजार जसोतसो धानिरहेको छ।’ बजार अस्तव्यस्त हुँदा अर्थात् मागअनुसार आपूर्ति व्यवस्था नहुँदा तस्करीले प्र श्रय पाएको थियो। प्रशासनले सतर्कता देखाएपछि तस्करी निरुत्साहित भएका छन्। केही वर्ष अघि नेपाली बजारमा तस्करीको सुन छ्याप्छ्याप्ती थियो। यसको प्रमुख कारण बजार मागअनुसार आपूर्ति नहुनु रहेको शाक्यले बताए।

सरकारले सुनको कोटा बढाएका कारण पनि आयात बढेको हो।

तस्करीबाट आयात भएको सुनको राजस्व तिनु पर्दैन। यसबाट चार लाख २० हजार नाफा हुने भएकाले तस्कर हौसिएका थिए। हाल सुन आयात गर्दा प्रतितोला चार हजार नौ सय भन्सार तिर्नुपर्छ। व्यवसायी पनि मागअनुसार सुन नपाएपछि तस्करीको सुन किन्न बाध्य छन्। ५० लाख लगानी गरेर छोटो समयमै चार/पाँच लाख फाइदा हुने भएका कारण वाणिज्य बैंकले ल्याएको सुनभन्दा तरस्करीको सुन तोलामै दुईदेखि तीन हजारसम्म सस्तो हुन्छ। पछिल्लो समय प्रशासनले देखाएको सक्रियतासँगै कच्चा पदार्थको सहज आपूर्तिका कारण सुन तस्कर निरुत्साहित भएको उनले बताए।

दैनिक ३५ किलो माग

हाल नेपाली बजारमा दैनिक ३५ किलो सुनको माग छ। भूकम्पअघि दैनिक ४५ देखि ५० किलो सुन खपत हुने गरेको थियो। भूकम्पपछिको तीजमा सुन बजार माथि उक्लिए पनि बजार फेरि ओरालो लागेको छ। अहिले मानिस पुननिर्माणतिर लागेका छन्। बजारमा दैनिक १०/१२ किलो पुरानो सुन बिक्रीमा आउने गरेको उनको भनाइ छ।

यस वर्ष पनि दसैंसम्म सुन बजार त्यति राम्रो थिएन। तिहारमा एक्कासी बजार उकालो लाग्यो। त्यसपछि चुनावका कारण खस्किएको बजार अहिलेसम्म माथि उठ्न सकेको छैन। ‘सुन बजार त्यति उत्साहजनक छैन तर सन्तोषजनक भने छ’, उनले भने।

भाउ बढ्न सक्ने

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्नु तथा अन्य लगानीका अवसर सिर्जना नहुँदा सुनको मूल्य बढ्दै गएको शाक्यले बताए। लगानीकर्ताको ध्यान सुन बजारमा गएको छ। यसले सुनको मूल्य बढाउन मद्दत गरिरहेको छ। करिब एक महिनादेखि नेपाली बजारमा सुन प्रतितोला ५७ हजारको हाराहारीमा छ। अमेरिकाको आर्थिक विधेयक पास नहुँदा पनि सुनको मूल्य बढेको शाक्यले बताए। विधेयक पास नहुँदा अमेरिकी डलर कमजोर बन्दै गएको छ। ‘यदि डलरको मूल्य बलियो बन्यो भने सुनको मूल्य घट्ने उनको अनुमान छ।अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung